Technology Khabar २ आश्विन २०७६, बिहीबार
काठमाडौं ।
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिबि नेपालले बैंकहरुलाई सूचना प्रविधिको क्षेत्रमा लगानी बढाउन सुझाव दिएका छन् । गर्भनर नेपालले विश्वमा नयाँ नयाँ प्रविधि भित्रिएसँगै जोखिम पनि बढ्दै गएको हुँदा सूचना प्रविधिलाई फलो गर्न नसके समय समयमा संकटहरू आईपर्ने बताएका हुन् ।
नेशनल बैंकिङ इन्स्टिच्युट (एनबीआई) द्वारा बिहीबार आयोजित कार्यक्रममा राष्ट्र बैंकका गभर्नर नेपालले सूचना प्रविधि आईटीमा लगानी नगर्दा बैंक तथा वित्तीय संस्थाहरूको वर्षौदेखिको आम्दानी जोखिम परेको बताए ।
‘वर्षौदेखि कमाएको रकम एक क्लिकमै नोक्सान हुन सक्ने भएकोले यसबाट जोगिन आईटीमा लगानी गर्नुस्,’ गर्भनर नेपालले भने ।
उनले बैंक तथा वित्तीय संस्थाहरुले अन्य क्षेत्रमा भन्दा आईटीमा लगानी गर्नुपर्नेमा जोड दिँदै राष्ट्र बैंकले निर्देशन जारी गरेर भएपनि लगानी गर्न लगाउने बताए ।
उनले आईटीमा गरेको लगानीले बैंक तथा वित्तीय संस्थाहरुले धेरै कमाउन सक्ने भएपनि लगानी नगरे बैंकहरूले ३० वर्ष लगाएर कमाएको पैसा डुब्ने उनको भनाई थियो । नेपालको आईटी क्षेत्र अत्यन्त कमजोर भएको भन्दै यसमार्फत १४ वर्षको बच्चाले पनि यहाँको बैंकलाई ह्याक गर्न सक्ने उनको जिकिर छ ।
एनबीआईका प्रमुख कार्यकारी अधिकृत सञ्जिब सुब्बाले नेपालमा बैंकिङ क्षेत्र साइबर आक्रमणको उच्च जोखिममा रहेको हुँदा बैंक तथा वित्तीय संस्थाहरूले प्रविधिमा ठूलो मात्रामा लगानी बढाउन आवश्ययक रहेको बताए ।
केहि साता अघि नेपाली बैंकका एटीएम ह्याक गरेर चिनियाँ ह्याकरहरुले करोडौं रुपैयाँ चोरी गरेका थिए ।
प्रकाशित: २ आश्विन २०७६, बिहीबार