Technology Khabar ५ भाद्र २०७६, बिहीबार
काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले कारबाहि गर्ने प्रकृया अगाडि बढाएसँगै मोबाइल सेवा प्रदायक एनसेल प्रालिले आफ्नो डाटाको शुल्क घटाएको छ ।
एनसेल प्रालिले भदौ ४ गतेदेखि लागू हुने गरेर आफ्नो मोबाइल डाटाको शुल्कमा कटौती गर्दै २ रुपैयाँ प्रति एमबी कायम गरेको छ । बिहिबार सार्वजनिक सूचना प्रकाशित गर्दै भदौ ४ गतेदेखि पुरानो महशुल दर २ रुपैयाँ ७५ पैसा प्रति एमबीको शुल्क घटाएर नयाँ दर २ रुपैयाँ प्रति एमबी कर बाहेक लागू गरेको कम्पनीले जानकारी दिएको छ ।
यसअघि दूरसंचार प्राधिकरणले अहिलेको प्रतिस्पर्धात्मक बजारमा एनसेलको डाटाको शुल्क निकै महँगो भएको भन्दै ३ रुपैयाँबाट घटाएर २ रुपैयाँ कायम गर्न र साउन १ गतेदेखि लागू गर्न निर्देशन दिएको थियो । तर एनसेलले सो निर्देशन अटेर गर्दै आफ्नो डाटा शुल्क नघटाउने पत्र पठाएको थियो ।
निर्देशनको जवाफमा एनसेलले सन् २०२० अप्रिल महिनादेखि मात्र डाटाको शुल्क २ रुपैयाँ बनाउन सकिने भन्दै आफूले प्रस्ताव गरेको २ रुपैयाँँ ७५ पैसा प्रति एमबिमा मात्र झार्न सकिने दाबी गरेको थियो ।
कम्पनीले आफ्नो डाटाबाट हुने आम्दानी र नाफामा कमी हुने तर्क गर्दै २ रुपैयाँ ७५ पैसा मात्र लागू गरेको थियो ।
सो निर्देशन लागू भए/नभएको बारेमा एनसेलमा अनुगमनका लागि गएको प्राधिकरणको टोलीलाई समेत कम्पनीले अनुगमनमा अवरोध गरेर असहयोग गरेको थियो । सो अनुगमन टोलीले पनि एनसेलमा २ रुपैयाँ प्रति एमबि शुल्क कायम नगरिएको प्रतिवेदन दिँदै तत्कालिन समयमै कारबाहीको लागि पेश गरेको प्राधिकरणका एक अधिकारीले जानकारी दिएका थिए ।
अनुगमन टोलीलाई असहयोग गरेको बारेमा प्राधिकरणले पुन: एनसेललाई सोधेको स्पष्टिकरणको जवाफमा आफूले असहयोग नगरेको तथा सो दिन र समयमा एनसेलका कर्मचारीहरु उपस्थित नभएको जवाफ दिएको थियो भने आगामी दिनमा त्यस्तो नहुने स्पष्ट पारेको थियो ।
कम्पनीको अनुगमन रिपोर्टको आधारमा दूरसंचार प्राधिकरणले कारबाहि गर्ने प्रकृया अगाडि बढाएपछि एनसेलले बाध्य भएर सो शुल्क घटाएको हो ।
एनसेलले टेरेन् दूरसंचार प्राधिकरणको डाटा शुल्क घटाउन दिएको निर्देशन, होला त कारबाही ?
दूरसंचार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले एनसेललाई डाटाको शुल्क प्रति एमबी २ रुपैयाँ बनाउन निर्देशन दिएको र सो पालना नभएको हुँदा कारबाहिको प्रकृया अगाडि बढाएको जानकारी दिए ।
‘हाम्रो अनुगमन टोलीले दिएको रिपोर्टको आधारमा कारबाहि गर्ने प्रकृयामा थियौं तर शुल्क घटाएको मौखिक जानकारी दिएको छ,’ अध्यक्ष खनालले टेक्नोलोजी खबरसँग भने ।
उनले शुल्क घटाएको हो भने सेवाग्राही सबैलाई थाहा हुनुपर्ने र प्राधिकरणले त्यसलाई नजिकबाट हेरिरहेको बताए ।
एनसेलले दूरसंचार प्राधिकरणको निर्देशनहरु पटक पटक अवज्ञा गर्दै आएको छ । यसअघि पनि नयाँ पल्स दर कायम गर्न दिएको निर्देशन नमान्दा जरिवाना भएको थियो।
यो पनि हेर्नुस्-
दूरसंचार प्राधिकरणको निर्देशन नमान्दा एनसेल कारबाहीमा, ५० हजार रुपैयाँ जरिवाना तिराउने निर्णय
प्रकाशित: ५ भाद्र २०७६, बिहीबार