अपटेड समाचार

क्यामस्क्यानरको एन्ड्रोयड एपमा भाइरस भेटियो, तत्काल फोनबाट सो एप हटाउन सुझाव

काठमाडौं । गूगलको प्ले स्टोरमा लोकप्रिय एप्सको सूचीमा रहेको क्यामस्क्यानर (CamScanner) एपमा भाइरस भेटिएको छ ।

यदि तपाईँ पनि एन्ड्रोयड स्मार्टफोन यूजर हो र क्यामस्क्यानर डाउनलोड गर्ने १०० मिलियन यूजरमध्ये एक हो भने सो एप तत्काल अनस्टल गरिहाल्नुस् । हालै कास्परस्की ल्याब्सका अनुसन्धानकर्ताहरुले सो एपमा खतरनाक मालवेयर ट्रोजन पत्ता लगाएका छन् ।

कास्परस्कीकाअनुसार क्यामस्क्यानर डेभलपरहरुले उनीहरुको एपमा मालवेयर भएको नै थाहा नपाएको हुनसक्ने संभावना रहेको छ । कास्परस्कीका रिसर्चरहरुले हालै सो एपको नयाँ भर्सन परीक्षण गर्दा जोखिमपूर्ण मोड्यूल भेटेका छन् ।

उनीहरुले पत्ता लगाएको विषय गूगललाई भने जानकारी गराईसकेका छन् र सो एप हाल गूगल प्लेबाट हटाईसकिएकोछ ।

कास्परस्कीले क्यामस्क्यानरमा रहेको ट्रोजन भाइरस अधिकांश चीनियाँ स्मार्टफोनहरुमा प्रि इन्स्टल हुने गरेको देखिएको र तीनिहरुलाई ट्रोजन ड्रपरको नामले चिनिने गरेको बताएको छ । सो एप्सको रिसोर्स प्रयोग गरेर त्यस्तो मोडूलले अर्को भाइरसयुक्त मोडूल संचालन गर्ने गर्दछ । यस्तो ड्रापर मालवेयरले थप जोखिमयुक्त मोडूलहरु डाउनलोड गर्ने संभावना हुने बताईएको छ ।

सो एप वर्षौैंदेखि सुरक्षित एप भएपनि हालै सो एपको नयाँ भर्सनमा रहेको विज्ञापन देखाउने प्याकेजमा भने भाइरस भेटिएको हो । सो टोजन भाइरसलाई निक्रोन एन नाम दिईएको छ । सो भाइरसले प्रयोगकर्ताको डाटा गोप्यरुपमा लिने गर्ने अनुसन्धानकर्ताहरुले बताएका छन् ।

हालै मात्र गूगल र एन्ड्रोयडसँग सम्बन्धित भएर प्राइभेट डाटा स्क्याण्डल भएको थियो । जसमा १ हजार भन्दा बढि एप्लिकेसनहरुले व्यक्तिगत डाटा लिनका लागि मालवेयर राखेको भेटिएको थियो ।