रोकियो दूरसंचार प्राधिकरणले प्रकाशित गर्दै आएको एमआईएस रिपोर्ट, कहिले आउला नयाँ तथ्यांक?

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले नियमितरुपमा प्रकाशित गर्दै आएको दूरसंचार क्षेत्रका तथ्यांकिय बिबरणहरु विगत साउन महिनादेखि रोकिएको छ ।

प्राधिकरणले दूरसंचार क्षेत्रको अवस्थाको बारेमा मासिकरुपमा तथ्यांकसहितको जानकारी राखेर एमआईएस प्रकाशित गर्दै आएकोमा गएको साउन महिना पछाडिको एमआईएस प्रकाशन ठप्प भएको छ ।

विगत ३ महिनादेखि प्राधिकरणद्धारा प्रकाशित गरिने एमआईएस रिपोर्ट प्रकाशन हुन नसक्दा प्राधिकरणका अधिकारीहरु नै पुराना तथ्यांकमा भर पर्नुपर्ने अवस्था आएको छ ।

यसअघि आर्थिक विश्लेषण शाखाको संयोजन र जिम्मेबारीमा तथ्यांकहरु संकलन गरेर नियमित मासिकरुपमा प्रकाशित हुँदै आएको एमआईएस रिपोर्ट साउन महिनादेखि रोकिएको छ । जबकि प्राधिकरणले अहिलेसम्म असोज महिनाको एमआईएस रिपोर्ट प्रकाशित गरिसक्नुपर्ने थियो ।

प्राधिकरणका एक अधिकारीले एमआईएस रिपोर्ट नियमित प्रकाशित हुन नसक्नु लार्पबाही भएको बताए । ‘एमआईएस रिपोर्ट प्रकाशन रोकिएको सबैलाई थाहा छ,  तर कसैले केहि भन्दैनन्,’ ती अधिकारीले भने ।

एमआईएस रिपोर्ट संयोजन र प्रकाशनको जिम्मा प्रशासन महाशाखाअन्तरगत शाखाको जिम्मा दिएपछि एमआईएस रिपोर्ट प्रकाशित हुन छाडेको हो ।

नेपाल दूरसंचार प्राधिकरणका निर्देशक तथा प्रवक्ता मिन प्रसाद अर्यालले आन्तरिक कारणले प्रकाशित नभएको बताए । ‘नयाँ शाखामा जिम्मेबारी गएको छ त्यसैले कर्मचारीहरुलाई शुरुमा कसरी एमआईएस प्रकाशित गर्ने भन्ने समस्या भएको हुन सक्छ, सम्बन्धित शाखामा बुझ्नेछु,’ प्रवक्ता अर्यालले भने ।

आधिकारीक मानेर अन्तराष्ट्रिय दूरसंचार क्षेत्रका संस्थाहरुले पनि प्रयोग गर्ने सो एमआईस रिपोर्ट कहिले देखि नियमित प्रकाशित हुन्छ भन्ने कुनै जानकारी छैन् ।