फेसबुकमा दैनिक यूजर्स १ अर्ब ६२ करोड पुगे, विज्ञापनबाट मात्रै १७.३८ बिलियन डलर कमायो

Technology Khabar १५ कार्तिक २०७६, शुक्रबार

फेसबुकमा दैनिक यूजर्स १ अर्ब ६२ करोड पुगे, विज्ञापनबाट मात्रै १७.३८ बिलियन डलर कमायो

काठमाडौं । सोशियल मिडिया जायन्ट फेसबुकमा दैनिक सक्रिय प्रयोगकर्ताहरुको संख्या ९ प्रतिशतले वृद्धि भएको छ । कम्पनीको सेप्टेम्बर २०१९ चौमासिकका अनुसार हाल दैनिक सक्रिय प्रयोगकर्ताहरु १ अर्ब ६२ करोडले फेसबुक प्रयोग गर्ने गरेका छन्, जसमा भारत र इन्डोनेसियाजस्ता बजारले सहयोग गरिरहेको छ ।

अमेरिकामा आधारित कम्पनीले २०१९ सेप्टेम्बरमा सकिएको चौमासिकमा आफ्नो आम्दानीमा १९ प्रतिशतको वृद्धि गर्दै ६.०९ बिलियन अमेरिकी डलर कमाएको जानकारी दिएको छ । सोहि अवधिमा अघिल्लो वर्षको तुलनामा कुल आम्दानीमा २९ प्रतिशतले वृद्धि हुँदै १७.६५ बिलियन डलर आर्जन गरेको छ ।

कम्पनीको आम्दानीमा वृद्धिलाई दैनिक सक्रिय प्रयोगकर्ताहरु १ अर्ब ६२ करोडको मुख्य भुमिका देखिएको छ, जसमध्ये भारत, इन्डोनेशिया र फिलिपिन्सले सहयोग गरिरहेका छन् ।

तथ्यांकअनुसार फेसबुकमा मासिकरुपमा सक्रिय हुने प्रयोगकर्ताहरुको संख्या करिब २ अर्ब ४५ करोड पुगेको फेसबुकका प्रमुख वित्तीय अधिकारी डेभिड वेह्नरले लगानीकर्ताहरुलाई जानकारी दिए ।

फेसबुकले यसबाहेक इन्स्टाग्राम र ह्वाट्सएप पनि संचालन गर्दछ जसमा करिब २ अर्ब २ करोड मानिसहरुले दैनिकरुपमा कम्तिमा एक पटक सक्रिय रहेको उनले बताए । जसमा क्यानाडा र अमेरिकाका प्रयोगकर्ताहरुको भुमिका अधिक रहेको छ ।

विश्वको सबैभन्दा ठूलो विज्ञापन प्लेटफर्मको रुपमा रहेको कम्पनीको विज्ञापन आम्दानीमा पनि वृद्धि भएको छ । कम्पनीले सो चौमासिक अवधिमा २८ प्रतिशतको वृद्धि गर्दै १७.३८ बिलियन डलर विज्ञापनबाट कमाएको छ । तर कम्पनीले कुन देशहरुबाट कति आम्दानी गर्यो भन्ने खुलाएको छैन् ।

यसबाहेक फेसबुकका सिईओ मार्क जुकरबर्गले भारतमा छिटै ह्वाट्सएप पे लन्च गर्नेमा आफू आशावादी भएको बताएका छन् ।

‘वास्तवमा हामी ह्वाट्सएपमा पेमेन्टमाथि काम गरिरहेका छौं, भारतमा हाम्रो परीक्षण कार्य गरिरहेका छौं, परीक्षणले धेरै मानिसहरु सो प्रडक्ट प्रयोग गर्न चाहिरहेको देखिएको छ,’ उनले भने ।

मेसेजिंग एप ह्वाट्सएपका विश्वभर १ अर्ब ५० करोड यूजर्स छन जसमध्ये भारतमा मात्रै ४० करोड प्रयोगकर्ताहरु रहेका छन् ।

प्रकाशित: १५ कार्तिक २०७६, शुक्रबार

Comments are closed.

Loading...