अपटेड समाचार
NTA_Nepal Telecommunications Authority_NTA

दूरसंचार प्राधिकरणको सांगठनिक संरचना परिवर्तन, दुई निर्देशक पद थपियो, जिम्मेबारी पनि हेरफेर

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले नयाँ सांगठनिक संरचना लागू गरेको छ । प्राधिकरणले नयाँ संरचनासंगै केहि कर्मचारीहरु पनि थप गरेको छ । नयाँ संरचनाअनुसार प्राधिकरणले यसअघिको महाशाखालाई निर्देशनालय र विभागहरुलाई महाशाखामा रुपान्तरण गरेको छ ।

नयाँ सांगठनिक संरचनामा यसअघिको जस्तै दुईजना वरिष्ठ निर्देशनहरु रहनेछन भने तिनीहरुको मातहतमा ७ जना निर्देशकहरु रहने गरि महाशाखाको व्यवस्था गरिएको छ।

यसअघिको प्रविधि तथा पूर्वाधार विकास महाशाखालाई प्रविधि तथा पूर्वाधार विकास निर्देशनालयमा रुपान्तरण गरिएको छ भने सो निर्देशनालयअन्तरगत नियमन महाशाखा, पूर्वाधार महाशाखा, स्तरिकरण महाशाखा राखिएको छ।

त्यस्तै अर्कोतर्फ प्रशासन तथा अनुमतिपत्र महाशाखालाई निर्देशनालयमा रुपान्तरण गरिएको छ भने सो अन्तरगत प्रशासन महाशाखा, कानुन तथा अनुमतिपत्र महाशाखा, उपभोक्ता हित संरक्षण महाशाखालाई राखिएको छ ।

यसबाहेक अनुगमन महाशाखालाई सिधै अध्यक्षको मातहतमा रहनेगरि तोकिएको छ ।

सातवटै महाशाखालाई निर्देशकहरुले नेतृत्व गर्नेछन र उनीहरुले माथिल्लो वरिष्ठ निर्देशकलाई रिपोर्टिंग गर्नुपर्ने व्यवस्था तोकिएको छ भने अनुगमन महाशाखाका निर्देशकले सिधै अध्यक्षलाई रिपोर्टिंग गर्नुपर्नेछ ।

नयाँ संरचनामा यसअघिको अनुमतिपत्र र उपभोक्ता विभागलाई टुक्र्याएर उपभोक्ता हित संरक्षण महाशाखा गठन गरिएको छ भने अनुमतिपत्रलाई कानुनसँग जोडिएको छ । अर्को ग्रामिण दूरसंचार तथा पूर्वाधार महाशाखालाई पनि टुक्र्याईएको छ । जसअन्तरगत पूर्वाधार महाशाखा छुट्टै कायम गरिएको छ भने स्तरिकरण महाशाखा नयाँ गठन गरिएको छ ।

हाल प्राधिकरणमा दुई वरिष्ठ निर्देशक तथा ५ निर्देशकहरुको व्यवस्था रहँदै आएको छ भने नयाँ संरचनामा थप दुई निर्देशकहरु थपिएका छन् । त्यसैगरि उप निर्देशक तथा सहायक निर्देशकहरुको संख्यापनि थप गरिएको छ ।

नयाँ संरचनामा वरिष्ठ निर्देशक प्राविधिकतफबाट १ जना तथा प्रशासनतर्फबाट १ जना हुनेछ भने निर्देशक तर्फ प्राविधिक ३, प्रशासन ३ तथा विविधमा १ जना रहने व्यवस्था गरिएको छ । उपनिर्देशकहरुमध्ये ८ जना प्राविधिक तथा १० जना प्रशासनतर्फ रहनेछन् । सहायक निर्देशकमध्ये दुबैतर्फ १८/१८ जनाको व्यवस्था गरिएको छ । यसबाहेक सहायक, सवारीचालक र परिचर गरेर कुल प्राविधिकतर्फ ३० तथा प्रशासन तर्फ ७९ जना र विविधमा १ जना गरि ११० जनाको दरबन्दी कायम गरिएको छ ।

प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले अन्य नियमनकारी निकायहरुको जस्तै संस्थाको रुपमा विकास गर्न नयाँ सांगठनिक संरचना कायम गरिएको जानकारी दिए ।

‘दूरसंचार प्राधिकरणको जिम्मेबारी र कार्यबोझ बढिरहेको सन्दर्भमा थोरै कर्मचारीहरुले काम गर्न सक्ने अवस्था नहुँदा सांगठनिक संरचना परिवर्तन गरिएको हो,’ अध्यक्ष खनालले भने ।

उनकाअनुसार नयाँ संरचनाले दूरसंचार प्राधिकरणलाई थप सुदृढ र सुस्त बनाउनेछ साथै नयाँ संरचनाअनुसारको थप जनशक्तिको लागि प्रकृया शुरु गरिसकिएको छ ।

हाल दूरसंचार प्राधिकरणमा वरिष्ठ निर्देशकको पदमा रहेका आनन्दराज खनाललाई मन्त्रालयमा २०७५ पुष १७ गते तानिएको थियो र उनी मन्त्रालयमा नै हाजिर गरिरहेका छन् । त्यस्तै वरिष्ठ निर्देशकको रुपमा तत्काल कार्यरत रहेका पुरुषोत्तम खनाल अध्यक्षमा नियुक्तिभएपछि उनको पद खाली रहँदै आएको छ ।

नयाँ संरचनाअनुसार नियमन महाशाखाको जिम्मेवारी अम्बर स्थापितलाई दिईएको छ भने स्तरिकरण महाशाखाको जिम्मेवारी मिनप्रसाद अर्याललाई दिईएको छ । प्रशासन महाशाखामा दिपेश आचार्यलाई तोकिएको छ भने उपभोक्ता हित संरक्षण महाशाखामा अर्जुन घिमिरेलाई जिम्मेबारी दिईएको छ। सिधै अध्यक्षको मातहतमा रहेको अनुगमन शाखामा भने बिजयकुमार रोयलाई प्रमुख तोकिएको छ ।

बाँकी दुई महाशाखाहरु पूर्वाधार महाशाखा तथा कानुन तथा अनुमतिपत्र महाशाखामा निर्देशकको पद खालिरहेको छ ।

अध्यक्षको मातहतमा भने अन्तर्राष्ट्रिय सम्बन्ध शाखा तथा आन्तरिक लेखा परीक्षण शाखालाई राखिएको छ ।

Organization-Structure-of-NTA

Leave a Reply