अपटेड समाचार

भारतमा आउँदो जनवरीदेखि रेफ्रिजेरेटर र एसीको मूल्य बढ्ने, नेपाली बजार पनि प्रभावित हुनसक्ने

काठमाडौं । भारतमा आगामी सन् २०२० देखि एयरकण्डिसनर र रेफ्रिजेरेटर किन्ने ग्राहकहरुले थप रकम तिर्नुपर्ने भएको छ । आगामी जनवरीदेखि भारतीय सरकारले नयाँ एनर्जी लेबलिंग नियम लागूगरेसँगै ती उपकरणहरुको मूल्यमा वृद्धि हुने भएको हो ।

भारतमा जनवरीदेखि ५ स्टार रेटिंग भएका रेफ्रिजेरेटरहरु तथा एसीको मूल्यमा ६ हजार भारु अर्थात करिब १० हजार रुपैयाँको मुल्यवृद्धि हुने भएको हो ।

भारतको सो क्षेत्रको उद्योग संगठन सीईएएमएकाअनुसार नयाँ एनर्जी लेवलिंग नम्र्स जनवरीदेखि लागू हुने भएको छ । सो ५ स्टार मापदण्डमा पर्ने उत्पादकहरुले विशेष सामाग्री प्रयोग गर्नुपर्ने हुँदा लागतमा वृद्धि भएसँगै मूल्य पनि बढ्ने भएको हो ।

५ स्टार लागू भएपछि उत्पादकहरुले ५ स्टार रेफ्रिजेरेटर्स र एसीलाई कुलिंगको लागि यसअघि परम्परागतरुपमा प्रयोग हुने फोमको स्थानमा भ्याक्यूम प्यानल्सको प्रयोग गर्नुपर्नेछ ।

यसबाहेक फ्रोस्ट फ्री र डाइरेक्ट कुलिंगमा एक स्टारको परिवर्तन हुनेछ । यो परिवर्तनले गर्दा ५ स्टार रेफ्रिजरेटर बनाउन करिब ६ हजार भारुसम्मको खर्च बढ्ने बताईएको छ ।

सीईएएमएका अध्यक्ष कमल नन्दीकाअनुसार उर्जा किफायती नम्समा हुने परिवर्तनका कारण उद्योगहरुलाई ५ स्टार रेफ्रिजेरेटरहरु उत्पादन गर्न कठिन हुनेछ ।

भारतमा हुने मूल्यवृद्धिसँगै यसको असर नेपालमा पनि पर्न सक्ने देखिएको छ । नेपाली बजारमा अहिले पनि भारतमा उत्पादित रेफ्रिजेरेटर र एसीहरु बिक्री हुने गरेका छन् । त्यसैले यो नयाँ नियमअनुसार उत्पादन हुने रेफ्रिजेरेटर र एसीहरुको मूल्य बढेसँगै नेपाली बजारमा पनि आयात हुने ती सामाग्रीहरुको मूल्य वृद्धि हुनसक्नेछ जसले गर्दा नेपाली उपभोक्ताहरु समेत प्रभावित हुनेछन् । एजेन्सीका साथमा

Leave a Reply