Technology Khabar १० मंसिर २०७६, मंगलवार
काठमाडौं ।
काठमाडौं । नेपाल टेलिकमले देशभर फोरजी एलटिई सेवा बिस्तार गरिरहेको छ । सरकारीको नियन्त्रणमा रहेको टेलिकम सेवा प्रदायक नेपाल दूरसंचार कम्पनी लिमिटेड(नेपाल टेलिकम)ले गएको असोजमा देशभर १ वर्षभित्र फोरजी पुर्याउने उद्घोषसहित औपचारिक घोषणा गरेको थियो ।
फोरजी एलटिई सेवा सक्रियरुपमा प्रबर्द्धन गरिरहेको टेलिकमले बिस्तारका लागि ८०० मेगाहर्ज ब्याण्डको फ्रिक्वेन्सीसमेत प्रयोग गरिरहेको छ । विशेषगरि दूर्गम स्थानहरुका लागि र लामो क्षेत्र ओगट्नका लागि निकै उपयोगी हुने यो फ्रिक्वेन्सी ब्याण्डमा कम्पनीले २० मेगाहर्ज (टू वे) मा समेत फोरजी एलटिई सेवा संचालन गरिरहेको छ ।
नेपालका ग्रामीण भेगहरुमा फोरजी सेवा पुर्याउन उपयोगी हुने यो ब्याण्ड भएका स्मार्टफोनहरु भने निकै कम मात्र नेपाली बजारमा उपलब्ध रहेका छन् । नेपाली बजारमा उपलब्ध रहेका सो ८०० मेगाहर्ज ब्याण्डको फ्रिक्वेन्सीयुक्त स्मार्टफोनहरु मध्ये पनि अधिकांश महंगा सेटहरु छन् ।
टेलिकमले ८०० मेगाहर्जमा फोरजी बिस्तार गरेपनि त्यस्ता स्मार्टफोनहरु उपलब्धता कम हुँदा कम्पनीलाई असर पर्ने संभावना हुन्छ । तर नेपाल टेलिकमकाअनुसार ८०० मेगाहर्ज ब्याण्डमा पनि कम्पनीको सेवा प्रयोगकर्ताहरु ३० प्रतिशत भन्दा बढि देखिएको छ ।
टेलिकमका सह प्रवक्ता कृष्ण प्रसाद भण्डारीले ८०० मेगाहर्जमा फोरजी सेवा बिस्तारको बारेमा कम्पनी चनाखो रहेको र त्यसको प्रयोगको अवस्था निरन्तर अध्ययन गरिरहेको जानकारी दिए ।
‘८०० मेगाहर्ज ब्याण्ड भएका डिभाइसहरु कम नै हुने र भएका पनि महंगा हुने हुँदा त्यसमा थप ध्यान दिईरहेका छौं, तर हाम्रो नेटवर्कमा २५ देखि ३० प्रतिशत त्यस्ता स्मार्टफोनहरु देखिएका छन्,’ सह प्रवक्ता भण्डारीले टेक्नोलोजी खबरलाई भने ।
उनले आगामी दिनमा ८०० मेगाहर्ज ब्याण्डको फ्रिक्वेन्सीमा प्रयोग हुने डिभाइसको संख्या बढेसँगै प्रयोगकर्ताहरुको डाटा प्रयोग समेत बढ्ने अपेक्षा गरिएको बताए ।
८०० मेगाहर्ज ब्याण्डमा मात्रै करिब ३० प्रतिशत ग्राहक हुनुको अर्थ बाँकी अन्य ३ फ्रिक्वेन्सी ब्याण्डमा ७० प्रतिशत ग्राहकहरु रहेका छन् । ८०० मेगाहर्ज ब्याण्डमा प्रयोगकर्ता बढेसँगै टेलिकमको डाटाको प्रयोग पनि बढ्नेछ जसले अन्तत: कम्पनीको आम्दानीमा सकारात्मक प्रभाव पर्नेछ ।
टेलिकमले ८०० मेगाहर्ज बाहेक ९०० मेगाहर्ज ब्याण्ड, १८०० मेगाहर्ज ब्याण्ड, २१०० मेगाहर्ज ब्याण्ड र २३०० मेगाहर्ज ब्याण्ड प्रयोग गरिरहेको छ । यी ब्याण्डहरुमा कम्पनीले २जी, ३जी र ४जी सेवा संचालन गरिरहेको छ । अन्य मेगाहर्ज ब्याण्ड राखिएका डिभाइसहरु भने सजिलै बजारमा उपलब्ध रहेका छन् ।
पछिल्ला दिनहरुमा नेपाली बजारमा ८०० र ८५० मेगाहर्ज ब्याण्डयुक्त डिभाइसहरुको संख्या समेत वृद्धि भईरहेको छ भने त्यस्ता डिभाइसहरु सूपथ मूल्यमा उपलब्ध भएसँगै टेलिकमको ८०० मेगाहर्ज ब्याण्डको उपयोग बढ्दै जाने देखिन्छ ।
टेलिकमकाअनुुसार ८०० मेगाहर्ज ब्याण्डमा मात्रै प्रयोग भएका प्रमुख २५ डिभाइसहरुमध्ये अधिकांश सामसंगका स्मार्टफोनहरु रहेका छन् । त्यसपछि आइफोन, ओपो, भीभो, ह्वावेलगायत ब्राण्डका डिभाइसहरु छन् ।
प्रकाशित: १० मंसिर २०७६, मंगलवार