क्लासिक टेकको ब्याण्डविथमार्फत अवैधरुपमा इन्टरनेट संचालन, दूरसंचार प्राधिकरणले गर्यो सिलबन्दी

Technology Khabar ११ भाद्र २०७६, बुधबार

क्लासिक टेकको ब्याण्डविथमार्फत अवैधरुपमा इन्टरनेट संचालन, दूरसंचार प्राधिकरणले गर्यो सिलबन्दी
Classic Tech
Nepal Telecom

काठमाडौं । क्लासिक टेक प्रालिको इन्टरनेट ब्याण्डविथ प्रयोग गरि अनधिकृतरुपमा अनुमति नै नलिएको कम्पनीले इन्टरनेट सेवा संचालन गरिरहेको भेटिएको छ ।

नेपाल दूरसंचार प्राधिकरणको टोलीले हालै गरेको अनुगमनमा तनहुँ जिल्लाको यूनिक डिजिटल नेटवर्क प्रालिले क्लासिक टेकको ब्याण्डविथमार्फत अनधिकृतरुपमा इन्टरनेट सेवा दिईरहेको भेटिएको हो ।

दूरसंचार प्राधिकरणको टोलीले भदौ ४ गते अनुमगन गरि अवैधरुपमा इन्टरनेट सेवा संचालन गरेको भन्दै सो कम्पनीको कार्यालयमा सिलबन्दी गरेको छ । सो यूनिक डिजिटल प्रालिले हालसम्म नेपाल दूरसंचार प्राधिकरणबाट इन्टरनेट सेवा प्रदायकको अनुमति पत्र नलिएको र तर क्लासिक टेक प्रालिसँग अवैधरुपमा इन्टरनेट ब्याण्डविथ लिई सेवा दिईरहेको भेटिएको हो ।

अनुगमन टोलीले सो कम्पनीले वैशाखदेखि सेवा दिईरहेको भेटेको हो । त्यसैगरि कम्पनीले लाइसेन्स नलिईसेवा संचालन गरिरहेको तथा सिस्टम र राउटरपनि अवैधरुपमा प्रयोग गरिरहेको भेटिएको हो ।

कम्पनीले मासिकरुपमा न्यूनतम पनि १० लाख रुपैयाँ आम्दानी गरिरहेको बताईएको छ ।

प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालले अनुगमनमा गएको टोलीले यूनिक डिजिटल नेटवर्क प्रालिले अवैधरुपमा इन्टरनेट सेवा दिईरहेको भेटिएको जानकारी दिए ।

‘हाम्रो टोलीले यूनिक डिजिटलमा छापा मारेर सिलबन्दी गरेको छ, कम्पनीले क्लासिक टेकबाट अनधिकृतरुपमा ब्याण्डविथ समेत दिएको देखिन्छ,’ प्रवक्ता अर्यालले भने ।

उनले अवैधरुपमा इन्टरनेट सेवा चलाउने कम्पनीलाई कानूनअनुसार ५ लाख रुपैयाँ जरिवाना र प्रयोग भएका सम्पूर्ण उपकरणहरु जफत गरिने बताए । हाल सो विषयमा प्राधिकरण बोर्डमा कारबाहीको लागि प्रस्ताव गएको प्रवक्ता अर्यालले जानकारी दिए ।

अर्कोतर्फ क्लासिक टेकले भने चितवनका कार्यालय ठेगाना भएको चितवन नेटवर्क प्रालिलाई इन्टरनेट ब्याण्डविथ दिएको दाबी गरेको प्राधिकरणका एक उच्च अधिकारीको भनाई छ । तर अनुगमनमा हेर्दा सो ब्याण्डविथ चितवनमा दिएको देखिनुपर्नेमा तनहुँको ब्यास नगरमा दिएको देखिने उनले बताए ।

‘यदि चितवन नेटवर्कलाई ब्याण्डविथ दिएको भए यूनिकले प्रयोग गर्नुपनि अवैध कारोबार हो र यदि क्लासिक टेकले सिधै यूनिकलाई ब्याण्डविथ दिँदा पनि अवैध कारोबार भएको ठहर हुन्छ,’ उनले स्पष्ट पारे।

ती अधिकारीकाअनुसार क्लासिक टेकले यूनिक डिजिटललाई ब्याण्डविथ प्रयोग गर्नको लागि कुनै सम्झौता गरेको तथा चितवन नेटवर्क र तनहुँमा रहेको यूनिक डिजिटलबिच पनि कुनै कारोबार सम्झौता भएको प्रमाण कम्पनीले दिन सकेन् ।

प्राधिकरणकाअनुसार क्लासिक टेक प्रालिको इन्टरनेट ब्याण्डविथ योसहित तेस्रो पटक अवैध इन्टरनेट सेवा दिईरहेको कार्यमा प्रयोग भएको भेटिएको हो ।

तनहुँमा आधार बनाएर अवैधरुपमा कारोबार गरिरहेको यूनिक डिजिटल नेटवर्कले बन्दिपुरसहित लमजुङ्ग जिल्लामा पनि कारोबार गरेको भेटिएको छ । कम्पनीले अप्टिकल फाइबरबाट नै सेवा संचालन गर्दै ८०० भन्दा बढि ग्राहकहरु बनाएको भेटिएको हो ।

त्यस्तै कम्पनीले न्यूनतम ८ एमबिपिएसदेखि अधिकतम ३० एमबिपिएससम्मको इन्टरनेट प्याकेज सेवा डिजिटलतनहुँ डटकम डटएनपी मार्फत प्रचार प्रसार गर्दै सेवा दिईरहेको देखिएको छ ।

सो वेबसाइटअनुसार कम्पनीले तिब्रगतिको इन्टरनेट तथा डिजिटल टिभी सेवा दिईरहेको देखिन्छ । तर सो वेबसाइट भने अर्कै कम्पनी डिजिटल तनहुँ प्रालिको नाममा रहेको वेबसाइटमा नै उल्लेख छ । यूनिक डिजिटल र डिजिटल तनहुँका लगानीकर्ता र संचालक एकै भएको र  दूबै कम्पनीबाट ग्राहकलाई बिल दिईएको देखिएको अनुगमन टोलीका एक सदस्यले जानकारी दिए ।

TK Viber

प्रकाशित: ११ भाद्र २०७६, बुधबार

Comments are closed.

Loading...