ठमेल क्षेत्रमा अझै इन्टरनेट सेवा नजोडिने, सहमति पालना नहुँदा अघोषित ‘इन्टरनेट ब्ल्याकआउट’

Technology Khabar २ पुष २०७६, बुधबार

ठमेल क्षेत्रमा अझै इन्टरनेट सेवा नजोडिने, सहमति पालना नहुँदा अघोषित ‘इन्टरनेट ब्ल्याकआउट’

काठमाडौं ।

काठमाडौं । इन्टरनेट सेवा प्रदायकहरुले ठमेलमा काटिएको इन्टरनेट नजोड्ने भएका छन् । उनीहरुले आफूहरुको सेवा दिईरहेको इन्टरनेटको तार काटेर अलपत्र पारिएको भन्दै अझै नजोड्ने भएका हुन् ।

आइएसपीहरुले अझै आफ्ना तारहरुको सुरक्षा नभएसम्म तारहरु नजोड्ने र सेवा उपलब्ध नगराउने अडान लिएका छन् ।

‘हाम्रा तारहरु बाटोमा काटेर फालिएका छन र अझै धेरै ठाउँमा काट्ने भनिरहेका छन्, त्यसैले तत्काल कााटिएका तारहरु जोड्दैनौं,’ एक आइएसपीका संचालकले भने ।

सो बारेमा सेवा प्रदायकहरुले नेपाल दूरसंचार प्राधिकरणलाई समेत जानकारी गराईसकेको बताएका छन् । उनीहरुले प्राधिकरणले सो समस्याको समाधान गरिदिन पहल गर्नुपर्ने माग समेत गरेका छन् ।

ठमेल पर्यटन विकास परिषदले भिजिट नेपाल शुरु हुन लागेको र ठमेल कुरुप भएको दाबी गर्दै तार काटिदिएपछि हाल ठमेल क्षेत्रमा इन्टरनेट ठप्प छ । परिषदले पर्यटकिय क्षेत्रमा तारहरुले गर्दा सौन्दर्यीकरणमा समस्या भएको दाबी गर्दै इन्टरनेट, केबल टिभीलगायतको तार काटिदिएको थियो । जसले गर्दा मंसिर २९ गतेदेखि ठमेल क्षेत्रमा इन्टरनेट ब्ल्याकआउट जस्तै भएको छ ।

सो विषयमा विभिन्न छलफल भएपनि इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले भने तार नजोड्ने भएका हुन् । परिषदले ठमेल क्षेत्रका अझै थप स्थानका तारहरु काटिदिने चेतावनी दिएको भन्दै उनिहरुले अझै केहि दिन तार नजोड्ने भएका हुन् ।

यसअघि मंसिर ३० गते बसेको परिषद र आइएसपीहरुको बैठकमा भने आगामी ६ दिनभित्र इन्टरनेट सेवा सुचारु गर्ने सहमति गरेको थियो । जसमा केशर महलदेखि ठमेल नरसिंह चोकसम्मको तार पहिलो चरणमा व्यवस्थित गरी तान्ने सहमति भएको थियो ।

तारहरु तान्नको लागि पोलको प्रयोग गर्ने र पोल नभएको स्थानमा घरको भित्ताहरुको प्रयोग गरिने छ । त्यसैगरि भित्ताहरुमा पनि १५ फिट भन्दा माथिबाट तार तान्न क्यापको प्रयोग गर्ने तथा तारहरु क्रस गर्दा ओभरहेड गर्न नमिल्ने स्थानहरुमा अण्डरग्राउन्ड गर्ने लगायतका बुँदाहरुमा सहमति भएको थियो ।

यसबाहेक परिषदका पदाधिकारीहरुको सुपरिवेक्षणमा ३ साताभित्र अनावश्यक तारहरु सम्पूर्ण अटाई आवश्यक तारहरु व्यवस्थित गर्ने सहमति भएको थियो ।

परिषदले भने सो सहमति पालना नै नगरि अझै तारहरु काटिरहेको भन्दै इन्टरनेट सेवा प्रदायकहरु सेवा नजोड्ने निष्कर्षमा पुगेका हुन् ।

‘तार काट्न नरोक्ने उनीहरुले भनिरहँदा सम्झौताअनुसार पालना भएन, त्यसैले ठमेलमा ब्ल्याकआउट नै हुन्छ,’ अर्का इन्टरनेट सेवा प्रदायकले भने ।

Nepal Telecom
Sajilo Visa

प्रकाशित: २ पुष २०७६, बुधबार

ताजा समाचार