फिनटेक समिट तथा एक्स्पो आयोजना हुँदै, डिजिटल ट्रान्सफर्मेसन र वित्तीय प्रविधिबारे छलफल हुने

Technology Khabar ३१ भाद्र २०७६, मंगलवार

फिनटेक समिट तथा एक्स्पो आयोजना हुँदै, डिजिटल ट्रान्सफर्मेसन र वित्तीय प्रविधिबारे छलफल हुने

काठमाडौं । वित्तीय क्षेत्रमा प्रविधिको प्रयोगलाई बढावा दिने उद्धेश्यले नेपालमा पहिलो पटक वित्तीय प्रविधिसम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ ।

युनाइटेड बिजनेश कम्लायन्स (यूबीसी)को आयोजना तथा आईसीटी प्रोफेशनल एशोसिएशन अफ नेपालको सहआयोजनामा फाइनान्सियल टेक्नोलोजी (फिनटेक) सम्बन्धी दुई दिने सम्मेलन मङ्सिर १३ र १४ गते काठमाडौंको म्यारियट होटलमा हुनेछ ।

‘नेपाल फिनटेक समिट तथा एक्स्पो’ नामक सो सम्मेलनमा स्वदेशी र विदेशी गरी ३०० जना भन्दा बढि सम्बन्धित क्षेत्रका विज्ञ तथा जानकारहरुको सहभागिता हुने जानकारी आयोजकले दिएको छ ।

नेपालमा वित्तीय प्रविधिको क्षेत्रमा आएका नयाँ आविश्कारहरु तथा साइबर सुरक्षाको ईकोसिस्टमलाई सुदृण बनाउने गरी सो सम्मेलन हुन लागेको हो ।

सम्मेलनमा बैंक तथा वित्तीय क्षेत्रका नियामक निकायहरु, वित्तीय संस्थाहरु, बीमा कम्पनी, सूचना सञ्चार तथा प्रविधि (आईटी) व्यवसायी, अन्तर्राष्ट्रिय प्रविधिविज्ञ, एकेडेमिक व्यक्तित्वलगायत गरी ३०० जना सहभागी हुने आईसीटी प्रोफेशनल एशोसिएशन अफ नेपालले जानकारी दिएको छ ।

सम्मेलनमा साइबर सुरक्षा र डिजिटल ट्रान्सफर्मेशन मुख्य एजेन्डाका रूपमा छलफल गरिने बताइएको छ । यस्तै रेगुलेटरी टेक्नोलोजी, बिग डाटा एन्ड आर्टिफिसियल इन्टेलिजेन्स (एआई), ब्लकचेन, कार्ड पेमेन्ट, अनलाइन पेमेन्ट डिजिटल नेपाल, डिजिटल सर्भिसलगायत नयाँ प्रविधिबारे चर्चा हुनेछ । यी विषयहरुमा विदेशी मुलुकका १० सहित २० जना वक्ताले कार्यपत्र प्रस्तुत गर्नेछन् ।

आईसीटी प्रोफेशनल एशोसिएशन अफ नेपालका अध्यक्ष मिलनराज नेपालीले वित्तीय क्षेत्रमा प्रविधिको प्रयोग बढिरहेको सन्दर्भमा त्यसलाई अझ बढि सुरक्षित र विश्वासिलो बनाउन सम्मेलन सहयोगी हुने बताए ।

‘नेपालको वित्तीय क्षेत्रमा प्रविधिको प्रयोग निरन्तर बढिरहँदा डिजिटल ट्रान्सफरमेसनको अवस्थामा छौं, यो बिचमा देखिएका साइबर ह्याकिंग जस्ता चुनौतीहरुलाई पनि ध्यान दिनुपर्नेछ, सम्मेलनले यस क्षेत्रमा भएका नविनतम प्रविधिहरु र त्यसको उपयोगिताको बारेमा पनि जानकारी दिनेछ, उनले भने ।

फिनटेकसम्बन्धि नयाँ प्रविधि र प्रयोगबारे विस्तृत रूपमा बुझ्न बैंक तथा बीमा कम्पनीहरूलाई सो सम्मेलन महत्वपूर्ण हुने अध्यक्ष नेपालीको भनाई छ।

सम्मेलनमा एआईका विज्ञ डा. प्रमोद पराजुली, नेपाल इन्स्टिच्युट अफ डाइरेक्टर्सका अध्यक्ष रोशनकुमार पोखरेल, नेपाल स्टक एक्सचेन्जका म्यानेजर निराजन फुँयाल, बीमा समितिका सहायक निर्देशक राजेन्द्र महर्जन, नेपाल माइक्रोफाइनान्स बैंकर्स एशोसिएशनका महासचिव वसन्त लम्साललगायत वक्ताका रूपमा रहेका छन् । यसबाहेक विदेशी विज्ञहरुले पनि नविनतम प्रविधिहरुको बारेमा आफ्नो भनाई राख्ने बताईएको छ ।

सम्मेलनमा वित्तीय प्रविधि र प्रयोग सम्बन्धि १५ वटा स्टलमार्फत प्रदर्शनी गरिने आयोजकले बताएको छ । ती स्टलहरुमा साइबर सुरक्षा र वित्तीय प्रविधिसँग सम्बन्धित स्वदेशी र विदेशी कम्पनीहरूको सहभागिता हुनेछ । साथै अनलाइन पेमेन्टमा काम गरिरहेका ई–सेवा, खल्ती, प्रभुपे जस्ता कम्पनीलाई पनि सहभागी गराइनेछ ।

भारतको बैंगलुरुमा रहेको यूबीसीले आर्थिक क्षेत्रसँग सम्बन्धित विषयमा सेमिनार तथा व्यापार सम्मेलन गर्दै आएको छ । सो संस्थाले यसअघि बहराइन, सिंगापुर, दुबई, केन्यालगायत मुलुकमा सूचना प्रविधि, साइबर सुरक्षा लगायत विषयमा सम्मेलन गरिसकेको छ । नेपालमा भने यूबीसीले पहिलो पटक यस्तो सम्मेलन गर्न लागेको हो । यो सम्मेलनलाई नेपाल बैंकर्स संघ, इन्स्योरेन्स इन्स्टिच्युट नेपाल र बैंकिङ, फाइनान्स एन्ड इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपालले पनि सहयोग गरेको छ ।

यदि तपाईँ पनि सहभागी हुन चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

प्रकाशित: ३१ भाद्र २०७६, मंगलवार

Comments are closed.

Loading...