दूरसंचार प्राधिकरण र नेपाल टेलिकमबिच सहमति, कर्णाली र सुदूरपश्चिम प्रदेशमा ब्रोडब्याण्ड बनाउने

Technology Khabar १९ मंसिर २०७६, बिहीबार

दूरसंचार प्राधिकरण र नेपाल टेलिकमबिच सहमति, कर्णाली र सुदूरपश्चिम प्रदेशमा ब्रोडब्याण्ड बनाउने

काठमाडौं ।

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले कर्णाली र सुदुरपश्चिम प्रदेश खण्डअन्तरगतको सूचना महामार्ग आयोजनाको जिम्मा नेपाल टेलिकमलाई दिएको छ । दूरसंचार प्राधिकरणले मन्त्रीपरिषदको निर्णयअनुसार स्मार्ट टेलिकमबाट खोसेको सो ब्याकबोन ब्रोडब्याण्ड बिस्तारको जिम्मा नेपाल दूरसंचार कम्पनी लिमिटेड(नेपाल टेलिकम)लाई दिएको हो ।

सो कार्यको लागि दूरसंचार प्राधिकरण र नेपाल टेलिकमबिच बिहिबार सहमतिपत्रमा हस्ताक्षर भएको छ । सो सहमतिअनुसार कम्पनीले २ वर्षभित्र कर्णाली र सुदुरपश्चिम प्रदेशमा करिब २५०० किलोमिटरमा अण्डरग्राउण्ड र एडिएसएस फाइबर बिस्तार गर्नेछ । दूरसंचार

प्राधिकरणको ग्रामीण दूरसंचार कोषबाट खर्च गरिने गरि यसअघि सो आयोजनाको लागत ३ अर्ब ९४ करोड रुपैयाँ तोकिएको थियो ।

सो सहमतीपत्रमा नेपाल दूरसंचार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाल र नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले हस्ताक्षर गरे । सहमतिपत्र भएको मितिले १ महिनामा कम्पनीले सो आयोजनाको बिस्तृत मोडालिटी तयार पार्नेछ भने त्यसपछि दूरसंचार प्राधिकणसँग सम्झौता गरेर काम अगाडि बढाईनेछ ।

कार्यक्रममा प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले सरकारले नीति संसोधन गरेर परियोजनाको समयावधिलाई थप ५० प्रतिशतसम्म मात्र थप गर्ने बताए ।

‘यो परियोजना भौगोलिकरुपमा साह्रै कठिन भएको छ तर डिजिटल नेपालको आधारस्तम्भको रुपमा काम गरिरहेको हुँदा यसअघिको जस्तै टेलिकमले यो समयमा सम्पन्न गर्ने विश्वास लिएको छु,’ अध्यक्ष खनालले भने ।

उनले सो परियोजनामा हुलाकी राजमार्गलाई पनि जोडिएको जानकारी दिए । ‘यसले पूर्वाधारमा दोहोरो लगानी हट्छ र यो हाम्रो पनि प्रायोरिटी हो,’ उनले भने ।

यो आयोजना समयमा सम्पन्न नभएमा प्राधिकरणले कानून अनुसार कारबाही गर्ने र खारेज सम्म गर्ने चेतावनी समेत अध्यक्ष खनालले दिए ।

टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले डिजिटल नेपालको परिकल्पना र सबै स्थानिय निकायममा उच्च गतिको इन्टरनेट पुर्याउने लक्ष्यका साथ सूचना महामार्ग सम्पन्न गर्न नेटवर्क बिस्तार गर्न दृढ रहेको बताए ।

‘यो सह प्रयोगको रुपमा जाने र अन्य टेलिकम अपरेटर र सरकारी गैरसरकारी निकायहरुले पनि प्रयोग गर्नेछ, यसले पूर्वाधारमा हुने लगानीलाई कम गर्ने र लागत घट्दा उपभोक्ताहरुलाई समेत सस्तोमा सेवा प्राप्त हुनेछ,’ प्रबन्ध निर्देशक अधिकारीले भने ।

डिजिटल लिटरेसी, डिजिटल इकोनोमि र डिजिटल टान्सफरमेशनलाई ठूलो सहयोग उनले बताए ।

आयोजनाको अप्टिकलफाइबर ब्याकबोन बिस्तारको लागि टेलिकमले टेण्डर आब्हान गर्नेदेखि सो कार्य सम्पन्न गर्नेसम्मको जिम्मा लिनेछ ।
कर्णाली र सुदुरपश्चिम प्रदेशका मध्यपहाडी लोकमार्ग, पूर्व पश्चिम, त्यसलाई जोड्ने उत्तर दक्षिण र हुलाकी मार्गहरु जोड्ने गरी जिल्ला सदरमुकाम, नगरपालिका जोड्न अप्टिकल फाइबर ब्याकबोन नेटवर्क निर्माण गर्ने लक्ष्यका साथ आयोजना शुरु हुनेछ ।

रुमको मुसिकोटदेखि बैतडीको झुलाघाटसम्म नेटवर्क बिस्तार गर्ने गरी कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका जिल्लासहित बाँके र बर्दिया जिल्ला समेत गरी २० जिल्लाहरुमा फाइबर नेटवर्क बिस्तार हुने बताईएको छ ।

मध्यपहाडी लोकमार्ग, पूर्व पश्चिम राजमार्ग, हुलाकी राजमार्गमा न्यूनतम ९६ कोरको फाइबर बिस्तार हुनेछ भने सदरमुकामहरु र नगरपालिकासम्म क्रमशः ४८ र २४ कोरको अप्टिकल फाइबर राखिनेछ ।

सो आयोजनाअन्तरगत भविश्यमा भ्वाइस र डाटाको माग हुनसक्ने विषयलाई ध्यानमा राखेर ४०० जी क्षमतासम्म अभिवृद्धि गर्न सकिने १०० जी र १०० जी मल्टिपल अफ १० जी क्षमता सम्म अभिवृद्धि गर्न सकिने १०जी क्षमताका कोर राउटरहरु प्रयोग गरिनेछ । सो नेटवर्कमा अनुमानित २६ डिडब्लूडीएम साइटहरु र ५२ राउटर प्रयोगमा आउने छन्।

यो पनि हेर्नुस्-

स्मार्टले गर्न नसकेको परियोजना नेपाल टेलिकमको जिम्मामा, डिजिटल नेपालको फ्रेमवर्क पनि स्वीकृत

easy care

प्रकाशित: १९ मंसिर २०७६, बिहीबार