राष्ट्रिय युवा परिषद् नेपाल र चार बैंकहरुबिच सहुलियतपूर्ण कर्जाका लागि सम्झौता

Technology Khabar १२ मंसिर २०७६, बिहीबार

राष्ट्रिय युवा परिषद् नेपाल र चार बैंकहरुबिच सहुलियतपूर्ण कर्जाका लागि सम्झौता
Classic Tech

काठमाडौं । युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय युवा परिषद् नेपालसँग नेपाल बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र कृषि विकास बैंक लिमिटेड र एनएमबी बै‌कले स्वदेश भित्रै उद्यमशीलता विकास गर्न र स्वरोजगार प्रवर्द्धन गर्ने उद्धेश्यले समझदारी गरेका छन्।

अर्थ मन्त्रालयद्वारा जारी गरिएको सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनदानसम्बन्धी एकीकृत (दोस्रो संशोधन) कार्यविधि, २०७६ को प्रभावकारी कार्यान्वयन गर्नका लागि सो समझदारी पत्रमा बुधबार अर्थमन्त्री डा युवराज खतिवडाको उपस्थितिमा हस्ताक्षर गरिएको हो।

समझदारीपत्रमा राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष माधव ढुंगेल, राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठ, कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्याय र नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले हस्ताक्षर गरे ।

कृषि तथा पशुपन्छीजन्य क्षेत्रको व्यवसाय प्रवर्द्धन गरी उत्पादन एवं रोजगारी अभिवृद्धि गर्न, शिक्षित बेरोजगार युवालाई मुलुकभित्र रोजगारीका अवसरहरु सिर्जना गर्न, विदेशबाट फर्केका युवाको विदेशमा आर्जन गरेको सीप र व्यवसायिक दक्षता उपयोग गर्दै उनीहरूलाई स्वरोजगार बनाउन बैंकहरुले सहयोग गर्ने भएका छन्।

समझदारीअनुसार महिला उद्यमशील क्षमताको विकास गर्न, दलित समुदायको परम्परागत सीप र पेशालाई आधुनिकीकरण एवं प्रवर्द्धन गरी उद्यमशीलता विकास गर्न, आर्थिक रुपमा विपन्न, सीमान्तकृत समुदाय तथा लक्षित वर्गका विद्यार्थीलाई उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा अध्ययनको लागि शैक्षिक ऋण उपलब्ध गराउन, लघु बीमा प्रिमियममा अनुदान दिन तथा भूकम्पपीडितहरूको निजी आवास निर्माणका लागि समेत सहुलियतपूर्ण कर्जा उपलब्ध गराउन बैंकहरुले सहयोग गर्ने जानकारी दिईयो।

उद्यमशीलता र स्वरोजगारको लागि नेपालमै संभावना छ भन्ने सकारात्मक सोचको प्रवर्द्धन गरी आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सहयोग पु¥याउन, युवालक्षित कार्यक्रमहरूको कार्यान्वयनमा साझा उद्देश्य प्राप्तिका लागि सरकारी निकाय तथा वित्तीय संस्थाहरू बीचको समन्वय र सहकार्यको वातावरण तयार गर्न, वैदेशिक रोजगारीबाट सीप, अनुभव संकलन गरी स्वदेश फर्किएका युवालाई पुनः विदेशिन नपर्ने प्रयास गरिने बताइएको छ।

यस कार्यविधि कार्यान्वयनमा सहजीकरणका लागि सात वटै प्रदेशमा सम्बन्धित बैंकहरुबाट सम्पर्क व्यक्तिको व्यवस्था गरिने जानकारी दिईयो।

प्रकाशित: १२ मंसिर २०७६, बिहीबार

Comments are closed.

Loading...