तार भूमिगत गर्ने मापदण्डसहित केपिएमजीले बुझायो प्रतिवेदन, गर्यो ७० किलोमिटर पाइलट सर्वे

Technology Khabar ६ कार्तिक २०७६, बुधबार

तार भूमिगत गर्ने मापदण्डसहित केपिएमजीले बुझायो प्रतिवेदन, गर्यो ७० किलोमिटर पाइलट सर्वे
काठमाडौंको विद्युत पोलमा रहेको टेलिफोन र इन्टरनेटको तारहरु । फाइल फोटो
Classic Tech

काठमाडौं । इन्टरनेट तथा केबुल टिभीका तारहरुलाई व्यवस्थित गर्न र भूमिगत गर्ने योजनाअन्तरगत अध्ययनको लागि जिम्मा पाएको केपिएमजीले आफ्नो अन्तिम प्रतिवेदन नेपाल दूरसंचार प्राधिकरणमा बुझाएको छ ।

केपिएमजीले बुझाएको अध्ययन प्रतिवेदनमा विभिन्न स्थान र तहहरुमा गरिने भूमिगत तार व्यवस्थापनको बारेमा मापदण्डसहितको जानकारीहरु तथा सुझावहरु दिएको छ ।

कम्पनीले राजमार्गहरु, शहरी क्षेत्रहरु र फाइबर टू दि होम ब्याकबोनलगायतको मापदण्डहरुसहितको प्रतिवेदन दिएको दूरसंचार प्राधिकरणका प्रवक्ता मिन प्रसाद अर्यायलले जानकारी दिए ।

कम्पनीले आफ्नो अध्ययन प्रतिवेदनलाई विभिन्न ८ खण्डमा वर्गिकरण गरेर छुट्टाछुट्टै स्थान र अवस्थाको लागि भूमिगत तार व्यवस्थापनको सुझाव दिएको छ ।

केपिएमजीले तयार पारेको सो प्रतिवेदनमा एरियल लाइन, एरियल लाइनलाई अण्डरग्राउण्ड गर्ने तरिकाहरु, राइट अफ वेको लागि एकद्धार प्रणाली, पूर्वाधार बाँड्ने, व्यक्तिगत पूर्वाधार प्रदानकर्ताको अवधारणा, एफटिटिएच-५जी सहित ९ खण्डमा विभिन्न अध्ययनसहितको सुझाव र आवश्यक पर्ने मापदण्डहरुको बारेमा उल्लेख गरेको छ ।

त्यसैगरि केपिएमजीले तारलाई भूमिगत गर्नका लागि डिग वन कन्सेप्टको बारेमा समेत उल्लेख गरेको छ । जसको अर्थ एक पटक मात्र खनेर तारलाई भूमिगत गरिने र आवश्यकताअनुसारको क्षमता भएको तारहरु प्रयोग गर्ने हो ।

प्रतिवेदनमा सार्वजनिक प्रयोगमा आउने तथा ठूला प्रकारका भवनहरुमा राखिने वायरलेस तथा एफटिटिएचको लागि समेत संरचनागत तरिकाले तारहरु भूमिगत गरिने बारेमा बिस्तृत जानकारीसहितको सुझाव दिएको छ ।

प्रवक्ता अर्यालले सो प्रतिवेदन निकै बिस्तृतमा आएको र त्यसलाई कसरी कार्यान्वयन गर्न सकिन्छ र प्रयोगमा ल्याउन सकिन्छ भन्ने बारेमा अध्ययन भईरहेको बताए ।

‘प्रतिवेदन हेर्दैछौं, विभिन्न किसिमको मापदण्ड, निर्देशन र अवधारणाहरु राखिएको छ, कम्पनीले ७० किलोमिटर सर्वे गरेर त्यसको बारेमा पनि जानकारी उल्लेख गरेको छ,’ प्रवक्ता अर्यालले टेक्नोलोजीखबरसँग भने ।

उनकाअनुसार सो प्रतिवेदनको आधारमा काठमाडौंका अव्यवस्थित तारहरु भूमिगत गर्ने प्रकृया अगाडि बढाईने छ ।

सो प्रतिवेदनमा कम्पनीले भूमिगत तारको लागि गरेको प्रारम्भिक सर्वेको बारेमा पनि जानकारी राखेको छ । केपिएमजीले करिब ७० किलोमिटरको पाइलट सर्वे गरेकोछ । जसअन्तरगत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि कलंकीसम्मको रुट, केसर महलहुँदै क्षेत्रपाटीसम्मको रुट, कोटेश्वरदेखि कलंकीसम्मको चक्रपथ रुट, थापाथलीदेखि बालुवाटार रुटसम्मको सर्वेको बारेमा बिस्तृत जानकारी दिएको छ ।

त्यसैगरि भूमिगत तारको लागि बनाईने म्यानहोलको किसिम र व्यवस्थापनको बारेमा पनि बिस्तृतमा उल्लेख गरेको छ ।

TK Viber

प्रकाशित: ६ कार्तिक २०७६, बुधबार

Loading...