वर्ल्डलिंक कम्यूनिकेसन्समा सिडिसी ग्रुपको १ अर्ब ३५ करोड रुपैयाँ लगानी, १० प्रतिशत शेयर खरिद

Technology Khabar ८ कार्तिक २०७६, शुक्रबार

वर्ल्डलिंक कम्यूनिकेसन्समा सिडिसी ग्रुपको १ अर्ब ३५ करोड रुपैयाँ लगानी, १० प्रतिशत शेयर खरिद

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले विदेशी लगानी भित्र्याएको छ । वर्ल्डलिंकले बेलायती कम्पनी सिडिसी ग्रुपबाट १ अर्ब ३५ करोड रुपैयाँ शेयरमा लगानी गर्ने गरि सम्झौता गरेको हो ।

दुबै कम्पनीहरुले बिहिबार संयुक्तरुपमा पत्रकार सम्मेलन गर्दै थप लगानीमार्फत वर्ल्डलिंक कम्यूनिकेसन्स लिमिटेडले साना तथा मझौला व्यवसायहरु र परिवारहरुलाई विश्वसनीय इन्टरनेट सेवा प्रदान गर्न मद्धत गर्ने जानकारी दिएको छ ।

सिडिसी ग्रुप अन्तरगत सिडिसी नेपालले वर्ल्डलिंकको १० प्रतिशत शेयर हिस्सा खरिद गर्दै सो लगानी गरेको हो ।

सिडिसीका प्रबन्ध निर्देशक तथा एशिया प्रमुख श्रीनि नागराजनले आगामी दिनमा थप ग्राहकमूखी योजनाहरुसहित इन्टरनेट सेवा बिस्तारमा ध्यान दिने बताए । ‘नेपालभरि मझौला र साना उद्योगहरुमा इन्टरनेटको उपयोगिताले उनीहरुलाई विश्व व्यापार र बजारमा पहुँच पुर्याउन मद्धत गर्नेछ भन्ने हाम्रो मान्यता हो, हामी दिर्घकालिन लगानी गर्नेगरि आएका छौं, यसले दूर्गम क्षेत्रमा सेवा बिस्तारमा पनि सहयोग हुनेछ,’ नागराजनले भने ।

कायक्रममा वर्ल्डलिंकवल्र्डलिंकका प्रबन्ध निर्देशक दिलीप अग्रवालले सिडिसीको लगानी भित्र्याउनु निकै गौरवको विषय भएको भन्दै आफ्नो कम्पनीलाई पनि त्यसले विश्वभर चिनाउन सहयोग गर्ने बताए । ‘सिडिसीको लगानी भन्दा पनि वर्ल्डलिंक अब अन्तर्राष्ट्रिय स्तरको इन्टरनेट कम्पनी भएको छ यो नै महत्वपूर्ण हो, यो हाम्रो २४ वर्षको मेहनत तथा नेपालको इन्टरनेट र टेलिकम उद्योगप्रतिको विश्वास पनि हो,’ वर्ल्डलिंकका प्रबन्ध निर्देशक अग्रवालले भने ।

उनले यस्तो लगानी नेपालभित्रबाट नै गर्न सकिने अवस्था भएपनि कम्पनीलाई विश्वभर चिनाउनका लागि सिडिसीको लगानी भित्र्याएको स्पष्ट पारे ।

सिडिसीको लगानीपछि थप १ हजार भन्दा बढि व्यक्तिले रोजगारी प्राप्त गर्ने जानकारी दिईएको छ ।

वर्ल्डलिंककाअनुसार हाल करिब ३ हजार कर्मचारीहरु कार्यरत छन भने ७७ वटा स्थानमा शाखा कार्यालय संचालनमा रहेकोछ । कम्पनीले नेपालको इन्टरनेट सेवाको करिब ५४ प्रतिशत बजार हिस्सा ओगटेको दाबी गरेको छ ।

वर्ल्डलिंकमा सिडिसीले शेयर लगानी गरेसँगै कम्पनीको बोर्डमा आफ्नो एक जना प्रतिनिधिसमेत राखेको जानकारी सिडिसीका निखिल बालारमनले पत्रकार सम्मेलनपछि टेक्नोलोजीखबरसँगको साइडलाइन कुराकानीमा जानकारी दिए ।

प्रकाशित: ८ कार्तिक २०७६, शुक्रबार

Comments are closed.

Loading...