दूरसंचार सेवाको गुणस्तर सम्बन्धी नयाँ विनियमावली आउँदै, गुणस्तर मापदण्डमा थप कडाई गरिने

Technology Khabar १० आश्विन २०७६, शुक्रबार

दूरसंचार सेवाको गुणस्तर सम्बन्धी नयाँ विनियमावली आउँदै, गुणस्तर मापदण्डमा थप कडाई गरिने

काठमाडौं ।

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले नेपालमा दूरसंचार सेवाको गुणस्तर सम्बन्धी विनियमावलीको नयाँ मस्यौदा तयार पारेको छ ।
प्राधिकरणले दूरसंचार ऐन, २०५३ अनुसार दूरसंचार सेवाको गुणस्तर निर्धारण गर्ने तथा सेवा संचालन गर्दा कायम गर्नुपर्ने न्यूनतम स्तर तोकिदिने व्यवस्थाअनुसार नियमनकारी निकायले नयाँ विनियमावली तयार पारेको हो ।

सोहि विनियमावलीको आधारमा टेलिकम सेवा प्रदायक कम्पनीहरुले आफ्नो सेवाको गुणस्तर कायम गर्नुपर्ने हुन्छ र त्यसको बारेमा प्राधिकरणलाई आवश्यक परीक्षण प्रतिवेदन समेत बुझाउनुपर्ने हुन्छ ।

‘उपभोक्ताहरुले स्तरीय दूरसंचार सेवा प्राप्त गर्ने सुनिश्चितताको प्राधिकराण्ले विद्यमान व्यवस्था, सेवा प्रदायक तथा विज्ञको राय, राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रचलनहरुको समेत अध्ययन गरेर विद्यमान दूरसंचार सेवाको गुणस्तर सम्बन्धी विनयमावली, २०७३ मा समयानुकुल परिमार्जन गरी दूरसंचार सेवाको गुणस्तर सम्बन्धी विनयमावली, २०७६ को मस्यौदा तयार गरिएको छ,’ प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालद्धारा जारी सो मस्यौदामा भनिएको छ ।

यसैबिच प्राधिकरणले सो विनियमावली छलफलको लागि समेत सार्वजनिक गरेको छ । दूरसंचार सेवाको गुणस्तरसँग सम्बन्धित सरोकारबाला, विज्ञ अध्येता, अनुसन्धानकर्ता तथा अन्य सरोकारबालाहरुसँग मस्यौदाको बारेमा राय सुझाव माग गरिएको छ ।

सेवाको गुणस्तर मापदण्ड कायम गर्न प्राधिकरणले केहि संसोधनसहित नयाँ विनियमावली तयार पारेको प्राधिकरणका निर्देशक तथा प्रवक्ता मिन प्रसाद अर्यालले बताए।

‘अहिलेको विनियमावलीलाई समयानुकुल परिवर्तन गर्नेगरि केहि स्ट्याण्डर्डहरुमा पनि हेरफेर तथा संसोधन गरिएको छ, सरोकारवालाहरुले थप सुझाव दिनसक्नेछन्, प्रवक्ता अर्यालले भने।

यसअघिको विनियमावलीले टेलिकम अपरेटरहरुलाई मात्र समेटेकोमा अब भने अन्य नेटवर्क सेवा दिने कम्पनीहरुलाई पनि समेटिएको छ ।

नयाँ मस्यौदा विनियमावलीले इन्टरनेट सेवा प्रदायकलाई पनि समेटनेछ र उनीहरुको नेटवर्क नचलेको वा सेवा प्रदान गर्न नसकेको अवस्थामा सेवा प्रदायकले ग्राहकलाई परेको असुविधा बापत मनासिव महशुल मिन्हा गर्ने अथवा सेवाको अवधि थप गरिदिनुपर्नेछ।

यसबोहक नयाँ विनियमावलीको मस्यौदामा दूरसंचार सेवा संचालन गर्दा कायम गर्नुपर्ने न्यूनतम गुणस्तरको कार्यहरुमा सफलतापूर्वक फोनकल स्थापना हुने दर थप गरिएको छ भने नयाँ विनियमावलीले एसएमएसको समेत स्तर मापन गर्नेछ । हालको विनियमावलीमा फोनकल स्थापना हुन लाग्ने समय र फोनकल विच्छेद हुने दरको बारेमा मात्र उल्लेख गरिएकोमा नयाँ विनियमावलीले फोनकल स्थापना हुने दर समेत निर्धारण गर्नेछ ।

निश्चित अवधिमा सफलतापूर्वक स्थापना भएका फोनकलहरुको संख्या र सो अवधिमा प्रयास गरिएका जम्मा फोनकलहरुको संख्याको अनुपातको रुपमा यसको मापन गरिनेछ । यसको लागि औसत निकाल्ने अवधि १ महिना तोकिएको छ भने कायम गर्नुपर्ने स्तर ९९ प्रतिशत वा सो भन्दा बढी हुनुपर्नेछ ।

त्यसैगरि नयाँ थप गरिएको नयाँ मापदण्डमा एसएमएस सम्प्रेषण हुन लाग्ने समयभन्दाले प्रयोगकर्ताले अर्को मोबाइलमा एसएमएस पठाउँदा लाग्ने समयावधिलाई तोकिएको छ ।

यसमा टेलिकम अपरेटरहरुले ३० सेकेण्ड वा सो भन्दा कमको अवधि कायम गर्नुपर्ने स्तर तोकिएको छ । त्यस्तै सफलतापूर्वक एसएमएस सम्प्रेषण हुने दरलाई ९९ प्रतिशत वा सो भन्दा बढि कायम गरिएको छ ।

यसबाहेक प्राधिकरणले नयाँ विनियमावलीमा केहि गुणस्तरका मापदण्डहरुमा समेत संसोधन गर्ने प्रयास गरेको छ । जसअन्तरगत दूरसंचार सेवाको स्तरलाई १ प्रतिशत वा सो भन्दा कम कायम गर्नुपर्ने प्रावधान राखिएको छ । हालको विनियमावलीमा यसलाई २ प्रतिशत वा सो भन्दा कम कायम गर्नुपर्ने तोकिएको थियो ।

यसअघिको मोबाइल नेटवर्कमा पहुँचलाई हटाएर मोबाइल नेटवर्कका उपलब्धता स्तर तोकिएको छ । जसमा परीक्षण अवधिमा रेकर्ड गरिएका जम्मा संकेत संख्यामध्ये निश्चित तहभन्दा माथि रहेका संकेत संख्याहरुको प्रतिशतको रुपमा यसको मापन गरिनेछ ।

इन्टरनेटतर्फ भने नेटवर्क लेटेन्सीको स्तरमा परिवर्तन भएको छ । नयाँ विनियमावलीमा नेटवर्क लेटेन्सी पींग परीक्षण गरिनेछ जसअन्तरगत राष्ट्रिय र अन्तराष्ट्रिय नेटवर्क लेटेन्सीलाई छुट्याईएको छ । राष्ट्रिय तर्फ १०० मिलिसेकेण्ड तथा अन्तराष्ट्रिय तर्फ २५० मिलिसेकेण्ड वा सो भन्दा कम हुनुपर्नेछ ।

यसअघि यस्तो स्तरलाई राष्ट्रिय र अन्तर्रास्ट्रिय भनेर छुट्याईएको थिएन भने कायम गर्नुपर्ने स्तर २५० मिलिसेकेण्ड वा सो भन्दा कम तोकिएको थियो ।

बिलिङ्ग तथा ग्राहकको गुनासो सम्बन्धी मानकहरुमा पनि संसोधन गरिएको छ । जसअन्तरगत विलिङ्ग विवादलाई २ प्रतिशत वा सो भन्दा कम हुनुपर्ने तोकिएको छ । विवाद समाधानको लागि २४ घण्टाभित्र ९० प्रतिशत वा सो भन्दा बढि समाधान हुनुपर्ने तथा ३ कार्य दिनभित्र ९९ प्रतिशत वा सो भन्दा बढि हुनुपर्ने न्यूनतम स्तर निर्धारण गरिएको छ ।

गुनासो समाधानमा पनि यसपटक समयवाधि तोकिएको छ । गुनासो समाधानको कार्य अबदेखि २४ घण्टाभित्र ९० प्रतिशत वा सो भन्दा बढी र ३ दिनभित्र ९९ प्रतिशत वा सो भन्दा बढि स्तर कायम हुनुपर्नेछ ।

प्राधिकरणका प्रवक्ता अर्यालले सबैको राय सुझावपछि यसमा आवश्यक संसोधन गरेर नयाँ विनियमावली लागू गरिने जानकारी दिए ।

https://nta.gov.np/wp-content/uploads/QoS-Bylaw-2076-CP.pdf

Global Bank
easy care

प्रकाशित: १० आश्विन २०७६, शुक्रबार