अपटेड समाचार

एप्पलको नयाँ म्याकबुक प्रो १६ इन्च सार्वजनिक, नयाँ कीबोर्ड र नवौं पुस्ताको इन्टेल सीपीयू

काठमाडौं । टेक कम्पनी एप्पलले आफ्नो नयाँ १६ इन्चको म्याकबुक सार्वजनिक गरेको छ । कम्पनीले म्याकबुकमा यसअघि देखिएका गल्तिहरुलाई सुधार गर्दै नयाँ ल्यापटप ल्याएको छ ।

एप्पलको १६ इन्च म्याकबुकलाई अहिलेसम्मकै सबैभन्दा पावरफुल एप्पल ल्यापटप भनिएको छ । जसमा १६ इन्चको रेटिना डिस्प्ले रहेको छ, जसको रिजोल्यूशन ३,०७२x१,९२० पिक्सेल छ ।

ल्यापटपमा नयाँ म्याजिक किबोर्ड प्रयोग गरिएको छ, जसले टाइपिंग अनुभवलाई निकै सहज बनाउने कम्पनीको भनाई छ । यसमा टच बारका साथै टच आइडी सेन्सर पनि राखिएको छ ।

म्याकबुक प्रो १६ इन्चमा इन्टेलको नवौं पुस्ताको प्रोसेसर प्रयोग गरिएको छ भने ६ कोर ८ कोरमध्ये कुन प्रयोग गर्ने भन्ने अप्सन यूजर्सलाई दिईएको छ । तर त्यसको लागि थप रकम तिर्नुपर्नेछ ।

एप्पलकाअनुसार यो नयाँ ल्यापटप यसअघिको म्याकबुक प्रो १५ इन्च भन्दा दोब्बर फास्ट रहेको छ ।

यसमा एएमडीको नयाँ सेभेन नानोमिटर जीपीयू रहेको छ भने त्यसको लागि ४ जीबीको र्याम रहेको छ । र्यामलाई यूजर्सले ८ जीबीसम्म पुर्याउन सक्नेछ । नयाँ जीपीयूका साथमा नयाँ ल्यापटपमा भिडियो एडिटिंगलाई ८० प्रतिशत फास्ट बनाउन सकिन्छ भने गेमिंगमा ६० प्रतिशत फास्ट हुनेछ ।

यसमा फ्यानलाई सुधार गर्दै तातोपनालाई ३५ प्रतिशत कम गरिएको छ ।

म्याकबुक प्रो १६ इन्चको शुरुवाती भर्सन १६ जीबी र्याम र ५१२ जीबी एसएसडी स्टोरेजका साथ आउँछ । जसलाई ६४ जीबी र्याम र ८ टेराबाइट एसएसडी स्टोरेजसम्म अपग्रेड गर्न सकिन्छ । १६ इन्चको ल्यापटप १०० वाटको ब्याट्रीका साथमा आउँछ र यो अहिलेसम्म म्याकबुकमा भएको मध्ये ठूलो ब्याट्री साइज हो । यसको ब्याट्री ११ घण्टासम्म चलाउन सकिन्छ । एप्पलले यो ल्यापटपका साथमा ९६ वाटको चार्जर र २ एमएमको यूएसबी सी टू सी केबल दिनेछ ।

म्याकबुक १६ इन्चको शुरुवाती बजार मूल्य २,४०० अमेरिकी डलर तोकिएको छ ।

यसका साथमा एप्पलले म्याक प्रो र प्रो डिस्प्ले एक्सडीआर पनि घोषाणा गरेको छ, डिसेम्बरदेखि उपलब्ध हुने यी प्रडक्टको मूल्य क्रमशः ६,००० डलर र ५,००० डलर तोकिएको छ ।