माघमा हुँदै आएको क्यान इन्फोटेक यो वर्ष फागुनमा हुने, उपत्यका बाहिर ८ स्थानमा आयोजना गरिने

काठमाडौं । कम्प्युटर एशोसिएशन नेपाल (क्यान) महासंघले यो वर्ष क्यान इन्फोटेक २०२० आगामी फागुन २ देखि ७ सम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना गर्ने भएको छ ।

क्यान महासंघले बुधबार राजधानीमा पत्रकार सम्मेलन गर्दै नेपालको सूचना, प्रविधि र मनोरञ्जनसम्बन्धी प्रदर्शनी तथा सम्मेलनको यो २६ औं संस्करण हो जुन ६ दिन सम्म चल्ने जानकारी दिएको हो ।

सन २०२० मा क्यान इन्फोटेक उपत्यका बाहिर पनि ८ स्थानमा आयोजना गरिंदै छ । प्रदेश नं। १ को इटहरी, प्रदेश नं। २ को विरगञ्ज, प्रदेश ३ को चितवन, गण्डकी प्रदेशको पोखरा, प्रदेश ५ को बुटवल , कणार्ली प्रदेशको सुर्खेत र सुदरपश्चिम प्रदेशको धनगढीमा प्रदेश स्तरिय तथा प्रदेश ५ को नेपालगञ्ज मा जिल्ला स्तरिय प्रर्दशनीको आयोजना गरिने जानकारी दिईयो ।

२६ औं क्यान इन्फोटेक तथा प्रदेश र जिल्ला स्तरीय इन्फोटेकको शिर्ष प्रायोजन प्रभु पे, एसोसिएट प्रायोजकमा वर्ल्डलिंक कम्युनिकेशन लिमिटेड, अफिसियल इन्सोरेन्स (प्रभु इन्सोरेन्स तथा टिकट पार्टनरमा इ-पे ले प्रायोजन गरेको छ । सिल्भर प्रायोजन लर्ड बुद्ध एजुकेसन फाउन्डेसन ले गरेको छ भने एशोसिएट, प्लाटिनम, डायमण्ड, गोल्ड र सिल्भरका साथै अन्य अफिसियल प्रायोजन पनि खुला गरिएको छ ।

नेपालमा सूचना तथा सञ्चार प्रविधि (आईसीटी) बारे चेतना बढाउन, उद्योग तथा उद्यमीहरुको आवश्यकता थाहा पाउन र त्यसका लागि चाहिने सहयोग दिलाउन क्यान इन्फोटेक २०२० को आयोजना गरिन लागेको बताईएको छ । यसले व्यवसायी तथा ग्राहकका लागि अन्तक्रियाको एक प्लेटफर्म सिर्जना गर्नेछ । ग्राहकसँगको छलफलबाट व्यवसायीले आफ्ना वस्तु तथा सेवाको आपूर्तिमा सुधार ल्याउन सक्नेछन् । स्वदेशी तथा विदेशी कम्पनी तथा व्यवसायीहरु वीच नेटवर्क सिर्जना गर्ने लक्ष्य पनि हामीले लिएका छौं ।

सूचना प्रविधि प्रर्दशनीमा क्यान महासंघका सदस्य संस्थाका साथै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसम्बन्धी कम्पनीहरुको सहभागिता रहनेछ ।

प्रर्दशनीलाई व्यवसायीहरूले व्यापार विस्तारका साथै नयाँ–नयाँ प्रविधिको प्रदर्शनी गर्ने थलोका रूपमा उपयोग गर्न सक्नेछन् भने अवलोकनकर्ताले एकै थलोमा सूचना तथा सञ्चार प्रविधिका नौला प्रविधि र उपकरणको अवलोकन तथा खरिद गर्न पाउनेछन् ।

क्यान इन्फोटेक २०२० मा विभिन्न खण्डहरु रहने छन् जसमा ब्राण्डिङ, आइसिटी एक्ससरिज, गेम पार्लर, प्रडक्ट लञ्चिङ, रोबोटिक्स, इ–वेष्ट म्यानेजमेण्ट, वाइफाइ, इण्टरनेट र लर्निङ सेन्टर, आईटी कलेजका बिद्यार्थी द्वारा निर्माण गरेका प्रोजेक्ट तथा रोजगार केन्द्र मुख्य हुने जानकारी दिईयो ।

अपरेटिङ सिष्टम सफ्टवेयर, नेटवर्किङ सोल्युशन, मोबाइल फोन तथा सोल्युशन, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स, सेक्युरिटि सोल्युशन, सोलार पावर सिष्टम, इन्भर्टर, युपीएस, ल्यापटप तथा डेस्कटप कम्प्युटर, प्रिण्टर, पावर सिष्टम, कम्प्युटर एक्सेसरिज, एण्टिभाइरस सफ्टवेयर, बैंकिङ सोल्युशन, सीसीटीभी र हार्ड डिस्क जस्ता उत्पादनहरु प्रदर्शनीमा राखिने छन् ।
त्यसैगरी, आर्टीफिसियल ईन्टेलिजेन्स सम्बन्धि जानकारि, आईटी कलेज, बैंक, बीमा तथा लेखासम्बन्धी सफ्टवेयर, सरकारि क्षेत्रमा प्रयोगमा आएका तथा आउने सफ्टवेयर, सेल्फ लर्निङ सफट्वेयर तथा ट्युटोरियल आदि पनि प्रर्दशनीमा रहनेछन् ।

गत वर्ष करिब ३ लाख ७६ हजार भन्दा बढीले अवलोकन गरेको मेलामा यो वर्ष ४ लाख भन्दा बढी अवलोकनकर्ता आउने हामीले अपेक्षा गरिएको छ भने यस पटकको सबै इन्फोटेकहरुमा प्रवेश टिकटलाई पेपरलेस गर्ने प्रयास गर्ने जानकारी दिईयो ।

यसै सन्दर्भमा क्यान इन्फोटेक २०२० का लागि मिति २०७६ पौष ६ गते देखि अनलाईन बुकिङ्ग समेत खुल्ला गरिने क्यान महासंघले जनाएको छ ।