उपत्यकाका टेलिफोन तार अप्टिकल फाइबरले प्रतिस्थापन गरिँदै, टेलिफोन नम्बर परिवर्तन हुनसक्ने

Technology Khabar ३१ भाद्र २०७६, मंगलवार

उपत्यकाका टेलिफोन तार अप्टिकल फाइबरले प्रतिस्थापन गरिँदै, टेलिफोन नम्बर परिवर्तन हुनसक्ने
Classic Tech

काठमाडौं । नेपाल टेलिकमले काठमाडौं उपत्यकाका विभिन्न स्थानहरुमा कपर केबल(तामाको तार) मार्फत संचालन भईरहेका टेलिफोन सेवालाई अप्टिकल फाइबरमार्फत टेलिफोन सेवा दिने गरि परिवर्तन गर्ने भएको छ।

नेपाल दूरसंचार कम्पनी (नेपाल टेलिकम)ले काठमाडौं क्षेत्रिय सेवा निर्देशनालयअन्तरगत रहेका विभिन्न ११ एक्सचेन्जको टेलिफोन लाइनहरुलाई फाइबर टू दि होम प्रविधिबाट प्रतिस्थापन गर्न लागेको हो।

कम्पनीले सोमबारदेखि नै सो कार्य शुरु भईसकेको जानकारी दिँदै आगामी दिनमा नयाँ प्रविधिबाट टेलिफोन लाइन संचालन हुने जनाएको छ । सो नयाँ प्रविधिले प्रतिस्थापन गर्दा टेलिफोन नम्बरहरु पनि परिवर्तन हुनसक्ने भन्दै सेवाग्राहीसँग सहयोग गर्न आग्रह समेत गरेको छ ।

टेलिकमले काठमाडौं उपत्यकाका नक्साल, गोंगबु, हात्तिगौंडा, छाउनी, कीर्तिपुर, पाटन, सैंबु, थैव, ठिमी, गोठाटार, चावहिल, सुन्धारा र बबरमहल कार्यालयअन्तरगतका स्थानहरुमा फाइबर टू दि होम प्रविधिमार्फत टेलिफोन लाइन संचालन गर्ने जानकारी दिएको हो ।

कम्पनीका सह प्रवक्ता कृष्ण प्रसाद भण्डारीले सबै एक्सचेन्ज तथा कार्यालय अन्तरगत एफटिटिएच बिस्तारको कार्य शुरु भईसकेको जानकारी दिँदै नयाँ प्रविधिमार्फत सेवाग्राहीहरुलाई सुविधा दिईने बताए।

‘पुराना पिएसटिएनका कपर केबललाई अब फाइबरले बिस्थापित गर्न लागिएको हो । त्यसैले पुराना एक्सचेन्जहरुका ग्राहकहरुले नयाँ नम्बर पाउने छन्,’ उनले भने, ‘स्विचको कारण केहि स्थानहरुमा पुराना नम्बरहरु प्राविधिकरुपमा उपलब्ध गराउन नसकिने हुन्छ।’

सह प्रवक्ता भण्डारीकाअनुसार नयाँ प्रविधिमा गएपछि खाली भएका नम्बरहरु उपलब्ध गराउनुपर्ने हुन्छ त्यसैले पनि टेलिफोन नम्बर परिवर्तन भएर नयाँ दिईने हुन्छ ।

एउटा एक्सचेन्जमा निश्चित संख्यामा नम्बरहरु हुने र प्राविधिकरुपमा एफटिटिएचमा यसअघि आईपीमा नभएकालाई नम्बर सार्न नमिल्ने उनले स्पष्ट पारे ।

टेलिकमले ग्राहकहरुलाई एफटिटिएचमार्फत प्रतिस्थापन हुने टेलिफोन नम्बरहरु परिवर्तन भएको खण्डमा नयाँ नम्बर दिने र यसअघिको नम्बरमा कल गर्दा नोटिसमार्फत नयाँ नम्बरको बारेमा जानकारी दिने व्यवस्था गरेको छ ।

एफटिटिएचमा जाँदा धेरै सेवा सुविधाहरु प्रयोग गर्न सकिने हुन्छ । फाइबरमार्फत दिईने सेवा समेत उच्च गुणस्तरको हुन्छ र एउटै केबल लाइनबाट टेलिफोन र इन्टरनेट तथा टेलिभिजन सेवा प्रयोग गर्न सकिन्छ ।

त्यसैले पनि ग्राहकहरुले धेरै फाईदा लिनसक्ने र नम्बर मात्र परिवर्तन हुनेहुँदा ग्राहकहरुले सहयोग गर्नुपर्ने सह प्रवक्ता भण्डारीको भनाई छ ।

प्रकाशित: ३१ भाद्र २०७६, मंगलवार

Comments are closed.

Loading...