रियलमी स्मार्टफोन ब्राण्ड कब्जामा पार्न दुई ठूला व्यवसायिक घरानाबिच चर्को प्रतिस्पर्धा

Technology Khabar १३ आश्विन २०७६, सोमबार

रियलमी स्मार्टफोन ब्राण्ड कब्जामा पार्न दुई ठूला व्यवसायिक घरानाबिच चर्को प्रतिस्पर्धा
Classic Tech

अनुज राज ।

काठमाडौं । नेपालमा मोबाइल फोन कारोबार व्यवसाय खस्किरहेको र बजार घटिरहेको बताईरहँदा दुई ठूला व्यवसायिक घराना भने एउटा मोबाइल ब्राण्ड लिन ‘युद्ध’को अवस्थामा छन् ।

नेपालका प्रतिष्ठित व्यवसायिक घराना मुरारका ग्रुप र जगदम्बा ग्रुपबिच एउटा चिनियाँ स्मार्टफोन ब्राण्ड नेपाली बजारका लागि ‘कब्जा’ जमाउन घमासान युद्ध गरिरहेका छन् । मुरारका ग्रुप अन्तरगतको पशुपति ट्रेड लिंक प्रालि र जगदम्बा ग्रुप अन्तरगतको जगदम्बा मोबाइल्स प्रालिबिच चिनियाँ स्मार्टफोन ब्राण्ड रियलमी लिनका लागि हानाथाप परेको हो ।

दुबैले आफू नै आधिकारीक बितरक भएको दाबी गरिरहँदा दुबै ग्रुपले त्यसलाई प्रतिष्ठाको विषय नै बनाएका छन् ।

रियलमीको नेपालका लागि आधिकारीक आयातकर्ता र बितरक को हुने भन्ने बारेमा विवाद उत्पन्न भएको हो । जसले गर्दा दुबै व्यवसायिक घरानाबिच समस्या उब्जाएको छ । दुबैले आफू नै आधिकारीक बितरक भएको दाबी गरिरहँदा दुबै ग्रुपले त्यसलाई प्रतिष्ठाको विषय नै बनाएका छन् ।

दुबै ग्रुपहरुबिच विवाद उत्पन्न गराउने काम भने नेपालमा रियलमीको ‘टेण्डर’ पाएको चिनियाँ समूहले गरेको छ । चिनियाँ समूहले नेपालको बजार, मार्केट, ब्राण्डिंग हेर्ने तथा नेपाली कम्पनीलाई आयात र बिक्री बितरणको मात्र जिम्मा दिने तयारी गरेसँगै दुई ग्रुपबिच विवाद आएको हो ।

शुरुवाती अवस्थामा जगदम्बा ग्रुपअन्तरगतको जगदम्बा मोबाइल्स प्रालिले भारतबाट रियलमी फोन आयात गरेर आफ्नै खर्चमा ब्राण्डिङ्ग र बिक्री गरिरहेको बेला चिनियाँ ग्रुपले चीनबाट नै त्यसको जिम्मा लिएपछि अर्को कम्पनी पशुपति ट्रेड लिंकलाई पनि सहभागी गराएका हुन् ।

यसअघि ओपोमै कार्यरत जोनीका साथमा अहिलेका ओपो नेपालका सिईओ बबी झाओ पनि रियलमीको लागि व्यवसायीक घरानाहरुसँग छलफल गर्न हिँडेका थिए ।

जगदम्बा मोबाइल्सले रियलमीका केहि मोडलका स्मार्टफोनहरु विगत करिब १ वर्षदेखि बजारमा उपलब्ध गराउँदै आएको थियो । तर चिनियाँ ग्रुपले रियलमीको नेपालको कारोबार ‘टेण्डर’मा पाएपछि सो ग्रुपले विभिन्न नेपाली मोबाइल कम्पनीहरुसँग रियलमी ब्राण्ड लिनका लागि विगत ६ महिनादेखि अफर गरिरहेको थियो ।

नेपालमा डेढ दशकदेखि मोबाइल फोन कारोबार गरिरहेका एक व्यवसायीले नाम उल्लेख नगर्ने शर्तमा आफ्नो कम्पनीसँग पनि दुई पटक चिनियाँहरुले भेटेको बताए ।

‘मैले शुरुमा नै सो ब्राण्ड नलिने भन्दा पनि हामीसँग दुईपटक भेट्न आए, यसअघि ओपोमा काम गरेका जोन आएका थिए, तर मैले कुनै रेस्पोन्स नगरेपछि उनीहरु अन्य कम्पनीहरुसँग छलफलमा गएका हुन्,’ ती व्यवसायीले टेक्नोलोजीखबरसँग भने ।

उनकाअनुसार यसअघि ओपोमै कार्यरत जोनीका साथमा अहिलेका ओपो नेपालका सिईओ बबी झाओ पनि रियलमीको लागि व्यवसायीक घरानाहरुसँग छलफल गर्न हिँडेका थिए । बबी झाओ वर्तमान सिईओ भएको र नेपाली मोबाइल कम्पनीहरुसँग राम्रो सम्बन्ध भएको तथा अंग्रेजी समेत बोल्न सक्ने हुँदा जोनले उनलाई साथमा लिएर हिँडेको ती व्यवसायीको दाबी थियो ।

सोहि सिलसिलामा चिनियाँ समूहले नेपालको व्यवसाय जगदम्बा मोबाइल्स बाहेक पशुपति ट्रेड लिंकलाई दिने निर्णय गरेको थियो । तर अहिले भने दुबै कम्पनीहरुबिचको विवाद चरण बिन्दुमा पुगेको सो विषयका जानकारले बताए ।

जगदम्बा मोबाइल्सले काठमाडौं उपत्यकाको बजार हेर्नेगरि र पशुपति ट्रेड लिंकले काठमाडौं उपत्यकाभन्दा बाहिरको बजार हेर्नेगरि आधिकारीकता दिएको बताईएको छ ।

दुबै कम्पनीले नेपाल दूरसंचार प्राधिकरणमा टाइप अप्रुभलको लागि निवेदन दिएपछि सो विवाद बाहिर आएको हो । जगदम्बा मोबाइल्सले मात्र टाइप अप्रुभल लिने गरेकोमा पशुपति ट्रेड लिंकले पनि टाइप अप्रुभलको लागि निवेदन दिएपछि जगदम्बा मोबाइल्सले त्यसलाई रोक्न प्राधिकरणमा असोज ७ गते निवेदन दिएको थियो ।

पशुपति ट्रेड लिंक आधिकारीक आयातकर्ता नभएको आफूहरुमात्र आधिकारीक आयातकर्ता तथा बितरक भएको जगदम्बा मोबाइल्सको दाबी छ । पशुपति ट्रेड लिंकले पनि असोज ७ गते नै टाइप अप्रुभलको लागि आवेदन दिएको थियो ।

प्राधिकरणका अधिकारीहरुले दुबै कम्पनीहरुलाई छलफलको लागि बोलाएर विवाद समाधान गर्ने प्रयास गरेका थिए भने दुबैले आफ्नो कम्पनी आधिकारीक भएको भन्दै प्रमाणहरु पेश गरेका छन् । सो छलफलमा पशुपति ट्रेड लिंकका शिरिष मुरारकाले भने आफूहरु नै आधिकारीक भएको र टाइप अप्रुभल तत्काल दिनुपर्ने दबाब दिएको प्राधिकरणका एक अधिकारीले बताए ।

‘दुईमध्ये कुन कम्पनी आधिकारीक हो भन्ने प्रमाण छानबिन गर्न नपाई नै टाइप अप्रुभल आजै दिनुस भनेर उहाँले निकै दबाब दिनुभयो, यसको पनि आफ्नै समय र प्रकृया हुन्छ,’ ती अधिकारीले भने ।

दुवै कम्पनीले पेश गरेको आधिकारीक आयातकर्ता तथा वितरकको पत्रमा रियलमीका एकैजना प्रोडक्ट क्वालिटी म्यानेजरको हस्ताक्षर गरिएको देखिन्छ । दुबैले एउटै किसिमको पत्र पेश गरेपछि प्राधिकरणले सो बारेमा छलफल गराएको थियो भने दुबै कम्पनीले आधिकारीकता दाबी गरेका थिए ।

तर स्रोतले भने रियलमी ब्राण्ड चिनियाँहरुले लिएपछि दुबै कम्पनीलाई जिम्मा दिन खोजेको बताएको छ ।

‘जगदम्बाले मार्केटिंग र ब्राण्डिंगमा राम्रो काम नगरेको हुँदा अर्को पुरानो कम्पनीलाई चिनियाँहरुले दिएका हुन्, चिनियाँहरुले टेण्डरमा बजार लिने गरेको हुँदा अब रियलमीको प्राईसिंगदेखि सबैकुरा नियन्त्रण गर्ने र अधिक नाफा कमाउने रणनीति अपनाउने गरेका छन्,’ स्रोतले दाबी गर्यो ।

जगदम्बा मोबाइल्सले काठमाडौं उपत्यकाको बजार हेर्नेगरि र पशुपति ट्रेड लिंकले काठमाडौं उपत्यकाभन्दा बाहिरको बजार हेर्नेगरि आधिकारीकता दिएको बताईएको छ । पशुपति ट्रेड लिंकले हंगकंगबाट स्मार्टफोन मगाउने छ भने जगदम्बा मोबाइल्सले भारतबाट स्मार्टफोन आयात गर्नेछ ।

‘चिनियाँहरुले भनेअनुसार नै आयातलगायतका काम गर्नुपर्ने हुन्छ, तर हंगकंगबाट मगाउँदा भारतको भन्दा महंगो मूल्य पर्ने देखिएको छ, नेपाली ग्राहकहरुले थप मूल्य तिर्नुपर्ने भएपनि चिनियाँ ग्रुपलाई भने फाईदा नै हुनेछ,’ स्रोतले जानकारी दियो ।

विवादका कारण पशुपति ट्रेड लिंकको टाइप अप्रुभल समयमा नहुँदा कम्पनीले दशैं अगाडि रियलमी ब्राण्ड आयात गर्न भने नसक्ने देखिएको छ । तर कम्पनीले तिहारभन्दा अगाडि नै बजारमा रियलमीको नयाँ मोडल ल्याउनसक्नेछ ।

TK Viber

प्रकाशित: १३ आश्विन २०७६, सोमबार

Loading...