फाइल फाेटाे

यसरी चलाउन सकिन्छ नेपाल टेलिकमको फोरजी सेवा, निशुल्क साट्न पाईन्छ फोरजी सिम

काठमाडौं । नेपाल टेलिकमले नेपालका विभिन्न ३२ जिल्लाहरुका शहरी क्षेत्रमा सुरु गर्न लागेको मोबाइलमा चौथो पुस्ताको मोबाइल सेवा फोरजी बुधवारदेखि शुरु हुँदैछ ।

यसअघि टेलिकमले काठमाडौं र पोखरामा फोरजी सेवा शुरु गरेको थियो । अब भने करिब ५० वटा शहरहरुमा एकैपटक स्ट्याण्डर्ड फोरजी/एलटिई सेवा संचालन हुँदैछ । यसको लागि टेलिकमले १५० वटा बिटिएस टावरहरु राख्ने क्रममा रहेको छ ।

हाल अधिकांश शहरहरुमा उपलब्ध रहेको थ्रीजीको तुलनामा फोरजी सेवा ५ गुणा बढी द्रुतगतिमा सञ्चालन हुने टेलिकमको दाबी छ। फोरजी प्रयोगबाट द्रुतगतिमा इन्टरनेट सेवा, भिडियो कलका अतिरिक्त ठूला फाइलहरु अपलोड र डाउनलोड गर्न सहज हुनेछ । यसले करिब १०० मेगाबाइट्स प्रतिसेकेण्डमा डाटा आदानप्रदान गर्दछ ।

फोरजी प्रविधिमार्फत इन्टरनेटमा उच्च गतिको अडियो एवं भिडियो फाइल सजिलै प्ले गर्न सकिन्छ । फोरजी खास गरि भिडियो कल, भिडियो स्ट्रिमिङ्ग, टेलिभिजन ब्रोडकास्ट, समाचार, टेलिमेडिसिन जस्ता तिब्र गतिको इन्टरनेटमा आधारित सेवाको लागि उपयोगी हुन्छ ।

तर यो अहिले विश्वभर परीक्षण तथा संचालनमा रहेको फाइभजी भन्दा पुरानो प्रविधि हो । हाल विकसित मुलुकहरुमा भने गीगाबाइट प्रति सेकेण्डमा चल्ने ५जी संचालनमा ल्याउने तयारी भईरहेको छ ।

यसरी लिनुस् फोरजीको सेवा

यो सेवा एक्टिभेट गर्न  अंग्रेजीमा ‘स्टार फोर फोर फोर ह्यास’ (*444#) डायल गर्नुपर्छ । यसपछि प्राप्त निर्देशन अनुरुप सिम परीक्षण गर्न तथा फोरजी सेवा एक्टिभेट गर्न सकिनेछ । फोरजी चलेपछि नोटिफिकेसन बारमा फोरजी अथवा एलटिई लेखिएको देखिनेछ ।

तर यसको लागि उपयुक्त सिम नभएमा सिम परिवर्तन गर्नुपर्ने सूचना प्राप्त हुनेछ। फोरजी सेवा पुरानो सिममा उपलब्ध हुँदैन त्यसैले नयाँ यूसिम लिनुपर्ने हुन्छ।

अहिलेको सिम परिवर्तन गरेर नयाँ सिम सित्तैमा सोहि नम्बरमा टेलिकमले उपलब्ध गराउने जनाएको छ ।

टेलिकमका अनुसार फोरजी/एलटीई सिम परिवर्तन गर्दा कुनै शुल्क लाग्ने छैन । अर्को सूचना नभए सम्म यो अफर निरन्तर रहने छ । ग्राहकले *444# डायल गरी सिम परिवर्तन गर्नु पर्ने वा नपर्ने थाहा पाउन सक्नु हुनेछ ।

स्मार्टफोन पनि फोरजी प्रविधियुक्त आवश्यक

त्यसैगरी तपाईँको स्मार्टफोन पनि फोरजी प्रविधियुक्त हुन आवश्यक छ । फोरजी स्मार्टफोन छैन भने तपाईँले फोरजी सिम लिएपनि तपाईँको फोनमा संचालन हुँदैन् ।

Leave a Reply