एप्पलले म्याक प्रोको नयाँ भर्सन अमेरिकामै उत्पादन गर्ने, अतिरिक्त व्यापार शुल्कले पार्यो असर

काठमाडौं । अमेरिकी टेक कम्पनी एप्पलले आफ्नो म्याक प्रोको पछिल्लो भर्सन अमेरिकामै उत्पादन गर्ने भएको छ । कम्पनीले सोमबार एक वक्तव्य जारी गर्दै आफ्नो टेक्सासमा भएको फ्यासिलिटीबाट नै म्याक प्रो उत्पादन गर्ने जानकारी दिएको छ।

अमेरिकी ट्रेड रेगुलेटरहरुले गएको शुक्रबार एप्पलले अनुरोध गरेको १५ वटा निवेदनहरुमध्ये केबल १० निवेदनहरुमा मात्र अतिरिक्त कर छुट दिने अनुमति दिएको थियो ।

नयाँ म्याक प्रोको डिजाइन, विकास र उत्पादन लगायतका कार्यहरुमा दर्जनौं अमेरिकी कम्पनीहरु सहभागी हुँदै आएका छन भने दर्जनौं कम्पनीहरु अमेरिकी ग्राहकहरुलाई उपलब्ध गराउन लागीपरेका छन्, एप्पलको स्टेटमेन्टमा उल्लेख छ।

एप्पलले सोहि प्लान्टबाट म्याक प्रो डेस्कटपहरु छिटै उत्पादन शुरु हुने बताएको छ, जहाँ यसअघिका जेनेरेशनका कम्प्यूटरहरु उत्पादन गर्ने गरिन्थ्यो ।

यसअघि नै एप्पलले सन् २०२३ सम्म अमेरिकामा ३५० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने प्रतिवद्धता जनाइसकेको छ।

अमेरिका र चीनबिच व्यापार युद्धले गर्दा अमेरिकी टेक कम्पनीहरुले चीनबाट आयात गर्ने आफ्ना उत्पादनहरुमा अतिरिक्त भन्सार शुल्क तिर्नुपर्ने भएको छ । अमेरिकाले चीनबाट आयात हुने सामानहरुमा थप भन्सार तोकेपछि एप्पललाई पनि समस्या परेको हो । यसअघि एप्पलले आफ्नो म्याक प्रो चीनमा उत्पादन गरेर अमेरिकामा आयात गर्ने गरिरहेको थियो ।