Technology Khabar २० भाद्र २०७६, शुक्रबार
काठमाडौं ।
काठमाडौं । भारतीय टेलिकम अपरेटर रिलायन्स जियोले ब्रोडब्याण्ड फाइबर सर्भिस शुरु गरेको छ । कम्पनीले आफ्नो तेस्रो वार्षिकोत्सवको अवसर पारेर नयाँ ब्रोडब्याण्ड फाइबर सर्भिस लन्च गरेको हो ।
जियो फाइबरको शुरुवाती मूल्य मासिक ६९९ भारुदेखि शुरु हुनेछ भने सबैभन्दा महंगो प्लान ८,४९९ भारु रहेको छ ।
कम्पनीले भारतीय बजारमा आक्रामक मूल्य र सेवासहित बजार बिस्तार गर्ने योजना लिएको छ । कम्पनीले आफ्नो ब्रोडब्याण्ड सेवामा न्यूनतम १०० एमबिपिएस र अधिकतम १ जीबिपिएसको स्पीड उपलब्ध गराउने छ ।
कम्पनीले भारु ६९९ को मासिक शुल्कमा १०० जीबीको डाटा लिमिट रहेको छ भने ५० जीबीको बोनस डाटा उपलब्ध हुनेछ । त्यस्तै ८४९ भारुको प्लानमा २०० जीबीको डाटा उपलब्ध हुनेछ भने अर्को १,२९९ भारुको प्लानमा २५० एमबिपिएसको स्पीडमा ५०० जीबी डाटा उपलब्ध हुनेछ भने यसमा २५० जीबी बोनस डाटा उपलब्ध हुनेछ ।
कम्पनीले ल्याएको ५०० एमबिपिएस स्पीड प्लानको मूल्य मासिक २,४९९ भारु छ, जसमा यूजर्सलाई १,२५० जीबी डाटा उपलब्ध हुनेछ भने २५० जीबी डाटा बोनसमा प्राप्त हुनेछ ।
त्यस्तै भारु ३,९९९ को प्लानमा ५०० एमबिपिएसको स्पीडमा २५०० जीबीको डाटा उपलब्ध हुनेछ भने सबैभन्दा महंगो प्लान भारु ८,४९९ मा १ जीबीपिएसको स्पीडमा ५ हजार जीबी डाटा उपलब्ध हुनेछ ।
कम्पनीले सबै प्लानमा न्यूनतम १०० एमबिपिएसको स्पीड दिने भएपनि डाटा लिमिट सकिएपछि भने यूजर्सले केबल १ एमबिपिएसको गतिमा ब्रोडब्याण्ड प्रयोग गर्नुपर्ने हुन्छ ।
भारतका प्रमुख शहरहरुमा शुरु गरिएको रिलायन्स जियो ब्रोडब्याण्ड इन्टरनेटको जडानका लागि ग्राहकले छुट्टै भारु २,५०० खर्च गर्नुपर्ने हुन्छ जसमा १,५०० धरौटी हुनेछ भने बाँकी जडान शुल्कको रुपमा लिईनेछ ।
जियोले आफ्नो ब्रोडब्याण्ड सेवाका ग्राहकहरुलाई भारु ५०० को मासिक शुल्कमा अमेरिका र क्यानाडामा असिमित फोन कलको सुविधा दिनेछ भने सन् २०२० को मध्यसम्म गीगा फाइबरका प्रिमियम ग्राहकहरुलाई हरेक नयाँ सिनेमा रिलिज भएको दिन नै उपलब्ध गराईने छ ।
कम्पनीले जियो फाइबर कनेक्शनका लागि भारतभर १ करोड ५० लाख भन्दा बढि दर्ता आवेदन आएको जानकारी दिएको छ ।
कम्पनीले मासिक अवधि भन्दा लामो अवधि छनौट गर्ने ग्राहकहरुका लागि भने स्पीकर, एचडि टिभी, फोरके टिभीलगायतका प्रडक्ट निशुल्क दिनेछ । एजेन्सी
प्रकाशित: २० भाद्र २०७६, शुक्रबार