भारतको जम्मू तथा कश्मीरमा मोबाइल सेवा प्रतिबन्धको ७० दिनपछि सेवा सुचारु

काठमाडौं । भारत अधिनस्थ जम्मु तथा कश्मीरमा करिब ७० दिनपछि मोबाइल फोन सेवा शुरु भएको छ । सोमबार दिउँसोदेखि सो क्षेत्रका ४० लाख भन्दा बढि मोबाइल फोन एक्टिभ भएका छन् ।

यी सबै फोनहरु पोस्टपेड सेवा भएका हुन् । राज्य सरकारले दुई दिन पहिले पोस्टपेड सेवाहरुमा भएको प्रतिबन्ध हटाउने निर्णय गरेको थियो । सोहि अन्तरगत सोमबारदेखि १० जिल्लाहरुमा मोबाइल पोस्टपेड सर्भिस शुरु भएको हो ।

हाल पोस्टपेड मोबाइलमा कलिंग सुविधा मात्र शुरु भएको छ भने मानिसहरुले मोबाइल इन्टरनेट सर्भिसको लागि अझै केहि दिन कुर्नुपर्नेछ । यसबाहेक प्रीपेड सेवा कहिलेदेखि संचालन हुनेछ भन्ने जानकारी छैन् । ल्याण्डलाइन सेवा भने यसअघि नै शुरु भइसकेको थियो ।

जम्मू तथा काश्मीरलाई विशेष राज्यको दर्जा दिईएको भारतीय संविधनको अनुच्छेद ३७० लाई भारत सरकारले अगस्ट ५ मा रद्ध गरेलगत्तै सो क्षेत्रमा भएका मोबाइल फोन तथा इन्टरनेट सुविधाहरु बन्द गरिएको थियो । यो अवधिमा जम्मू र लद्दाख क्षेत्रमा मोबाइल फोन सेवा उपलब्ध भएको भएपनि कश्मीर क्षेत्रमा भने मोबाइल सेवामा प्रतिबन्ध लागेको थियो ।

स्रोतहरुलाई उदृत गरेर आएका समाचारहरुअनुसार शुरुमा सरकारी टेलिकम कम्पनी बीएसएनएल पोस्ट पेड मोबाइलहरुलाई मात्र कनेक्टिभिटीको अनुमति दिने निर्णय गरिएको थियो तर सो स्थानका मानिसहरुसँग बीएसएनएलको पोस्टपेड कनेक्सन नहुँदा अन्य सेवा प्रदायकहरुको पोस्टपेड सर्भिसलाई पनि खुला गर्ने निर्णय गरिएको थियो ।

यसअघि पर्यटन उद्योगसँग सम्बद्ध स्थानीयबासीहरुले मोबाइल फोन बहाली गर्न माग गरिरहेको थिए । उनीहरुले पर्यटक बुकिंग र ग्राहकहरुसँग सम्पर्क गर्न कठिन भएको गुनासो गर्दै आएका थिए । समाचार स्रोत