स्मार्टले गर्न नसकेको परियोजना नेपाल टेलिकमको जिम्मामा, डिजिटल नेपालको फ्रेमवर्क पनि स्वीकृत

Technology Khabar ८ कार्तिक २०७६, शुक्रबार

स्मार्टले गर्न नसकेको परियोजना नेपाल टेलिकमको जिम्मामा, डिजिटल नेपालको फ्रेमवर्क पनि स्वीकृत
फाइल

काठमाडौं ।

काठमाडौं । नेपाल सरकारले स्मार्ट टेलिकम प्रालिबाट खोसिएको कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश खण्डको सूचना महामार्ग (अप्टिकल फाइबर ब्याकबोन) को कार्य नेपाल टेलिकमलाई दिने भएको छ ।

सरकारले मन्त्रिपरिषदबाट निर्णय गरेर नै सो परियोजना नेपाल दूरसंचार कम्पनी लिमिटेड(नेपाल टेलिकम)बाट गराउन नेपाल दूरसंचार प्राधिकरणलाई निर्देशन दिने निर्णय गरेको हो ।

मन्त्रिपरिषदको कात्तिक ५ गते बसेको बैठकले प्राधिकरणलाई निर्देशन दिने निर्णय गरेसँगै अब सो परियोजनाको जिम्मा पनि नेपाल टेलिकमले लिने भएको छ । संचार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले बिहिबार आयोजित नियमित पत्रकार सम्मेलनमा सो जानकारी दिएका हुन् ।

हालै मात्र दूरसंचार प्राधिकरणले स्मार्ट टेलिकमलाई दिएको सो परियोजनाको काम अगाडि नबढेको भन्दै म्याद थपेको थिएन् । जसले गर्दा सो परियोजना स्वत खारेज भएको थियो ।

स्मार्ट टेलिकमले सो परियोजनाको कार्य चालु आर्थिक वर्षभित्रै सम्पन्न गर्ने गरि सम्झौतामा हस्ताक्षर गरेको थियो तर सो समयमा करिब २० किलोमिटर मात्र तार बिछ्याउनको लागि काम शुरु गरेको थियो ।

पछिल्लो समयमा वित्तीय समस्या भोगिरहेको स्मार्ट टेलिकमले समयमा अप्टिकल फाइबर ब्याकबोन निर्माणको कार्य गर्न नसक्दा सरकारको लक्ष्यमा समेत असर परिरहेको थियो ।

नेपाल टेलिकमले यसअघि नै प्रदेश १, २ र ३ मा पनि अप्टिकल फाइबर बिछ्याउने काम गरिरहेको छ ।

यसैगरि कात्तिक ५ गते बसेको मन्त्रिपरिषदको बैठकले दूरसंचार प्राधिकरणलाई काठमाडौं उपत्यकाभित्र तार व्यवस्थापनसम्बन्धी कार्य गराउन समेत निर्देशन दिएको छ । सो निर्देशनअनुसार प्राधिकरणले अव्यवस्थित र लथालिङ्ग रहेका तारहरुको व्यवस्थापन गराउने छ ।
काठमाडौं लगायतका शहरी क्षेत्रमा रहेका तार व्यवस्थापनको लागि यसअघि नै केपिएमजीले रिपोर्ट बुझाएको छ । जसमा तार व्यवस्थापनको मापदण्ड, तरिकासहितको सुझावहरु उल्लेख गरेको छ ।

सोहि मन्त्रिपरिषदको बैठकले डिजिटल नेपालको अवधारणालाई अगाडि बढाउन आवश्यक ठानिएको डिजिटल नेपाल फ्रेमवर्क, २०७६ पनि स्वीकृत गरेको छ ।

Global Bank
easy care

प्रकाशित: ८ कार्तिक २०७६, शुक्रबार

ताजा समाचार