अवैधरुपमा ब्याण्डविथ दिएपछि इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेक कारबाहीमा

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले अनुमति बिना इन्टरनेट सेवा व्यवसाय संचालन गरेको र अनुमति नै नभएको कम्पनीलाई ब्याण्डविथ दिएको दुई इन्टरनेट सेवा प्रदायकहरुलाई कारबाही गरेको छ ।

दूरसंचार प्राधिकरणले अनुमति नै नपाएको कम्पनीलाई ब्याण्डविथ उपलब्ध गराएको भन्दै क्लासिक टेक प्रालिलाई कारबाही गरेको छ । सो इन्टरनेट सेवा प्रदायक कम्पनीलाई प्राधिकरणले हालै ५ लाख रुपैयाँ जरिवाना गराउने निर्णय गरेको छ ।

त्यसैगरि अनुमति पत्र नै नभएको कम्पनीलाई ब्याण्डविथ उपलब्ध गराएको सोहि विषयमा चितवनमा सेवा संचालन गरिरहेको चितवन नेटवर्क प्रालिलाई पनि ५ लाख रुपैयाँ जरिवाना गरेको छ ।

क्लासिक टेक र चितवन नेटवर्कले अनुमति नै नलिईकन अनधिकृतरुपमा सेवा संचालन गरिरहेको तनहुँको युनिक डिजिटल प्रालिलाई समेत कारबाही सहित ५ लाख रुपैयाँ जरिवाना गरेको छ । यूनिक डिजिटल प्रालिले उल्लेखित दुई कम्पनीहरुसँगबाट ब्याण्डविथ खरिद गरेर अनधिकृतरुपमा कारोबार गरेको यसअघि प्राधिकरणले गरेको अनुगमनको क्रममा भेटिएको थियो ।

यूनिक डिजिटलले न्यूनतम ८ एमबीपिएसको इन्टरनेट सेवा ८ सय भन्दा बढि ग्राहकहरु बनाई प्रदान गरिरहेको थियो भने त्यसको लागि क्लासिक टेक र चितवन नेटवर्कसँग ब्याण्डविथ लिएको भेटिएको थियो ।

तत्कालिन समयमा प्राधिकरणका प्रवक्ता मिन प्रसाद अर्यालले गएको भदौ ४ गते अनुमगनको क्रममा अनधिकृतरुपमा इन्टरनेट सेवा संचालन गरिरहेको भेटिएको हुँदा यूनिक डिजिटलमा सिलबन्दी गरिएको जानकारी दिएका थिए ।

हाल सोहि घट्नामा अनुसन्धान गरि प्राधिकरण बोर्डमा रिपोर्ट पेश गरेपछि बोर्डमार्फत सो कारबाही गरिएको हो ।

सो घट्नामा प्रयोगभएका उपकरणहरु समेत प्राधिकरणले जफत गरिने प्रवक्ता अर्यालले यसअघि नै टेक्नोलोजीखबरलाई जानकारी दिएका थिए ।

प्राधिकरणकाअनुसार काठमाडौंमा आधारित क्लासिक टेकले अनधिकृतरुपमा इन्टरनेट सेवा तथा ब्याण्डविथ उपलब्ध गराएको यो तेस्रो घट्ना हो । यसअघि पनि क्लासिक टेकले पोखराको एक कम्पनीलाई अवैधरुपमा ब्याण्डविथ दिएको घटनामा क्लासिक टेकलाई कारबाही तथा जरिवाना गरिएको थियो ।

अर्को कम्पनी चितवन नेटवर्कले भने अनुमति नै नलिई अवैधरुपमा रहेको कम्पनी आफैंले संचालन गरेको प्राधिकरणले उल्लेख गरेको छ ।
क्लासिक टेकले यूनिट डिजिटललाई ब्याण्डविथ प्रयोग गर्नको लागि कुनै सम्झौता गरेको तथा चितवन नेटवर्क र यूनिक डिजिटलबिच पनि कुनै कारोबार सम्झौता भएको प्रमाण कम्पनीले अनुसन्धानको क्रममा दिन सकेको थिएन ।

यो पनि हेर्नुस्-

क्लासिक टेकको ब्याण्डविथमार्फत अवैधरुपमा इन्टरनेट संचालन, दूरसंचार प्राधिकरणले गर्यो सिलबन्दी

Leave a Reply