टेलिकमको सहायक कम्पनी ‘डिजिटल पेमेन्ट कम्पनी लिमिटेड’ हुने, राष्ट्र बैंकबाट अनुमति कुर्दै

Technology Khabar २६ कार्तिक २०७६, मंगलवार

टेलिकमको सहायक कम्पनी ‘डिजिटल पेमेन्ट कम्पनी लिमिटेड’ हुने, राष्ट्र बैंकबाट अनुमति कुर्दै

काठमाडौं ।

काठमाडौं । नेपाल टेलिकम कम्पनीले सहायक कम्पनीको रुपमा ल्याउन लागेको डिजिटल पेमेन्ट सिस्टमको प्रकृया नेपाल राष्ट्र बैंकबाट अनुमति लिनको लागि पुगेको छ।

नेपाल दूरसंचार कम्पनी लिमिटेड(नेपाल टेलिकम) र राष्ट्रिय बाणिज्य बैंक मिलेर ल्याउन लागिएको डिजिटल पेमेन्ट कम्पनी तथा सिस्टमको प्रकृयाका लागि राष्ट्र बैंक पुगेको हो । दुबै कम्पनीले प्रस्तावित कम्पनीको नामसहित अनुमतिको लागि निवेदन दिएका छन् ।

नेपाल टेलिकमको सहायक कम्पनीको रुपमा आउने सो पेमेन्ट कम्पनीको प्रस्तावित विधान, कम्पनीको नामलगायतको विषय सकिएको र राष्ट्र बैंकमा लेटर अफ इन्टेन्टको अनुमति लिन निवेदन दर्ता गरेर कुरीरहेको राष्ट्रिय बाणिज्य बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृत सीए कबि राज अधिकारीले जानकारी दिए ।

‘हामीले सबै प्रस्तावहरु तयार पारेर कम्पनी दर्ताभन्दा अगाडिको प्रकृया सकिसकेका छौं र राष्ट्र बैंकमा एलओआईको लागि निवेदन दिएका छौं, अनुमति आएपछि मात्रै कम्पनी दर्ता प्रकृयामा जानेछ, डेपुटी प्रमुख कार्यकारी अधिकृत अधिकारीले टेक्नोलोजीखबरसँग भने ।

उनकाअनुसार कम्पनीको नाम डिजिटल पेमेन्ट कम्पनी लिमिटेड प्रस्ताव गरिएको छ भने त्यसको कुल अधिकृत पूँजी १ अर्ब रुपैयाँ हुनेछ । कम्पनीको बहुमत शेयर नेपाल टेलिकमको हुने र बाँकी शेयर बाणिज्य बैंकले लिनेछ ।

‘शेयरको बारेमा ठ्याक्कै भन्न सकिँन तर अधिकांश शेयर टेलिकमको हुनेछ र उसकै सहायक कम्पनीको रुपमा आउनेछ, हामी वित्तीय सहयोगी कम्पनीको रुपमा मात्र हुनेछौं,’ डेपुटी प्रमुख कार्यकारी अधिकृत अधिकारीले स्पष्ट पारे ।

उनकाअनुसार टेलिकमको २ करोड भन्दा बढि ग्राहकहरु र बाणिज्य बैंकको ३० लाख खातावालहरुलाई समेट्ने गरि सो पेमेन्ट सिस्टम आउनेछ ।

राष्ट्र बैंकबाट लेटर अफ इन्टेन्ट पाएपछि कम्पनीको नाम, शेयर संरचनाको बारेमा कम्पनी रजिस्ट्रार कार्यालयमा प्रकृया पुर्याएपछि मात्र विधिवत कम्पनी दर्ता हुनेछ ।

यसैगरि नेपाल टेलिकमका एक अधिकृतकाअनुसार राष्ट्र बैंकबाट अनुमति आउने बित्तिकै सबै कामहरु द्रूतगतिमा अगाडि बढाउने गरि तयारी अवस्थामा कम्पनी रहेको छ । ‘हामी तयारी अवस्थामा छौं, राष्ट्र बैंकले कहिले अनुमति दिन्छ त्यसमा भर पर्नेछ,’ उनले भने ।

टेलिकमले कम्पनीको प्रबन्ध पत्र, विनियमावली, संगठन संरचना लगायतका विषयहरुको कागतपत्र संयुक्तरुपमा परामर्शदाता राखेर नै तयार पारिसकेका छन् ।

यसअघि गएको वैशाख १९ गते राष्ट्रिय सूचना, संचार प्रविधि दिवसको अवसर पारेर नेपाल टेलिकम र बाणिज्य बैंकबिच समझदारी पत्रमा हस्ताक्षर भएको थियो । टेलिकमले यसलाई यूटिलिटी पेमेन्ट कम्पनी र सिस्टमको रुपमा ल्याउन खोजेको छ ।

तत्कालिन समयमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले दशैं अगाडि नै डिजिटल पेमेन्ट शुरु गर्नसकिने विश्वास व्यक्त गरेका थिए । तर सात महिना पुरा भईसक्दापनि कम्पनी अझै दर्ता हुन सकेको छैन् ।

easy care

प्रकाशित: २६ कार्तिक २०७६, मंगलवार