५जी सेवा चीनमा व्यवसायीकरुपमा शुरु, मासिक न्यूनतम १२८ यूआन तिरेर ३० जीबी डाटा पाईने

काठमाडौं । चीनमा ५जीको व्यवसायीक प्रयोग औपचारिकरुपमा शुरु भएको छ । यसलाई विश्वको सबैभन्दा ठूलो ५जी नेटवर्कको रुपमा लिईएको छ ।

देशका तीन सरकारी टेलिकम अपरेटरहरुले आफ्नो नयाँ पुस्ताको वायरलेस टेक्नोलोजी शुक्रबारदेखि शुरु गरेका छन् । चाइना मोबाइल, चाइना टेलिकम र चाइना यूनिकमले बिहिबार आफ्नो ५जी सेवा शुरु गर्दै ५जी प्लान घोषणा गरेका थिए ।

चिनियाँ अपरेटरहरुले न्यूनतम १२८ यूआन अर्थात करिब १८ डलरदेखि ५जी प्रविधिमा ३० जीबी डाटा प्रति महिना दिनेछन् । ५जी अल्ट्रा फास्ट सर्भिसको रुपमा चीनमा आएको हो ।

समाचार एजेन्सी सिन्ह्वाकाअनुसार हाल पहिलो चरणमा चीनको राजधानी बेईजिंङ्गसहित सांघाई, ग्वाउझाउ र सेन्झेनलगायत विभिन्न ५० शहरहरुमा ५जी सेवा व्यवसायीकरुपमा उपलब्ध भएको छ ।

५जी नेटवर्कका लागि चीनमा यसवर्षको अन्त्यसम्ममा १ लाख ३० हजार बेस स्टेशनहरु सक्रिय गरिसक्ने सरकारी योजना रहेको छ । जसमध्ये सांघाईमा मात्रै हाल ११ हजार ८५९ वटा ५जी बेस स्टेशनहरु अक्टोबरको मध्यसम्ममा संचालनमा ल्याईसकिएको छ, जसले शहरका महत्वपूर्ण क्षेत्रहरुमा ५जी नेटवर्क कभरेज गर्न सक्नेछ ।

चीनमा ५जी सेवा शुरुवातसँगै कम्यूनिकेसन टेक्नोलोजी उच्च तहमा पुग्ने अपेक्षा गरिएको छ । तीन प्रमुख मोबाइल अपरेटरहरुले यसअघि नै १ करोड ५जी प्रयोगकर्ताहरु आधिकारीकरुपमा सेवा शुरु हुनुभन्दा पहिले नै दर्ता गराईसकेका छन् ।

चीनले सन् २०२५ सम्ममा ६० करोड ५जी सेवाग्राहीहरु पुग्ने अपेक्षा गरेको छ जून समग्र विश्वको ४० प्रतिशत हुनेछ ।

५जी सेवा सबैभन्दा पहिले दक्षिण कोरियामा व्यवसायीक प्रयोगमा आएको थियो भने त्यसपछि अमेरिका र बेलायतमा संचालनमा आईसकेका छन् । एजेन्सी