एनसेलले एक महिनामै १ लाख ६४ हजार फोरजी ग्राहक थप्दा टेलिकमको भने १७ हजार मात्रै थपियो

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले निकै ढिला गरेर भदौ महिनाको एमआईएस रिपोर्ट प्रकाशित गरेको छ । असोज महिनाको एमआईएस रिपोर्ट प्रकाशित गर्ने सयम सकिसक्दा ढिला भएपनि दूरसंचार प्राधिकरणले नयाँ एमआईएस रिपोर्ट सार्वजनिक गरेको छ ।

भदौ महिनाको एमआईएस रिपोर्टअनुसार ब्रोडब्याण्ड इन्टरनेट सेवाग्राहीहरुको संख्या १ करोड ९५ लाख ४० हजार ८७३ पुगेको छ ।

जसमध्ये मोबाइल ब्रोडब्याण्ड तर्फ सबैभन्दा धेरै थ्रीजी सेवाग्राहीहरु नै रहेका छन जसमा १ करोड भन्दा बढि सेवाग्राहीहरु जोडिएका छन् । त्यसपछि भने ४जी सेवाग्राहीहरुको संख्या रहेको छ जसमा ४३ लाख ५५ हजार६ सय २५ जनाले ४जी कनेक्सन प्रयोग गरिरहेका छन् । बाँकी भने ईभिडियोका सेवाग्राहीहरु रहेका छन् ।

फिक्स्ड ब्रोडब्याण्डतर्फ भने एफटिटिएचका ग्राहकहरु सबैभन्दा धेरै देखिन्छन्, जसमा ३१ लाख २० हजार ४९७ग्राहकहरु छन् ।

फिक्स्ड ब्रोडब्याण्ड वायर्डका सेवाग्राहीहरु कुल १४.०२ प्रतिशत छन भने सबैभन्दा धेरै मोबाइल ब्रोडब्याण्डतर्फ ५१.३८ प्रतिशत हुँदै कुल ब्रोडब्याण्ड कनेक्सन ६६.२१ प्रतिशत पुगेको छ ।

बजार हिस्सा तर्फ भने मोबाइल ब्रोडब्याण्ड सेवा ७८ प्रतिशत हिस्सा लिएको छ भने फिक्स्ड वायर्डको २१ प्रतिशत र बाँकी फिक्स्ड वायरलेसको रहेको छ ।

फोरजी ग्राहकहरुमध्ये एनसेलका सेवाग्राहीको संख्या निकै ठूलो रहेको छ । एनसेलसँग ३२ लाख ९२ हजार ९९३ फोरजी प्रयोगकर्ता छन भने नेपाल टेलिकमसँग केबल ८ लाख ३४ हजार ९९५ जना सेवाग्राही छन् । एनसेलले साउन महिनाको आधारमा एक महिनामा नै १ लाख ६४ हजार भन्दा बढि फोरजी ग्राहक जोडेको छ भने टेलिकमले साउनदेखि भदौबिच एक महिनाको अन्तरमा करिब १७ हजार फोरजी ग्राहक मात्र थप्न सकेको छ ।

यस्तै स्मार्टसँग २ लाख २७ हजार ६३७ फोरजी ग्राहकहरु छन् ।

दूरसंचार सेवाग्राहीतर्फ भने ४ करोड भन्दा बढि पुगेका छन् । कुल दूरसंचार सेवाग्राहीहरु ४ करोड १९ लाख १३ हजार ६६१ मध्ये मोबाइल फोन प्रयोगकर्ताहरु नै ४ करोड ११ लाख भन्दा बढि रहेका छन् । जसमा नेपाल टेलिकमका मोबाइल सेवाग्राही २ करोड ७ लाख ४ हजार ७६८ जना छन भने एनसेलसँग १ करोड ६६ लाख ६८ हजार ८६० रहेका छन् । बाँकी २० लाख भन्दा बढि मोबाइल ग्राहकहरु भने स्मार्ट टेलिकमसँग छन् ।