नेपाली बैंकका सिस्टम चिनियाँ ह्याकरले गरे ह्याक, एटिएमबाटै करोडौं रुपैयाँ निकालियो

Technology Khabar १५ भाद्र २०७६, आईतवार

नेपाली बैंकका सिस्टम चिनियाँ ह्याकरले गरे ह्याक, एटिएमबाटै करोडौं रुपैयाँ निकालियो
Classic Tech

काठमाडौं । बैंकले प्रयोग गर्ने सिस्टम ह्याक गरेर ह्याकरहरुले एटीएम बूथबाट पैसा निकाल्ने चिनियाँ ह्याकरहरुको समुहले नेपालका विभिन्न बैंकबाट शनिवार करोडौं रुपैयाँ ह्याक गरेका छन् ।

प्रहरीले ह्याकर मध्ये केहीलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ । पक्राउ परेका ह्याकरहरु यसअघि पनि अन्य ठाउँमा बैंकिङ लुटपाटमा संलग्न भएको देखिन्छ । तर, उनीहरुले कुन–कुन ठाउँमा कति रकम लुटे भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

शनिबार मध्याह्न १ बजेतिर प्रभु बैंकको बैंकिङ सिस्टम एक्कासी ‘डाउन’ भएको थियो । खासगरी एटिएम सिस्टमबारे ‘अपडेट’ प्राप्त हुन छाडेपछि बैंकको आइटी सेलका कर्मचारीहरुले तत्काल चासो देखाए । ह्याकरले त्यही मौकामा एक मिनेटमा १० लाख रुपैया भन्दा बढी निकाले । १ मिनेटमा १० लाख रुपैयाँभन्दा बढीको ‘ट्रान्जिक्सन’ कारोबार भएको देखिएपछि आइटीका कर्मचारीले शंका ब्यक्त गर्दै चासो देखाए ।

प्रारम्भिक रुपमा प्रभु बैंकको एटिएम कारोबारबारे जानकारी लिन शुरु गरेको प्रहरी समक्ष अन्य बैंकको एटिएम सिस्टम पनि ह्याक भएको सूचना प्राप्त भएको थियो ।

महानगरीय प्रहरी परिसर काठमाडौंले मध्यरातमा दरबारमार्गस्थित नबिल बैंकको एटिएमबाट अनाधिकृतरुपमा पैसा निकाल्दै गर्दा ह्याकरहरुलाई पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले मध्यरातमा नबिल बैंकको एटिएमबाट रकम निकाल्दै गर्दा पक्राउ गरिएको जानकारी दिए ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी सुवेदीले भने, ‘साँझतिर मात्रै हामीहरु ह्याकर नजिक पुग्यौं ।’

‘शुरुमा एटिएमबाट पैसा निकाल्दै गर्दा एक जनालाई पक्राउ गरेका थियौँ, उसको सहायतामा थप चार जना दरबारमार्गमा रहेको माया मनोहर होटलबाट पक्राउ गरेका छौँ,’ उनले भने।

शनिबार साँझ प्रहरीले ५ जना चिनियाँ ह्याकरलाई पक्राउ गरेको जनाएको छ । पक्राउ परेका ५ चिनियाँहरुको साथबाट १ करोड २६ लाख नेपाली रुपैयाँ र करिब १० हजार अमेरिकी डलर बराबर विदेशी मुद्रा बरामद भएको छ । एउटा सफ्टवेयर कम्पनीले बनाएको सिस्टम यहाँका प्राय सबै वाणिज्य बैंकले प्रयोग गर्छन् । अहिले त्यो सिस्टम नै ह्याक गरिएको देखिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

माध्यम १ माध्यम २ माध्यम ३

TK Viber

प्रकाशित: १५ भाद्र २०७६, आईतवार

Loading...