दूरसंचार प्राधिकरण माथी उठेको प्रश्न, एनसेलको ‘रिचार्जमा चमत्कार’ अफर चिठ्ठा हो वा होईन् ?

Technology Khabar १२ मंसिर २०७६, बिहीबार

दूरसंचार प्राधिकरण माथी उठेको प्रश्न, एनसेलको ‘रिचार्जमा चमत्कार’ अफर चिठ्ठा हो वा होईन् ?

काठमाडौं ।

काठमाडौं । केहि दिन अघि मोबाइल अपरेटर एनसेल र इन्टरनेट सेवा प्रदायक भायोनेट दुबैले आफ्नो नयाँ प्रबद्र्धनात्मक योजनाहरु सार्वजनिक गरे । दुबै कम्पनीले नयाँ सेवाग्राहीहरुलाई आकर्षित गर्न तथा पुराना ग्राहकहरुलाई थप सेवा दिनका लागि सो प्रबद्र्धनात्मक योजना सार्वजनिक गरेका थिए ।

यसमध्ये भायोनेटले विभिन्न प्याकेजमा इन्टरनेट सेवा लिँदा सोहि प्याकेजमा रहेर विभिन्न उपहारहरु दिने अफर ल्याएको थियो । एनसेलले भने रिचार्जमा चमत्कार योजनाअन्तरगत प्रत्येक साता २ लाख रुपैयाँ र प्रत्येक महिना १० लाख रुपैयाँ जित्ने मौकासहितको अफर ल्याएको थियो ।

भायोनेटको अफरमा चिठ्ठा प्रकृया छैन भने एनसेलको अफरमा चिठ्ठा प्रकृयाबाट ग्राहकहरुले उपहार प्राप्त गर्ने देखिन्छ किनकी त्यहाँ भाग्यशाली कोडहरुले मात्रै रकम जित्ने  स्पष्ट लेखिएको छ । एनसेलको यो अफर चिठ्ठा प्रकृया हो भने दूरसंचार प्राधिकरणको नियमनअनुसार गैरकानूनी हो ।

यहि एनसेलको ‘रिचार्जमा चमत्कार’ योजनाले दूरसंचार प्राधिकरणको नियमनको स्तरमा प्रश्न उठाउँदै टाउको दुखाई हुने देखिएको छ ।

एनसेलको रिचार्जमा चमत्कार योजना चिठ्ठा हो वा होईन भन्नेमा नै प्राधिकरणका अधिकारीहरु स्पष्ट छैनन् । तर सो चिठ्ठा योजनालाई दूरसंचार प्राधिकरणको बोर्ड बैठकले नै ‘बोनान्जा’को नाममा अनुमति दिएको प्राधिकरण स्रोतले जानकारी दिएको छ ।

आफ्नै बोर्डले दिएको अनुमतिमा संचालत भएको एनसेलको चिठ्ठा कार्यक्रमलाई निरन्तरता दिने वा रोक लगाउने भन्ने विषयमा अझै दूरसंचार प्राधिकरण स्पष्ट छैन् । तर जे भएपनि एनसेलको यो नयाँ अफरले दूरसंचार प्राधिकरणको लागि भने टाउको दुखाई भएको छ ।

‘प्राधिकरण बोर्ड बैठकले नै अनुमति दिएको हुँदा यो विषयमा हामीले तत्काल केहि भन्न मिल्दैन्,’ दूरसंचार प्राधिकरणका एक अधिकारीले भने ।

किनकी यसअघि गत वर्ष २०७५ कात्तिक महिनामा नेपाल दूरसंचार प्राधिकरणले वल्र्डलिंक कम्यूनिकेसन्स लिमिटेडलाई चिठ्ठा कार्यक्रम गरेको भन्दै कारबाहीका लागि स्पष्टिकरण सोधेको थियो ।

वल्र्डलिंकलाई तत्कालिन समयमा प्राधिकरणको निर्देशन विपरित काम गरेको भन्दै कारबाही अगाडि स्पष्टिकरणको पत्र पठाएको थियो । तत्कालिन समयमा वल्र्डलिंकले २३ जना भाग्यशाली ग्राहकहरुलाई विदेश लैजाने अफरअन्तरगत ‘इन्टरनेट फरर, विदेश सरर’ नामक लक्की ड्रमा आधारित प्रबद्र्धनात्मक योजना संचालन गरिरहेको थियो ।

प्राधिकरणले करिब ६ वर्ष अगाडि नै सम्पूर्ण इन्टरनेट तथा टेलिकम सेवा प्रदायकहरुलाई चिठ्ठामा आारित उपहार योजनाहरु बन्द गर्न र संचालनको नगर्नको लागि निर्देशन दिएको थियो ।

त्यस्ता लक्की ड्र, बोनस, फ्रि एसएमएस, रिचार्ज लोयल्टी वा बोनसलगायतका अफरहरु ग्राहकको हितमा नभएको हुँदा तत्काल बन्द गर्न र अब उप्रान्त यस्ता योजना लागू गर्नु पूर्व योजनामा सहभागी हुने उपभोक्ताहरुलाई कुनै किसिमको नोक्सान नहुने गरी स्वीकृत महशुल दरको अधिनमा रहेर मात्र संचालन गर्न २०७० भदौ ३० गते निर्देशन दिएको थियो ।

प्राधिकरणको सो निर्देशन विरुद्ध अहिले एनसेलले ल्याएको रिचार्जमा चमत्कार योजना देखिएको छ । सो अफरमा लक्की ड्र वा चिठ्ठा नभनिएपनि १०० रुपैयाँ भन्दा माथि रिचार्ज गर्ने ग्राहकहरुलाई दिईने कोडको आधारमा ‘हरेक योग्य ग्राहकले प्रत्येक साता २ लाख रुपैयाँ र प्रत्येक महिना १० लाख रुपैयाँ जित्ने मौका पाउँछन्,’ एनसेलको अफरमा भनिएको छ ।

अर्कोतर्फ आफैंले कुनैपनि चिठ्ठा वा लक्की ड्र जस्ता प्रबद्र्धनात्मक योजना संचालनमा रोक लगाउँदै निर्देशन दिएको दूरसंचार प्राधिकरणले आफैंले एनसेललाई भने बोर्ड बैठकबाट नै सो अफर संचालनको लागि अनुमति दिनु विरोधाभाषपूर्ण कार्य हो। एकातिर कुनै एउटा कम्पनीलाई कारबाही गर्ने तर अर्को कम्पनीलाई भने अनुमति दिएर अफर संचालन गराउँदा नियमनकारी निकाय दूरसंचार प्राधिकरणको नियमनको क्षमतामा नै प्रश्न आउन सक्ने देखिन्छ ।

अब यो विषयलाई दूरसंचार प्राधिकरण कसरी सम्बोधन गर्नेछ भन्ने प्रश्न उठेको छ ।

प्राधिकरणको निर्देशन विपरित कार्य गर्ने दूरसंचार सेवा प्रदायक वा इन्टरनेट सेवा प्रदायकहरुलाई ५ लाख रुपैयाँसम्मको जरिवाना गर्न सकिने कानूनमा उल्लेख छ ।

easy care

प्रकाशित: १२ मंसिर २०७६, बिहीबार