अपटेड समाचार
NTA_Nepal Telecommunications Authority_NTA

दूरसंचार प्राधिकरणले पारित गर्यो नयाँ इन्टरकनेक्सन गाइडलाइन, अन्तर्राष्ट्रिय फोन शुल्क घट्ने

अनुज राज ढुङ्गेल । काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले दूरसंचार कम्पनीहरुबिच हुने एकआपसको परस्पर नेटवर्किङ्गको लागि नयाँ निर्देशिका ल्याएको छ । दूरसंचार प्राधिकरणको गएको शुक्रबार बसेको बोर्ड बैठकले इन्टरकनेक्सन गाइडलाइन पारित गरेको हो ।

गत वर्ष नै तयार भएको तर हालसम्म थन्किएर बसेको सो गाइडलाईनले नेपाली टेलिकम अपरेटरहरुले एक आपसमा नेटवर्किंगको लागि पालना गर्नुपर्ने नियमहरुको बारेमा निर्देशन गर्नेछ ।

सो नयाँ निर्देशिका अनुमतिपत्र प्राप्त व्यक्तिले विकास गरेको दूरसंचार प्रणाली परस्पर जोड्ने तथा प्रयोग गर्ने सम्बन्धमा भन्ने विषय उल्लेख भएको दूरसंचार ऐनको दफा ५२ अन्तरगत लागू गरिएको हो । त्यसबाहेक सोहि दफामा उल्लेख भएको अनुमतिपत्र प्राप्त व्यक्तिले दूरसंचार सेवा उपलब्ध गराए बापत लगाउने र असुल गर्न पाउने सेवा शुल्क निर्धारण गर्ने सम्बन्धमा पनि निर्देशन गर्नेछ ।

दूरसंचार ऐनको दफा ३१ मा दूरसंचार प्रणाली परस्परमा जोड्न र प्रयोग गर्न पाउने स्पष्ट व्यवस्था गरेको हुँदा सोहि विषयलाई पनि नयाँ निर्देशिकाले सम्बोधन गर्नेछ । सो दफामा अनुमतिपत्र पाएका दुई प्रणालीहरुबिच परस्पर जोड्न र प्रयोग गर्न सकिने उल्लेख छ ।

दूरसंचार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले यसअघिको इन्टरकनेक्सन गाइडलाइन २००८ लाई प्रतिस्थापन गर्ने गरि नयाँ इन्टरकनेक्सन गाइडलाइन जारी गरिएको टेक्नोलोजीखबरलाई जानकारी दिए ।

‘अन्य देशहरुमा अन्तर्राष्ट्रिय कलको शुल्क घटिरहँदा यहाँ भने बढिरहेको छ, तर नयाँ गाइडलाइनले अन्तर्राष्ट्रिय कल शुल्क ‘फेजवाइट’ घटाउने छ,’ अध्यक्ष खनालले भने ।

अध्यक्ष खनालकाअनुसार नयाँ निर्देशिकाले कल शुल्क घटाउन सहयोग गर्नेछ भने अपरेटरहरुबिच प्रतिस्पर्धात्मक मूल्य तोक्न सहयोग गर्नेछ जसले उपभोक्तालाई फाईदा हुनेछ।

नयाँ निर्देशिकाले हालको शुल्कहरुमा पनि संसोधन गरेको छ भने राष्ट्रिय तथा अन्तराष्ट्रिय कलको निर्धारित शुल्कमा पनि कटौती गरेको छ ।
इन्टरकनेक्सनको लागि आवश्यक पोर्ट चार्जमा एक तिहाईले कटौती गरिएको छ भने सेटअप चार्ज पनि आधा घटाईएको छ । त्यसैगरि प्रति एसएमएस शुल्कमा पनि उच्च कटौती भएको छ ।

यसअघिको निर्देशिकामा स्थानिय शुल्क अन्चल र क्षेत्रको आधारमा फरक तोकिएकोमा नयाँ निर्देशिकामा त्यसलाई एउटै बनाईएको छ । अर्कोतर्फ अन्तराष्ट्रिय आगमन कललाई पनि ५ वर्षमा र ८ वर्षमा चरणबद्धरुपमा न्यून शुल्कमा झार्ने निर्देशिकामा उल्लेख छ ।