भारतीय टेलिकम कम्पनीहरुले डिसेम्बरदेखि सेवा शुल्क बढाउने, ३ वर्षपछि बढ्ने शुल्क कति होला?

Technology Khabar ५ मंसिर २०७६, बिहीबार

भारतीय टेलिकम कम्पनीहरुले डिसेम्बरदेखि सेवा शुल्क बढाउने, ३ वर्षपछि बढ्ने शुल्क कति होला?

काठमाडौं । विश्वभर सस्तो मोबाइल डाटा शुल्क भएको छिमेकी मुलुक भारतका टेलिकम कम्पनीहरुले आफ्नो शुल्क बढाउने तयारी गरेका छन् ।

भारतमा विश्वका धनी व्यक्तिमध्येका एक मुकेश अम्बानीको रिलायन्स जियो भारतीय बजारमा आएसँगै डाटाको शुल्कमा तिब्ररुपमा कमी आएको थियो र डाटा अझै सस्तो रहेको छ । तर त्यसले भारतीय टेलिकम क्षेत्रमा नै अन्य कम्पनीहरुलाई समस्या पारिदियो ।

अन्य प्रतिस्पर्धीहरुले आफ्नो शुल्क घटाउन बाध्य भएका थिए भने केहि कम्पनीहरु त मर्जमा नै गएका थिए । भारतमा एयरसेल, टेलीनोर आरकम जस्ता कम्पनीहरु बन्द भए भने आइडिया र भोडाफोन मर्ज भएका थिए । अर्को कम्पनी एयरटेल पनि समस्यामा छ ।

टेलिकम कम्पनीहरु घाटामा रहेको रिपोर्टहरु आएसँगै भारतमा टेलिकम कम्पनीहरुले आफ्नो शुल्क बढाउने तयारी गरेका छन् । एयरटेल, भोडाफोन र रिलायन्स जियोले आउँदो डिसेम्बरदेखि आफ्ना सबै टेलिफोन सेवा शुल्कमा वृद्धि गर्ने घोषणा गरेका छन् ।

यस्तो शुल्क वृद्धि प्रीपेड तथा पोस्टपेड दुबै प्रयोगकर्ताहरुका लागि हुनेछ । तर हालसम्म कम्पनीहरुले कुनै योजना भने सार्वजनिक गरेका छैनन् । कम्पनीहरुले शुल्क बढाएसँगै फोनकल र डाटा पनि महंगो हुनेछ ।

भोडाफोन आइडियालाई दोस्रो त्रैमासिकमा अहिलेसम्मको सबैभन्दा ठूलो घाटा भएको छ भने कम्पनीले सेप्टेम्बर महिनामा २५.७ लाख ग्राहकहरु गुमाएको थियो ।

टेलिकम कम्पनीहरुको लगातार भईरहेको घाटाको कारण कम्पनीहरुले तिब्रगतिमा आफ्नो सेवा शुल्क बढाउने अनुमान गरिएको छ ।

तर यी तीनवटै कम्पनीहरुले ट्यारिफ शुल्क बढाउनुको कारणमा भने एजीआर रहेको छ । सबै टेलिकम कम्पनीहरुले भारतीय सरकारलाई ९४ हजार करोड भारु एजिआरको रुपमा तिर्नुपर्नेछ जसमध्ये आधा हिस्सा भोडाफोनको मात्रै छ । यसअघि भारतको सुप्रिम कोर्टले सो रकम तिर्न आदेश दिएपछि कम्पनीहरु समस्यामा परेका हुन् ।

हालै रिलायन्स जियोले इन्टरकनेक्सन यूजेज चार्जको आधारमा जियो नेटवर्क भन्दा बाहिरको फोन कलमा शुल्क लिने घोषणा गरेको थियो भने कम्पनीले त्यसको लागि प्लान पनि सार्वजनिक गरेको थियो ।

यसअघि इन्टरकनेक्सन यूजेज चार्जमा टेलिकम कम्पनीहरुको फरक मत रहँदै आएको थियो । नियमनकारी निकायलाई आईयूसी चार्ज बढाउन र यो क्षेत्रलाई बचाउन उनीहरुले दबाब दिँदै आएका छन् ।

भोडाफोन आइडियाले सबैभन्दा पहिले शुल्क बढाउने घोषणा गरेको थियो भने त्यसपछि एयरटेल र रिलायन्स जियोले सो घोषणा गरेका थिए ।
भारतमा करिब ३ वर्षपछि टेलिकम कम्पनीहरुले शुल्क घटाउने प्रतिस्पर्धालाई छाडेर सेवा शुल्क बढाउने भएका हुन् ।

अहिलेको शुल्क वृद्धि गर्नेमा भारतीय सरकारी टेलिकम कम्पनी बिएसएनएल भने सामेल छैन् । लगभग बन्द हुने हालतमा पुगेको सो सरकारी कम्पनीलाई हालै भारतीय सरकारले ऋण दिएर उकास्ने प्रयास गरेको छ । यसबाहेक कम्पनीले कर्मचारी हटाउँदै छ भने केहि रिपोर्टहरुअनुसार बिएसएनएसलाई सरकारले बिक्री गर्ने योजना लिएको छ । एजेन्सीका साथमा

प्रकाशित: ५ मंसिर २०७६, बिहीबार

Comments are closed.

Loading...