संचार सचिव गुरुङ्गले पाए अवकाश, दूरसंचार र सूचना प्रविधिको क्षेत्रमा महत्वपूर्ण काम गरेको भनाई

Technology Khabar २० कार्तिक २०७६, बुधबार

संचार सचिव गुरुङ्गले पाए अवकाश, दूरसंचार र सूचना प्रविधिको क्षेत्रमा महत्वपूर्ण काम गरेको भनाई
Classic Tech

काठमाडौं । संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव महेन्द्र मान गुरुङ्गले बुधवारदेखि उमेर हदका कारण अवकाश प्राप्त गरेका छन् ।

विसं २०४४ साल साउन १ गते लेखा अधिकृतबाट सरकारी जागिर शुरु गरेका उनी करिब ३२ वर्ष लामो अवधिमा विभिन्न सरकारी कार्यालयहरुमा कार्यरत रहेका थिए भने पछिल्लो दिनमा संचार मन्त्रालयमा सचिवको रुपमा कार्यरत रहेका थिए । गुरुङ्गले बिजनेस एडमिनिस्ट्रेसन विषयमा अष्ट्रेलिया न्यू साउथ वेल्सस्थित यूनिभर्सिटी अफ वुलोङ्गगोंगबाट स्नातकोत्तर गरेका छन् ।

उनलाई सरकारले राष्ट्रिय बाणिज्य बैंकको अध्यक्षमा समेत नियुक्त गरेको थियो भने नेपाल टेलिकम संचालक समितीको अध्यक्षको रुपमा समेत कार्यरत रहेका थिए ।

उनले आफ्नो पछिल्लो कार्यकालमा संचार तथा सूचना प्रविधिको क्षेत्रमा नयाँ र महत्वपूर्ण कामहरु गर्न सकिएको बताए । करिब ३ वर्षअघि प्रधानमन्त्री कार्यालयबाट दोस्रो पटक संचार मन्त्रालयमा आएका गुरुङ्गले संचार तथा सूचना प्रविधिको क्षेत्रमा परिवर्तन ल्याउने किसिमका नीति तथा कानूनहरु बनाउन सकिएको स्पष्ट पारे ।

‘सबैभन्दा पहिलो र मुख्य विषय भनेको कानूनहरु निर्माण गर्न सकियो जसले आगामी दिनमा आधारको रुपमा काम गर्नेछ, अझ परम्परागत भन्दा पनि फरक किसिमले कानून बनाउनु नै उपलब्धि हो,’ अवकास पाएका गुरुङ्गले टेक्नोलोजीखबरसँग भने ।

उनले मन्त्रालयमा काम गरेको पछिलो अवधिमा सूचना प्रविधि ऐन, आम संचार ऐन, विज्ञापन ऐन, क्लिन फीड, डिजिटल नेपाल फ्रेमवर्क, साइबर सेक्यूरिटीको विषयमा नयाँ नियम कानून बनाउन सकिएको जानकारी दिए । त्यसैगरि दूरसंचारको क्षेत्रमा समेत ससक्त नियमनकारी निकायको भूमिका बनाउन र सुधारको काम गर्न प्रत्यक्ष अप्रत्यक्षरुपमा सहयोग गरेको उनको भनाई थियो ।

‘मन्त्रालयले दूरसंचार क्षेत्रको ‘स्ट्रंङ्ग’ नियामक निकायको रुपमा एनटिएलाई अगाडी बढाउनु महत्वपूर्ण रह्यो, वर्षौंदेखि राजस्व नतिरेर पनि कम्पनीहरु बसेका थिए, त्यसलाई अहिले चिर्न सकियो,’ गुरुङ्गले भने ।

उनले अप्टिकल फाइबर बिस्तारको कार्यमा पनि काम नगर्ने कम्पनीबाट फिर्ता गराउँदै नयाँ तरिकाले काम गर्ने प्रयास पनि महत्वपुर्ण रहेको बताए ।

सचिव गुरुङ्गको अवकाससँगै मन्त्रालयमा निमित्तको कार्यभार सहसचिव विरेन्द्र कुमार मिश्रलाई दिईएको छ ।

प्रकाशित: २० कार्तिक २०७६, बुधबार

Comments are closed.

Loading...