Technology Khabar ४ कार्तिक २०७६, सोमबार
काठमाडौं ।
काठमाडौं । अमेरिकी टेक कम्पनी फेरी एक पटक विश्वको मूल्यवान कम्पनीको सूचीमा परेको छ । हालै विभिन्न कम्पनीहरुको ब्राण्ड मूल्यको विश्लेषण गरेर सूची प्रकाशन गर्ने अन्तराष्ट्रिय संस्था इन्टरब्राण्डले सार्वजनिक गरेको सूचीअनुसार एप्पल विश्वको मूल्यबान ब्राण्डको रुपमा पहिलो नम्बरमा रहेको छ ।
यो वर्षको मूल्यबान ब्राण्डको रुपमा पर्न सफल भएसँगै एप्पल निरन्तर सातौं वर्षसम्म मूल्यवान कम्पनीको सूचीमा पहिलो नम्बरमा रहन सफल भएको हो ।
इन्टरब्राण्डकाअनुसार पहिलो स्थानमा एप्पल रहेको छ भने दोस्रो स्थानमा अर्को टेक कम्पनी गूगल रहेको छ । त्यसैगरि ईकमर्श तथा टेक कम्पनी अमेजन तेस्रो स्थानमा रहेको छ ।
सफ्टवेयर कम्पनी माइक्रोसफ्ट चौथो स्थानमा रहन सफल भएको छ भने पाँचौं स्थानमा कन्जुमर प्रडक्ट ब्राण्ड कोकाकोला रहेको छ ।
सो सूचीको छैटौं स्थानमा स्मार्टफोन तथा इलेक्ट्रोनिक्स प्रडक्ट मेकर सामसंग रहन सफल भएको छ । प्रमुख १० मध्ये पाँच वटा कम्पनी प्रविधिसँग सम्बन्धित रहेका छन् ।
इन्टरब्राण्डले एप्पलको ब्राण्ड मूल्यांकन २३४ बिलियन डलर गरेको छ र यो गत वर्षको तुलनामा ९ प्रतिशतले वृद्धि भएको हो । त्यस्तै गूगलको ब्राण्ड मूल्य १६७ बिलियन डलर रहेको छ जसको वृद्धिदर ८ प्रतिशत छ भने अमेनको ब्राण्ड मूल्यमा गत वर्षको तुलनामा २४ प्रतिशतको वृद्धि हुँदै १२५ बिलियन डलर पुगेको छ।
सफ्टवेयर कम्पनी माइक्रोसफ्टले पनि १७ प्रतिशतको वृद्धि हासिल गर्दै आफ्नो ब्राण्ड मूल्य १०८ बिलियन डलर पुर्याएको छ । सामसंगको ब्राण्ड मूल्य भने ६१ बिलियन डलर रहेको छ ।
ब्राण्ड परामर्शदाता संस्था इन्टरब्राण्डले कम्पनीहरुको वित्तीय अवस्थाहरु र ब्राण्ड मूल्य कायम गर्ने तत्वहरुको अध्ययनको आधारमा सूची तयार गर्ने गर्दछ । इन्टरब्राण्डले ब्राण्ड नामको लागि १० वटा मूख्य तत्वहरुलाई आधार बनाउने गरेको छ । जसमा उपभोक्ताहरुको अनुभव, कम्पनीको उत्पादन र प्रतिस्पर्धी बजार, शुसासन, जिम्मेबारीता, आवश्यकता, प्रतिबद्धता, स्पष्टता, निरन्तरतालगायतका विषयहरु रहेका छन् ।
प्रकाशित: ४ कार्तिक २०७६, सोमबार