Technology Khabar १७ भाद्र २०७६, मंगलवार
काठमाडौं ।
काठमाडौं । हालै नेपालमा चिनियाँ ह्याकरहरुले एटिएम सिस्टम ह्याक गरेर बैंकहरुबाट करोडौं रुपैयाँ निकालेको समाचार हामीले पढेकै हौं । विभिन्न बैंकहरुको एटिएमबाट रकम निकालेका ती ह्याकरहरुलाई नेपाल प्रहरीले पक्राउ गरी आवश्यक अनुसन्धान र कारबाहीको प्रकृयामा रहेको छ ।
नेपाली बैंकहरुको एटिएस सिस्टम ह्याक गरेजस्तै घट्ना जर्मनीका बैंकहरुमा पनि भएको छ । अपराधीहरुले जर्मन बैंकबाट ग्राहकहरुको डेबिट कार्ड क्लोनिंग गरेर लाखौं डलर चोरेका छन् ।
सक्कली डेबिट कार्ड जसलाई इभीएम (चीप र पिन) टेक्नोलोजीद्धारा सुरक्षित गरिएको हुन्छ, त्यसको क्लोन गरेर अपराधीहरुले ब्राजिलमा जर्मन बैंकबाट १.६५ मिलियन डलर झिकेका हुन् ।
सो चोरी गत साता मात्र भएको थियो र जसमा जर्मन बैंक ओल्डेनबर्गिचे ल्याण्डेसबैंक (ओएलबी)का ग्राहकहरुको खाताबाट चोरी गरिएको थियो । सो घट्ना विभिन्न साइबर सेक्यूरिटी एक्सपर्टहरुले पत्ता लगाएका थिए जसले चोरीको बारेमा अनुमान गरेका थिए, जसमा सो बैंकबाट जारी भएका मास्टरकार्ड डेबिट कार्डमात्र प्रयोग गरिएका थिए ।
बैंकद्धारा जारी विज्ञप्तिमा सो घट्ना गत अगस्ट २७ तारिखमा भएको थियो जसमा करिब २ हजार ग्राहकहरु प्रभावित भएका थिए । बैंकले ती ग्राहकहरुको खातामा यसअघि नै रकम पुन जम्मा गरिदिएको बताएको छ ।
सो घट्नापछि बैंकले सबै मास्टरकार्ड डेबिट कार्डहरु ब्लक गरेको थियो भने नयाँ कार्ड प्रतिस्थापन गर्ने प्रकृयामा रहेको छ । बैंकले यसमा सेक्यूरिटी ब्रिच नभएको र संगठित साइबर अपराध भएको बताएको छ ।
इभीएममा आधारित कार्डहरु निकै सुरक्षित हुने गरेको र त्यस्तो आक्रमण रोकिने बताईँदै आईएको भएपनि ह्याकरहरुले कसरी सो कार्डलाई क्लोन गरे भन्ने अझै स्पष्ट छैन् । तर यस्तो घट्नाहरु बारम्बार दोहोरिँदै आएको छ ।
विशेषगरि ब्राजिलका स्थानिय साइबर अपराधीहरुसँग इभीएम कार्डहरुको क्लोन गर्ने क्षमता रहेको बताईएको छ । यस्तै रिपोर्ट साइबर सेक्यूरिटी कम्पनी कास्परस्कीले सन् २०१८ मा जारि गरेको थियो ।
मास्टरकार्डले पनि सो घट्नामा छानबिन गर्दै गरेको बताएको छ । कम्पनीले जसमा मास्टरकार्डको नेटवर्क वा इभीएम टेक्नोलोजीमा कुनै कम्प्रोमाइज नभएको स्पष्ट पारेको छ । यसमा बैंक वा मास्टरकार्डको समस्या नभई नक्कली कार्डहरु र टर्मिनलहरुको प्रयोग गरेर गरिने संगठित साइबर अपराध भएको बताएको छ ।
प्रकाशित: १७ भाद्र २०७६, मंगलवार