Technology Khabar ८ आश्विन २०७६, बुधबार
काठमाडौं ।
काठमाडौं । कृषि विकास बैंकमा सिस्टम ह्याकिङ प्रकरणमा ४ करोड ७३ लाख रुपैयाँ चोरी भएको प्रहरीले जानकारी दिएको छ । काठमाडौं प्रहरी परिसरले बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै सो आफ्नो खातामा ट्रान्सफर गरी ह्याकर समूहले चोरी गरेको जानकारी दिएको हो ।
प्रहरीले सो ह्याकिङ र रकम चोरीका मुख्य अभियुक्त भारतमा रहेको र त्यसमा संलग्न १२ जना अभियुक्तहरुलाई प्रहरीले पक्राउ गरेको छ ।चोरहरुले कृषि विकास बैंकबाट ५ अर्ब लुट्ने योजना बनाएपनि ४ करोड ७३ लाख रुपैयाँ मात्रै विभिन्न शाखामा ट्रान्सफर गरेका हुन । सो घटनामा संलग्न रहेका लवाङ तामाङ, लक्ष्मी लामा तामाङ, संजय घले, निर्मला तामाङ, निमा तामाङ, पुष्पराज खड्का, विद्यासागर लामिछाने, श्रवणकुमार श्रेष्ठ, सुनिता श्रेष्ठ, शुवन्धर पन्जा, बिजय साह, चन्द्रबहादुर वुढालाई प्रहरीले पक्राउ गरेको छ।
ट्रान्सफर गरिएको मध्ये ६० लाख रुपैयाँ मात्रै चोहरुले निकालेको र अन्य रुपैयाँ भने शाखाहरुमा रोक्का रहेको प्रहरी परिसरले जानकारी दिएको छ । प्रहरीले चोरी भएको मध्ये ६० लाख रुपैयाँ भने बरामद गरिसकेको छ ।
बैंकको लहान शाखामै कार्यरत कर्मचारीहरुको ३ वटा यूजर आइडी प्रयोग गरी रकम चोरी भएको पाइएको महानगरीय प्रहरी अपराध महाशाखा प्रमुख सहकुल थापाले जानकारी दिए ।
प्रहरी अनुसन्धानअनुसार भर्चुअल प्राइभेट नेटवर्कको प्रयोग गरेर ह्याकरहरुले कृषि विकास बैंकको सिस्टम ह्याक गराएका थिए ।
भारतबाट नाइके पिटरले ती १२ जनालाई केही रकम कमिशन दिएर परिचालन गरेको पाईएको छ । १० देखि ३५ प्रतिशत कमिशन दिने आश्वासनमा सो रकम झिकेको पक्राउ परेका ह्याकर समूहका सदस्यहरुले जानकारी दिए।
बैंकका सहायक महाप्रबन्धक दीर्घ अर्यालले हाल चोरी भएको रकम बैंकको भएको र अन्य शाखा र निक्षेपकर्ताहरुको रकम सुरक्षित रहेको दाबी गरे ।
यसअघि पनि चिनियाँ ह्याकरहरुले नेपाली बैंकको एटिएम सिस्टम ह्याक गरेर करोडौं रुपैयाँ झिकेका थिए । जसमध्ये ५ जनालाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।
प्रकाशित: ८ आश्विन २०७६, बुधबार