Technology Khabar १९ भाद्र २०७६, बिहीबार
काठमाडौं । पछिल्ला दिनरुहमा आइफोनको बिक्री घटिरहेकोमा त्यसलाई रोक्ने योजनासाथ एप्पलले सस्तो आइफोन अर्को वर्ष ल्याउने भएको छ ।
एप्पलले आउँदो वर्ष २०२० मा कम मूल्य भएको बजेट आइफोन इमर्जिंग मार्केटका उपभोक्ताहरुलाई आकर्षित गर्ने र चीनमा गुमाएको बजार फिर्ता लिने योजनासाथ ल्याउने बताईएको छ ।
हालै आएको रिपोर्टअनुसार कम्पनीले आफ्नो सबैभन्दा सस्तो आइफोनको रुपमा सन् २००६ मा आइफोन एसई लन्च गरेको थियो जसको मूल्य ३९९ अमेरिकी डलरबाट शुरु भएको थियो ।
एप्पलले ल्याउने आइफोन एसईको अपडेटेड भर्सनको नाम र मूल्य भने अझै तय नभएको रिपोर्टमा उल्लेख छ । तर संभवत आइफोन एसईको नयाँ पुस्ताको रुपमा आउन सक्नेछ ।
यो निर्णय आइफोनको घटिरहेको बजार बढाउने र सस्तो मूल्यको मोडलहरुले त्यसमा सहयोगी हुने अनुमानले गरिएको हो । एप्पलले सन् २०१८ मा आफ्नो बिक्री निकै घटेको उल्लेख गरेको थियो भने बिक्री हिस्साको आधारमा आफ्नो दोस्रो स्थान ह्वावेलाई सुम्पेको थियो ।
अहिले पनि एप्पलले आइफोन बिक्रीका लागि समस्या भोगिरहेको छ । यदपि विश्वबजारमा स्मार्टफोनको बिक्रीमा पनि कमी आएको छ ।
आइफोनको बजार घट्नुमा मूल्य पनि महत्वपूर्ण भएको छ । गत वर्ष आइफोन एक्सएसम्याक कम्पनीले १ हजार ९९ डलरमा लन्च गरेको थियो । एप्पलका प्रमुख कार्यकारी अधिकृत टिम कुकले पनि इमर्जिंग बजारमा कमजोर बिक्री हुनमा मूल्य महत्वपूर्ण कारक रहेको बताएका थिए ।
सस्तो मूल्यको आइफोनले एप्पलको बिक्रीलाई आगामी सिजनमा बढाउन सहयोगी हुने अनुमान छ । यहि सेप्टेम्बर १० मा लन्च हुने नयाँ फ्ल्यागशिप आइफोनहरुको बिक्री त्यसबेलासम्म कम हुने र त्यसलाई बढाउन सस्तो बजेट मूल्यको आइफोन महत्वपूर्ण हुने विश्लेषकहरुको अनुमान छ ।
नयाँ आइफोन यसअघिको आइफोन ८ को साइजमा आउनसक्ने छ, जसमा ४.७ इन्चको स्क्रीन हुन सक्नेछ । यसमा सस्तो एलसिडी स्क्रीन प्रयोग गरिनेछ । तर यो मोडलमा यो वर्ष आउने फ्ल्यागशिप आइफोनमा भएको जस्तै फीचरहरु हुनेछ । सस्तो आइफोनका लागि प्रयोग हुने डिस्प्ले जापान डिस्प्ले कम्पनीले आपूर्ति गर्नेछ ।
एप्पलले आइफोन ११ को उत्पादनलाई तिब्ररुपमा बढाएको छ भने यसको शुरुवाती उत्पादन गत वर्षको आइफोनको सोहि अवधिको भन्दा करिब १० प्रतिशत कम रहेको बताईएको छ ।
प्रकाशित: १९ भाद्र २०७६, बिहीबार