फाइभजी स्पेक्ट्रमको मूल्य महँगो भएको भारतीय टेल्कोजको दाबी, मूल्य घटाएर मात्र अक्सन गर्न माग

काठमाडौं । भारतमा हुन लागेको ५जी स्पेक्ट्रम अक्सन विवादमा परेको छ । ५जीको लागि तोकिएको स्पेक्ट्रमको मूल्य निकै महंगो र अस्वभाविक रहेको भन्दै टेलिकम उद्योगको संस्थाले विरोध जनाएको छ ।

ब्रोडब्याण्ड इण्डिया फोरमले भारतको अक्सन गरिने स्पेक्ट्रमको मूल्य अन्य देशहरुको भन्दा ५ देखि ६ गुणा महंगो भएको भन्दै तत्काल पुनरावलोकन गर्न भनेको छ ।

‘वर्तमानमा तोकिएको ५जी स्पेक्ट्रमको मूल्य निकै महंगो छ, अन्य देशहरुको भन्दा ५ देखि ६ गुणा उच्च छ र तत्काल त्यसलाई पुनरावलोकन गर्नुपर्ने आवश्यकता छ,’ ब्रोडब्याण्ड इण्डिया फोरमका प्रेसिडेन्ट टिभी रामचन्द्रनले विज्ञप्ति मार्फत भने ।

भारतमा सन् २०१० देखि बिक्री नभएको बिक्री नभएको मोबाइल स्पेक्ट्रमको अहिलेको लागत मूल्य ५.४ लाख करोड भारु रहेको छ । सन् २०१० मा गरिएको अक्सनपछि अझै ४० प्रतिशत स्पेक्ट्रम प्रयोगमा आउन नसकेको संस्थाले उल्लेख गरेको छ ।

टेलिकम कम्पनीहरुले ५जी अक्सन सफल बनाउन अहिलेको मूल्यलाई संसोधन गरिनुपर्ने र त्यसमा डिजिटल कम्यूनिकेसन्स कमिसनले तत्काल हस्तक्षेप गर्नुपर्ने उल्लेख गरेका छन् ।

भारतमा अन्य देशहरुको तुलनामा औसत आम्दानी प्रति यूजरको अधारमा हेर्दा प्रति मेगाहर्जको लागत ५जी स्पेक्ट्रममा कम्तिमा ४ गुणा अधिक भएको दाबी गरेका छन् ।

भारतमा यसअघि सन् २०१६ मा अक्सन गरिएको थियो जसलाई अहिलेसम्मकै भारतको सबैभन्दा ठूलो अक्सनको रुपमा लिईन्छ । यसमा १,३०० मेगाहर्ज भन्दा बढिको रेडियो स्पेक्ट्रम बिक्री गरिएको थियो जुन कुल स्पेक्ट्रमको करिब ५९ प्रतिशत हो । यसबाहेकको स्पेक्ट्रम अझै बिक्री भएको छैन र प्रयोगमा आएको छैन् ।

सो विज्ञप्तिकाअनुसार भारतमा सन् २०१६ मा ७६२ मिलियन सक्रिय मोबाइल कनेक्सन थियो जसलाई ३,८०० मेगाहर्ज स्पेक्ट्रम लाइसेन्स प्रयोगकर्तालाई उपलब्ध गराईएको थियो । तर बाँकी रहेको स्पेक्ट्रमलाई प्रयोगमा ल्याउने हो भने थप २७८ मिलियन अतिरिक्त कनेक्सन थप गर्न सकिने छ । र यो भारतको कुल जनसंख्याको २१ प्रतिशत भएको दाबी गरिएको छ ।
माध्यम