विश्वभर वर्ल्ड टेलिभिजन डे मनाईँदै, कार्डबोर्ड र पंखाको मोटरबाट बनेको थियो पहिलो टिभी

Technology Khabar ५ मंसिर २०७६, बिहीबार

विश्वभर वर्ल्ड टेलिभिजन डे मनाईँदै, कार्डबोर्ड र पंखाको मोटरबाट बनेको थियो पहिलो टिभी
Classic Tech

काठमाडौं । आज नोभेम्बर २१ तारिख अर्थात वल्र्ड टेलिभिजन डे विश्वभर मनाईँदैछ । टेलिभिजनको यात्रा ९५ वर्ष पुरानो भएपनि अहिले पनि यसलाई सबैभन्दा अत्याधुनिक प्रविधिको साथ हाम्रा सामुमा आउँदैछ । ९ दशक पहिले गह्रुँगो र ठूलो साइजमा देखिने टिभी अहिले स्मार्ट र इन्टेलिजेन्स दुबै भएको छ । यसमा सयौं च्यानलहरु एक क्लिकमा परिवर्तन गरेर हेर्न सकिन्छ ।

१७ डिसेम्बर १९९६ मा बसेको संयुक्त राष्ट्रसंघको महासभा बैठकले हरेक बर्ष २१ नोभेम्बरका दिन विश्वभर टेलिभिजन दिवस मनाउने निर्णय गरे अनुसार विश्वभर दिवस मनाउने गरिएको हो ।

१९२४ मा बक्सा, कार्ड र पंखाको मोटरद्धारा तयार पारिएको टिभीदेखि अहिलेको स्मार्ट टिभीसम्म आईपुग्दा निकै परिवर्तन र रोचक भएको छ । टेलिभिजनको शुरुवात देखि नै यसले रेडियो टेक्नोलोजीसँग प्रतिस्पर्धा गर्दै आएको छ । तर पनि टेलिभिजनको आकर्षण र ग्लामर रेडियोको भन्दा बढि देखिन्छ ।

टेलिभिजनका आविश्कारक जोन लोगी बेयर्ड सानैमा सँधै जसो बिरामी हुने गर्दथे र विद्यालय जाँदैन थिए । १८८८ मा स्कटल्याण्डमा जन्मेका उनले १२ वर्षको उमेरमा नै आफ्नै लागि टेलिफोन सेट बनाएका थिए र भविश्यमा मानिसहरु हावाको माध्यमबाट तस्विरहरु पठाउन सक्नेछन भनेर सोच्ने गर्दथे । बेयर्डले सन् १९२४ मा बक्सा, बिस्कुटको टिन, सिलाईको सियो, कार्ड र बिजुलीको पंखामा हुने मोटर जोडेर लण्डनमा पहिलो टेलिभिजन बनाएका थिए ।

टेलिभिजनको रिमोट कन्ट्रोलको आविश्कार अमेरिकाका यूजीन पोलीले गरेका थिए ।

सन् १९५० मा रिमोट कन्ट्रोलयुक्त पहिलो टेलिभिजन बजारमा आएको थियो भने तत्कालिन समयमा रिमोट कन्ट्रोललाई तारको माध्यमबाट टिभी सेटमा जोडिन्थ्यो । सन् १९५५ मा मात्रै पूर्णरुपमा वायरलेस रिमोट कन्ट्रोल टिभी आएको थियो ।

सन् १९५४ मार्चमा पहिलो पटक वेस्टिंगहाउसले पहिलो कलर टिभी सेट बनाएको थियो । शुरुवाती चरणमा यसको केबल ५०० यूनिट मात्र बनाईएको थियो भने यसको मूल्य तत्कालिन समयमा कारको मूल्य बराबर थियो ।

अमेरिकी कम्पनी जनरल इलेक्ट्रोनिक्सले आफ्नो १५ इन्चको कलर टेलिभिजन ल्याएपछि मात्र टिभीको बजार बिस्तार भएको थियो ।

टेलिभिजनको इतिहासमा सन् १९३६ नोभेम्बर २ देखि ब्रिटिश ब्रोडकास्टिंग कर्पोरेशन(बीबीसी)ले नियमित प्रशारण गरेको पाइन्छ । बीबीसीले पहिलो पटकर सन् १९५४ जुलाई ५ मा टेलिभिजनमा दैनिक समाचार बुलेटिन प्रशारण गरेको थियो । तत्कालिन समयमा समाचार एंकरको साटो फोटो र नक्शा मात्र टिभीमा देखाईन्थ्यो ।

सन् १९७० को दशकमा विश्वका ६० वटा मुलुकमा टेलिभिजनको प्रत्यक्ष सेवा विस्तार भएको थियो । नेपालमा भने सन् १९७० ताका टेलिभिजन सेटहरु भित्रिएको पाइन्छ ।

नेपालमा विसं २०४१ साल माघ १७ गते नेपाल टेलिभिजन स्थापना भएपछि टेलिभिजन युग शुरु भएको हो ।

प्रकाशित: ५ मंसिर २०७६, बिहीबार

Comments are closed.

Loading...