इन्टरनेट ब्राउजर फायरफक्समा ‘पेज ट्रान्सलेसन’ फीचर आउँदै, गूगल क्रोमको जस्तै हुने

Technology Khabar ५ कार्तिक २०७६, मंगलवार

इन्टरनेट ब्राउजर फायरफक्समा ‘पेज ट्रान्सलेसन’ फीचर आउँदै, गूगल क्रोमको जस्तै हुने

काठमाडौं ।

काठमाडौं । इन्टरनेट ब्राउजर मोजिल्ला फायरफक्समा स्वचालितरुपमा पेज रुपान्तरण फीचर आउने भएको छ । यसको लागि मोजिल्लाका डेभलपरहरुले अटोमेटिक पेज ट्रान्सलेसन फीचरको लागि काम गरिरहेका छन् ।

यस्तो फीचर अर्को इन्टरनेट ब्राउजर गूगल क्रोममा उपलब्ध रहेको छ । तर जे भएतापनि फायरफक्सको पेज ट्रान्सलेसन फीचर गूगल क्रोममा भएको भन्दा फरक हुने बताईएको छ ।

हालको क्लाउडमा आधारित ट्रान्सलेसन सेवाहरुभन्दा फरक किसिमले फायरफक्सले क्लाइन्ट साइडमा रहेर मसिन लर्निंगमा आधारित ट्रान्सलेसन लाइब्रेरी प्रयोग गर्नेछ । गूगल ट्रान्सलेट, बीङ्ग ट्रान्सलेटर वा यान्डेक्स ट्रान्सलेसनलगायतले क्लाउडमा आधारित ट्रान्सलेसन सेवाहरु दिईरहेका छन् ।

फायरफक्सको लागि विकास गरिँदै गरेको ट्रान्सलेसन लाइब्रेरीको काम बर्गामोट प्रोजेक्टको एउटा भाग हो, जसले यूरोपेली युनियनको होराइज २०२० रिसर्च एण्ड इन्नोभेसन प्रोग्रामबाट ३३ लाख ५० हजार अमेरिकी डलर प्राप्त गरेको थियो ।

सो प्रविधि हाल सक्रियरुपमा विकासको क्रममा रहेको छ, र मोजिल्लाले फायरफक्सको भित्रपट्टी बर्गामोटलाई एकिकृत गर्न न्यूरल मसिन ट्रान्सलेसन इन्जिनियरहरु नियुक्त गर्न शुरु गरिसकेको छ । यो कार्य सकिने बित्तिकै सो लाइब्रेरी ओपन सोर्स लाइसेन्स अन्तरगत सार्वजनिक गरिनेछ ।

यसअघि पनि मोजिल्लाले गूगल क्रोमको जस्तै ट्रान्सलेसन फीचर ल्याउन निकै चाहना राखेको थियोर यसको लागि पेज ट्रान्सलेसन फीचर सपोर्ट गर्ने यूजर इन्टरफेस पनि लन्च गरेको थियो । मोजिल्लाले क्रोमको जस्तै फीचर बनाउनको लागि ठूलो वित्तीय लागत आउने र त्यसलाई दिगो गर्न नसकिने देखेपछि त्यसबाट पछाडि हटेको थियो । एजेन्सी

प्रकाशित: ५ कार्तिक २०७६, मंगलवार