पाब्लो एस्कोबारका दाईको कम्पनीले ल्यायो फोल्डेबल स्मार्टफोन, मूल्य केबल ३४९ डलर मात्रै

काठमाडौं । संसारका सबैभन्दा ठूला ड्रग डिलरको रुपमा चिनिएका पाब्लो एस्कोबारका दाई रोबर्टो एस्कोबारले निकै सस्तो मूल्यमा फोल्डेबल स्मार्टफोन सार्वजनिक गरेका छन् ।

एस्कोबारको कम्पनी एस्कोबार ईंकले हालै आफ्नो पहिलो फोल्डेबल स्क्रीनसहितको स्मार्टफोन सार्वजनिक गरेको हो । कम्पनीले आफ्नो उत्पादन ल्याएको यो पहिलो भने होईन्, यसअघि पनि विभिन्न प्रडक्ट तथा सर्भिसहरु ल्याईसकेको छ ।

अहिले सार्वजनिक फोल्डेबल स्मार्टफोनको नाम स्कोबार फोल्ड १ राखिएको छ र यो चिनियाँ कम्पनी रोयोल फ्लेक्सिपाईको नयाँ भेरिएन्ट हो । तर यो फोनमा हाल गोल्ड एलिमेन्ट राखिएको छ ।

रोयोलको फोल्डेबल स्मार्टफोन फ्लेक्सिपाईको बजार मूल्य १,३०० अमेरिकी डलर हाराहारी भएपनि एस्कोबारले ल्याएको यो फोल्डेबल स्मार्टफोनको मूल्य केबल ३५० अमेरिकी डलर अर्थात करिब ४० हजार रुपैयाँ तोकिएको छ ।

एस्कोबार फोल्ड १ एन्ड्रोयड ९.० अपरेटिंग सिस्टममा आधारित रहेको छ भने यसमा अक्टा कोर २.८ गीगाहर्ज क्वालकम स्न्यापड्रागन ८५५ चीपसेट राखिएको छ । फोनमा ८ जीबी र्याम तथा ५१२ जीबी स्टोरेज रहेको छ । यो फोनको डिस्प्ले ७.८ इन्चको एमोलेड फूलएचडी प्लस छ भने यसलाई पुरै खोल्दा यसको डिस्प्ले साइज दोब्बर हुन्छ ।

फोनमा १६ मेगापिक्सेल प्लस २० मेगापिक्सेलको ड्यूल क्यामरा छ भने यसमा दुईवटा सिम प्रयोग गर्न सकिन्छ ।

रोबर्टो एस्कोबारले एप्पल लगायतका कम्पनीहरुले ग्राहकहरुलाई महंगो मूल्यमा उत्पादन बेचेर मुर्ख बनाईरहेको आरोप लगाएका छन् ।

‘मैले एप्पललाई माथ गर्ने धेरै जनालाई भनिसकेको छु र गर्नेछ । मैले नेटवर्कहरु र रिटेलहरुलाई हटाएर केबल ३४९ अमेरिकी डलरमा फोल्डेबल फोन ल्याउन सकेँ,’ उनले भने ।

एस्कोबार फोल्ड १ फोल्डेबल स्मार्टफोनलाई अहिलेसम्मकै सबैभन्दा सस्तो फोल्डेबल स्मार्टफोनको रुपमा लिईएको छ ।

यो अनलक्ड क्यारियर फीचरसहित उपलब्ध हुनेहुँदा विश्वभर जहाँसुकैका नेटवर्कहरुमा प्रयोग गर्न सकिन्छ ।