दूरसंचार प्राधिकरणले अझै पाएन खुमलटारको जग्गा, एमडिएमएस प्रणालीको काम नै प्रभावित

Technology Khabar ६ मंसिर २०७६, शुक्रबार

दूरसंचार प्राधिकरणले अझै पाएन खुमलटारको जग्गा, एमडिएमएस प्रणालीको काम नै प्रभावित
फाइल फोटो: नेपाल दूरसञ्चार प्राधिकरणको पुरानो कार्यालय भवन

काठमाडौं ।

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले आउँदो सन् २०२० जनवरीदेखि लागू गर्न तयारी गरेको मोबाइल फोनलाई ट्र्याक गर्ने र दर्ता गर्ने प्रणाली मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम(एमडिएमएस)को काम सरकारले दिने भनेको जग्गा समयमै नपाउँदा रोकिने भएको छ ।

नेपाल सरकारले दिने भनिएको रेडियो नेपालको ललितपुर जिल्लाको खुमलटारस्थित ४२ रोपनी जग्गा दूरसंचार प्राधिकरणलाई अझै हस्तान्तरण नहुँदा एमडिएमएसको काम नै रोकिने भएको हो । मन्त्रिपरिषद बैठकले सो ४२ रोपनी जग्गा दूरसंचार प्राधिकरणलाई प्रति आना ४० लाख रुपैयाँको दरमा दिने निर्णय गरेको थियो ।

असोज ३० गते सो निर्णय गरिएको र निर्णय भएको १ महिना बितिसक्दा पनि सो जग्गा उपलब्ध गराउने प्रकृया शुरु नहुँदा दूरसंचार प्राधिकरणको एमडिएमएस सिस्टम राख्ने कार्यमा ढिलाई हुने भएको छ ।

दूरसंचार प्राधिकरणले एमडिएमएसको लागि आवश्यक पर्ने उपकरणहरुसहितको कन्टेनर सोहि जग्गामा राख्ने तयारी गरेपनि जग्गा नै उपलब्ध नहुँदा सिस्टम संचालनमा ढिलाई हुने भएको हो ।

दूरसंचार प्राधिकरणका सूचना अधिकृत संदिप अधिकारीले सरकारको निर्णयअनुसार रेडियो नेपाललाई जग्गा दिन पत्राचार गरिएको जानकारी दिए ।

‘हामीलाई संचार तथा सूचना प्रविधि मन्त्रालयको जग्गा दिने बारेमा पत्र आएको थियो, सोहि अनुसार रेडियो नेपाललाई पत्र पठाईसकेका छौं, तर रेडियो नेपालले जानकारी दिएको छैन्,’ सूचना अधिकृत अधिकारीले भने ।

दूरसंचार प्राधिकरणको चावहिलमा रहेको जग्गासमेत अन्य सरकारी निकायले लाने भएपछि प्राधिकरणले रेडियो नेपालले दिने जग्गामा एमडिएमएसको सिस्टम राख्ने योजना बनाएको थियो । सो सिस्टम राख्नको लागि एमडिएमएसको ठेक्का पाएको कम्पनी न्यूमेरा जेभीले त्यसको लागि डिजाइन गरिसकेको र सिस्टम राख्ने स्थानको लागि समेत डिजाइन गरिसकेको छ । तर कहाँ राख्ने भन्ने स्पष्ट नहुँदा कम्पनीले काम अगाडि बढाउन समस्या देखिएको दूरसंचार प्राधिकरणका एक अधिकारीले बताए ।

‘एमडिएमएसको लागि आवश्यक पर्ने सम्पूर्ण प्रणाली र उपकरणहरुसहितको कन्टेनर राख्ने र संचालन गर्ने स्थान देउ भनेर कम्पनीले भनिरहेको छ तर अझै हामीले स्थान तोक्न सकेका छैनौं, रेडियो नेपालको जग्गा प्राधिकरणको नाममा आएपछि सोहि स्थानमा तोक्नेछौं,’ ती अधिकारीले भने ।

तर सो जग्गा प्राप्तिमा ढिलाई भएसँगै एमडिएमएस संचालन गर्ने काम पनि प्रभावित भएको उनले जानकारी दिए ।

अर्कोतर्फ दूरसंचार प्राधिकरणलाई दिने भनिएको सो ४२ रोपनी जग्गामध्ये हाल करिब २२ रोपनी जग्गामात्र प्राधिकरणको नाममा आउने देखिएको छ । प्राधिकरणकाअनुसार ४२ रोपनीमध्ये करिब २२ रोपनीको लालपुर्जा मात्र रेडियो नेपालको नाममा रहेको छ भने सो जग्गा पनि फरक फरक स्थानमा टुक्रा/टुक्रामा बाँडिएर रहेको छ ।

‘रेडियो नेपालको जग्गापनि सिंगै २२ रोपनी छैन्, वरिपरि फरक/फरक टुक्रामा रहेका छन् । बाँकी जग्गा त कसको नाममा छ भन्ने जानकारी नै छैन्,’ प्राधिकरणका अर्का एक अधिकारीले बताए ।

प्राधिकरणले सो जग्गाको कागतपत्र आउने बित्तिकै आफ्नो नाममा हस्तान्तरण गरेर जग्गामा एमडिएमएस सिस्टम कन्टेनर राख्ने तयारी गरेको छ ।

easy care

प्रकाशित: ६ मंसिर २०७६, शुक्रबार