अपटेड समाचार

एप्पलको आइफोन चार्जर आपूर्तिकर्ता कम्पनी सालकम्पले भारतमा प्लान्ट लगाउने

काठमाडौं । एप्पलको लागि सामाग्री आपूर्ति गर्ने फिनल्याण्डको कम्पनी सालकम्पले भारतमा मोबाइल चार्जर र अन्य सामाग्री उत्पादन गर्न २० अर्ब भारु लगानी गर्ने भएको छ ।

कम्पनीले एप्पलको आइफोनको लागि चार्जर आपूर्ति गर्दै आएको छ भने स्मार्टफोनको अन्य कम्पोनेन्टहरु पनि उत्पादन गर्दछ । सो कम्पनीले भारतमा २०२० मार्चदेखि उत्पादन शुरु गर्ने बताईएको छ । भारतीय टेलिकम मन्त्री रवि शंकर प्रसादले सो लगानीको बारेमा जानकारी दिएका हुन् ।

सालकम्पले चेन्नईमा रहेको नोकियाको पुरानो फ्याक्ट्रीलाई पुन संचालन गर्ने तयारी गरेको र त्यसको लागि नोकियासँग सम्झौता हुन लागेको बताईएको छ ।

सालकम्प एप्पलको आइफोनका लागि चार्जर आपूर्ति गर्ने मुख्य कम्पनी हो । र कम्पनीले सो लगानी आगामी ५ वर्षमा गर्ने बताईएको छ ।

पछिल्लो दिनमा एप्पलले पनि आफ्ना उत्पादनहरु विश्वको दोस्रो ठूलो स्मार्टफोन बजार भारतमा नै निर्माण गरिरहेको छ । कम्पनीले गत महिना मात्रै आइफोन एक्सआर मोडल फक्सकनको स्थानिय यूनिटमा बनाउन थालेको थियो भने विस्ट्रनको अर्को यूनिटमा आइफोन ७ उत्पादन गर्दै आएको छ ।

एप्पलले भारतमा बनेका आइफोनहरु आगामी दिनमा निर्यात गर्ने समेत मन्त्री प्रसादले जानकारी दिए ।

भारतले मोबाइल फोनका साथै अन्य उपकरणहरुको निर्यात २०१९ २०२० मा १.६ अर्ब डलरभन्दा बढि हुने अनुमान गरिएको छ । एजेन्सी

Leave a Reply