नेपाल टेलिकमका कुल ग्राहकको तुलनामा सक्रिय सेवाग्राही घटे, संख्यात्मक अवस्था भने सुधारोन्मुख

काठमाडौं । नेपाल दूरसंचार कम्पनी (नेपाल टेलिकम)ले चालु आर्थिक वर्षको शुरुवात देखि नै ग्राहक सँख्यामा वृद्धि गर्न सफल भएको छ । कम्पनीले तिब्रगतिको फोरजी सेवा देशभर बिस्तार गरेसँग कम्पनीका सेवाग्राहीहरुको संख्यामा पनि वृद्धि भएको तथ्यांकमा देखिएको छ ।

नेपाल टेलिकमले आफ्नो फोरजी सेवा देशभर बिस्तार गर्नु पहिलेदेखि यसको बारेमा सकारात्मक प्रभावले गर्दा सेवाग्राहीहरुको संख्यामा वृद्धि देखिएको हो । टेलिकमका जिएसएम सेवाका ग्राहकहरुको संख्यामा भएको वृद्धिसँग सक्रिय ग्राहकहरुको संख्यामा पनि वृद्धि देखिएको छ।

नेपाल दूरसंचार प्राधिकरणले सार्वजनिक गरेको असार मसान्तको एमआईएस रिपोर्टअनुसार टेलिकमका जिएसएमका कुल ग्राहकहरु २ करोड २ लाख ३८ हजार भन्दा बढि रहेका थिए भने साउन महिनामा सो संख्या बढेर २ करोड ४ लाख ८० हजार भन्दा बढि पुगेको छ ।
यो संख्या टेलिकमले फोरजी सेवा औपचारिकरुपमा देशभर बिस्तार गर्नुभन्दा अगाडिको हो । यसमा फोरजी भन्दा पनि थ्रीजी सेवाका ग्राहकहरुको संख्या अधिक बढेको देखिन्छ भने फोरजीमा करिब १८ हजार संख्या मात्र बढेको तथ्यांकमा देखिन्छ ।

समग्रमा टेलिकमले ग्राहकसँग बढाउँदै जाँदा कम्पनीका सक्रिय ग्राहकहरुको संख्यामा पनि वृद्धि हुँदै गएको देखिएको छ।

टेक्नोलोजी खबरलाई प्राप्त सक्रिय ग्राहकहरुको संख्या हेर्दा नेपाल टेलिकमले यसअघिको बजार हिस्सामा पनि सुधार गरेको देखिएको छ ।
यसअघि टेलिकमका जेठ महिनासम्मको सक्रिय ग्राहकहरुको संखया ८३ लख ८७ हजार ४५ भएकोमा चालु आवको पहिलो महिना अर्थात साउन महिनामा सो संख्यामा वृद्धि हुँदै ८४ लाख ५२ हजार ९ सय ७१ पुर्याउन सफल भएको छ । यसैगरि कम्पनीले संख्याका साथै बजार हिस्सामा पनि सुधार गरेकोछ ।

कम्पनीले जेठ देखि साउन मसान्तको अवधि हेर्दा करिब करिब ६६ हजार सक्रिय ग्राहकहरु थप गर्न सकेको देखिन्छ। साउन मसान्तमा टेलिकम क्षेत्रका कुल सेवाग्राहीहरुको तुलनामा कम्पनीको बजार हिस्सा समेत बढेर ३८.४४ प्रतिशत पुगेको देखिन्छ ।

नेपाल टेलिकमले त्यसपछिको महिनाहरुमा भने निरन्तर सक्रिय ग्राहकहरुको संख्या बढाउन सफल भएकोछ ।

तथ्यांक हेर्दा नेपाल टेलिकमले भदौं महिनामा सक्रिय सेवाग्राहीको संख्या ८५ लाख नघाउन सफल भएको छ । कम्पनीले भदौ मसान्तसम्म ८५ लाख ८२ हजार भन्दा बढि ग्राहक सक्रिय बनाउँदै ३८.८ प्रतिशत बजार हिस्सा पुर्याएको छ ।

टेलिकमले असोज मसान्तसम्ममा पनि सक्रिय ग्राहकहरु बढ्दै गएको देखिन्छ । असोज मसान्तमा कम्पनीसँग ८६ लाख ७८ भन्दा बढि सक्रिय ग्राहकहरु रहेका छन् । कम्पनीले भदौ र असोज महिनाको बिचमा नै करिब १ लाख सक्रिय ग्राहकहरु बनाउन सफल भएको देखिन्छ । यसमा कम्पनीले असोज महिनामा सार्वजनिक गरेको देशैभर फोरजी सेवाको प्रभाव रहेको अनुमान गर्न सकिन्छ ।

कम्पनीले असोज मसान्तमा करिब १ लाख ग्राहक थप गरेसँगै बजार हिस्सा पनि ३८.८४ प्रतिशत पुर्याउन सफल भएको छ ।
यसअघिका तथ्यांकहरुअनुसार केबल ३८ प्रतिशतमा खुम्चिन पुगेको नेपाल टेलिकमले फोरजी देशैभर बिस्तार गरेसँगै आफ्नो सक्रिय ग्राहकहरुको हिस्सामा समेत सुधार गर्न सकेको देखिएको छ ।

कुल जिएसएम मोबाइल फोन सेवाग्राहीको आधारमा घट्यो

तर कुल जिएसएम मोबाइल फोन सेवाग्राहीको आधारमा हेर्ने हो भने सक्रिय ग्राहकहरुको संख्या अझै न्यून रहेको छ । जसअनुसार कम्पनीका आधा भन्दा पनि कम ग्राहकहरुमात्र सक्रियरुपमा प्रयोगकर्ता रहेको स्पष्ट हुन्छ ।

कम्पनीको साउन महिनाको कुल २ करोड भन्दा बढि ग्राहकहरुको आधारमा हेर्दा सक्रिय सेवाग्राहीहरु करिब ४१.२७ प्रतिशत मात्र रहेका छन् ।

कम्पनीले समग्रमा सेवाग्राहीहरु र सक्रिय प्रयोगकर्ताहरुको संख्या बढाउन सफल भएपनि प्रतिशतको आधारमा हेर्ने हो भने घट्दो क्रममा रहेको देखिन्छ । यसअघिको जेठ महिनाको तथ्यांकको आधारमा यस्तो सक्रिय सेवाग्राहीहरुको संख्या ४१.९१ प्रतिशत रहेको थियो ।

Leave a Reply