अपटेड समाचार

ह्वावेका ट्याबलेटहरुमा रसियाको अपरेटिंग सिस्टम राखिँदै, रसियाको जनगणनाका लागि प्रयोग गरिने

काठमाडौं । चिनियाँ कम्पनी ह्वावेले आफ्ना ट्याबलेटहरुमा रसियन अपरेटिंग सिस्टम(ओएस) औरोरा इन्स्टल गर्ने बारेमा रसियासँग कुराकानी शुरु गरेको छ ।

कम्पनीले रसियाको आगामी वर्ष हुने जनसंख्या गणनाको लागि आफ्ना ३ लाख ६० हजार ट्याबलेटहरुमा रसियन ओएस राख्ने बारेमा कुराकानी शुरु गरेको हो ।

अमेरिकाले विश्वको दोस्रो ठूलो स्मार्टफोन मेकरलाई प्रतिबन्धित सूचीमा समावेश गरेपछि ह्वावेले गूगलको एन्ड्रोयड ओएसको विकल्पको अपरेटिंग सिस्टम खोजिरहेको छ । अमेरिकी प्रतिबन्धले गर्दा कम्पनी अमेरिकी उत्पादनहरु तथा प्रविधिबाट बन्चित हुनुपर्नेछ ।

यो पाइलट प्रोजेक्ट भएको र ह्वावे डिभाइसमा पहिलो पटक रसियन ओएस लन्च गरेर पहिलो चरणमा हेर्न खोजिएको रोयटर्सको रिपोर्टमा स्रोतलाई उल्लेख गर्दै भनिएको छ ।

ह्वावेले रसियन मिनिस्ट्री अफ कम्यूनिकेसन्ससँग कुराकानी गरिरहेको ह्वावेका लागि प्रवक्ताले बताईन् । तर थप जानकारी भने दिईनन् ।
गत साता ह्वावेले अमेरिकी व्यापार प्रतिबन्धले आफ्नो स्मार्टफोन यूनिटको आम्दानीमा यो वर्ष १० बिलियन डलर कमी हुने बताएको थियो ।

रसियाले औरारा ओएस ३ लाख ६० हजार ह्वावे ट्याबलेटहरुमा सन् २०२० अगस्टसम्ममा प्रयोगमा ल्याउन कुराकानी गरिरहेको छ ।
ह्वावेले सो प्रोजेक्टमा रुची राखेको र केहि ओएस प्रयोग भएका ट्याबलेटहरुको स्याम्पल पनि देखाएको बताईएको छ ।

औरारा रसियाको एकमात्र अपरेटिंग सिस्टम हो जुन हाल प्रयोगमा आएको छैन् । औरोराको मालिक कम्पनी रसियाको सरकारी टेलिकम्प्यूनिकेसन्स अपरेटर रोसटेलिकम हो जसले रसियाको जनगणनाको लागि ट्याबलेट खारिद गर्ने सम्झौता प्राप्त गरेको छ ।

त्यस्तै ह्वावेपनि आफ्नै ओएस विकास गर्न निरन्तर लागिरहेको छ ।