नेपालमा पहिलो पटक ड्रोनमार्फत साग समापनमा देखाईयो लाइटिङ्ग सो, १५० वटा ड्रोनको प्रयोग

काठमाडौं । नेपालमा मंगलबार समापन भएको दक्षिण एशियाली खेलकुद प्रतियोगिता साग २०१९ को अवसरमा पहिलो पटक सार्वजनिक कार्यक्रममा ड्रोनहरुको सहयोगमा विभिन्न कलाकृतिहरु प्रदर्शन गरिएको छ ।

नेपालमा नै पहिलो पटक ड्रोनहरुको समूहको सहयोगमा यस्तो प्रदर्शनी गरिएको हो । जसमा १५० भन्दा बढि ड्रोनहरुको प्रयोग गरिएको थियो । ड्रोन लाइटको सहयोगमा नेपालको नक्सा, राष्ट्रिय झण्डा, बुद्धको अनुहारलगायतका आकृतिहरु आकाशमा देखाईएको थियो ।

यसअघि आतिसबाजी कला देखाइने गरेकोमा प्रविधिको बढ्दो प्रयोगसँगै सागको समापनमा ड्रोनको प्रयोग पनि गरिएको थियो । निकै नौलो र रोमान्चक रहेको सो ड्रोन लाइटको प्रयोग नेपालमा पहिलो पटक भएको हो ।

ड्रोनलाई सफ्टवेयरमार्फत मोबाइल वा ड्रोन स्क्रीनमार्फत पाइलटले नियन्त्रण गर्ने गर्दछ । यसलाई वाईफाई वा इन्टरनेटद्धारा संचालन तथा नियन्त्रण गर्ने गरिन्छ । नेपालमा ड्रोन लाइटको सार्वजनिक प्रयोग पहिलो पटक भएपनि ड्रोनमार्फत भिडियो तथा तस्विरहरु खिच्न निकै अगाडिदेखि प्रयोग हुँदै आएको छ ।

एकै पटक धेरै ड्रोनहरुलाई नियन्त्रण गर्न त्यसलाई सफ्टवेयरमार्फत सिंक्रोनाइज गरिएको हुनुपर्दछ ।

ड्रोन लाइट विश्वमा सबैभन्दा पहिलो टेक कम्पनी इन्टेलले प्रयोग गरेको थियो ।

ड्रोनको प्रयोगमार्फत देखाईने कलाकृतिहरु वातावरणमैत्री हुनुको साथै खतरनाक आतिसबाजी भन्दा सुरक्षित हुन्छ ।