कम्प्यूटर निर्माता कम्पनी एचपीले विश्वभरबाट ९ हजार कर्मचारी कटौती गर्ने

काठमाडौं । पर्सनल कम्प्यूटर निर्माता कम्पनी एचपी इंकले विश्वभरबाट आफ्ना कर्मचारीहरु हजारौंको संख्यामा कटौती गर्ने भएको छ ।
एचपीले बिहिबार विश्वभरबाट करिब ७ हजारदेखि ९ हजार कामदारहरु आगामी तीन वर्षभित्र कटौती गर्ने बताएको छ ।

कर्मचारीहरुको बहिर्गमन र समयअवधि अगाडि नै स्वघोषित रिटायरमेन्टसहित आगामी सन् २०२२ सम्ममा कटौती हुने अनुमान गरिएको छ ।

कम्पनीकाअनुसार हाल विश्वभर एचपीमा ५५ हजार कर्मचारीहरु काम गरिरहेका छन् । यो कटौती हालको कम्पनीको कुल संख्याको करिब १६ प्रतिशतसम्म हुने बताईएको छ ।

कम्पनीले आफ्नो संस्थाको पुर्ननिर्माण गर्ने र त्यसको लागत करिब १ बिलियन अमेरिकी डलर बराबर हुने अनुमान गरेको छ ।

एचपीका आगामी हुन लागेका अध्यक्ष तथा सिईओ एनरिक लोरेसले भने, हामी बोल्ड र ससक्त एक्सन लिईरहेका छौं र अर्को च्याप्टरको लागि यो महत्वपूर्ण हुनेछ ।

उनले कम्पनीका शेयरहोल्डरहरुलाई मूल्य सिर्जना गर्ने अवसर देखिएको र नेतृत्वदायी, परिवर्तनकारी उद्योग र ससक्त रुपान्तरणका साथ काम गर्ने बताए ।

एचपीले यसअघि नै सन् २०१९ को अन्त्यसम्ममा करिब ५ हजार कर्मचारीहरु कम्पनीबाट बाहिरीने अनुमान गरेको थियो । एजेन्सी