अपटेड समाचार

एप्पलले अहिलेसम्मकै सबैभन्दा ठूलो डिस्प्लेसहितको आइफोन आगामी वर्ष ल्याउने

काठमाडौं । एप्पलले सन् २०२० मा ल्याउने आइफोन कस्तो हुनेछ भन्ने चर्चाका बिचमा कम्पनीले ठूलो साइजको आइफोन लन्च गर्ने नयाँ रिपोर्ट आएको छ ।

हालै आएको नयाँ रिपोर्टअनुसार कम्पनीले आगामी वर्ष सबैभन्दा ठूलो डिस्प्लेसहितको आइफोन लन्च गर्नेछ । ठूलो साइजको आइफोन ६.७ इन्चको मोडल हो र यो एप्पलको आइप्याड मिनीको डिस्प्ले साइजभन्दा एक इन्च सानो हो । आइप्याड मिनीमा ७.९ इन्चको डिस्प्ले रहेको छ ।

कोरियन समाचार साइट ईटीन्यूजकाअनुसार कम्पनीले आगामी वर्ष २०२० मा तीन साइजका आइफोनहरु लन्च गर्नेछ । जसमा सबैभन्दा सानो ५.४ इन्चको डिस्प्ले मोडल हुनेछ भने अर्को ६.१ इन्च र ६.७ इन्चको डिस्प्ले मोडल हुनेछ ।

यी सबै आइफोनहरुमा ओएलईडी प्यानल राखिनेछ । यसबाहेक कम्पनीले अर्को चौथो आइफोन पनि लन्च गर्नेछ जसमा ५जी टेक्नोलोजी हुनेछ ।

अहिले आइफोन मोडलहरुमध्ये सबैभन्दा ठूलो साइजको आइफोन ११ प्रो म्याक्स रहेको छ जसमा ६.५ इन्च डिस्प्ले छ । यसबाहेकका अन्य दूई फोनहरु आइफोन ११ र ११ प्रो को डिस्प्ले साइज क्रमशः५.९४ इन्च र ५.६७ इन्च रहेको छ ।

नयाँ आइफोनहरुमा कम्पनीले सामसंगको डिस्प्ले प्रयोग गर्नेछ । ती प्यानलहरुमा वाई–अक्टा टेक्नोलोजी प्रयोग भएको छ भने यो सामसंग इलेक्ट्रोनिक्सका लागि आफ्नै ब्राण्डका स्मार्टफोनहरु बनाउन प्रयोग हुने गरेको छ ।

एप्पलले सामसंग बाहेक डिस्प्लेको लागि एलजी डिस्प्ले पनि छनौट गरेको छ जसले ६.१ इन्चको ओएलईडी डिस्प्ले उपलब्ध गराउने रिपोर्टमा उल्लेख छ ।

Leave a Reply