Technology Khabar ४ भाद्र २०७६, बुधबार
काठमाडौं ।
काठमाडौं । दक्षिण एशियाली मुलुक पाकिस्तानले करिब ८ महिनाभित्र ४ करोड ४० लाख डिभाइसको आईएमईआई दर्ता गरेको छ ।
पाकिस्तानको दूरसंचार क्षेत्रको नियामक निकाय पाकिस्तान टेलिकम्यूनिकेसन अर्थोरिटी (पिटिए) ले गएको जनवरी १५ देखि हालसम्म ४४ मिलियन मोबाइल डिभाइसहरुको आईएमईआई दर्ता सम्पन्न गरेको घोषणा गरेको छ ।
पिटिएकाअनुसार ५ बिलियन पाकिस्तानी रुपैयाँ समेत सरकारी खातामा आईएमईआई दर्ता बापत जम्मा गरेको स्थानिय समाचार पत्र बिजनेस रेकर्डसले उल्लेख गरेको छ ।
मोबाइल डिभाइस दर्ताको अभियान पाकिस्तानको स्थानिय बजारमा हुने मोबाइल चोरी र प्रयोग भएका सेकेण्डह्याण्ड मोबाइलहरुको अवैध आयातका विरुद्ध कदम चाल्नका लागि गरिएको बताईएको छ ।
यसबाहेक पाकिस्तानले डिभाइस आईडेन्टिफिकेसन, रजिस्ट्रेशन एण्ड ब्लकिंग सिस्टम(डिआईआरबिएस) पनि संचालनमा ल्याईसकेको छ ।
पिटिएले हालै ड्यूल सिम लाग्ने मोबाइल डिभाइस प्रयोग गरिरहेका ग्राहकहरुसँग आफ्नो एउटा थप अर्को सिम नियामक निकायमा अगस्त ३१ तारिखभित्र दर्ता गरिसक्न पनि अनुरोध गरेको छ । पाकिस्तानमा ड्यूल सिम प्रयोग हुने मोबाइल डिभाइस प्रयोग हुने तर त्यसका भएको एउटा मात्र आईएमईआई दर्ता गरिने र अर्को दोस्रो आईएमईआई भने दर्ता नगरिने गरेको छ । त्यस्ता डिभाइस यूजरले भने सिम दर्ता गर्नुपर्ने हुन्छ ।
नेपालमा पनि हालै मोबाइल डिभाइसहरुको आईएमईआई दर्ता गर्ने योजनाका साथ मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम ल्याउने तयारी भईरहेको छ । यसको लागि नियामक निकाय नेपाल दूरसंचार प्राधिकरणले हालै सो सिस्टमको टेण्डर अवार्ड गरिसकेको छ भने मलेशियाको कम्पनी नूमेरा(एम) एसडिएन, बर्हाद मलेशिया, ओएसआई कन्सल्टिंग प्रालि ईण्डिया र नमस्ते ग्लोबल कप्यूनिकेसन प्रालि सिंगापुरको ज्वाइन्ट भेन्चर कम्पनीले विभिन्न सरोकारबालाहरुसँग छलफल शुरु गरिसकेको छ ।
प्रकाशित: ४ भाद्र २०७६, बुधबार